भर्खरै :

माडुरोको हत्या दुष्प्रयास किन भयो ?

 प्रकाश
केही हप्ता अगाडि अगस्ट ४, २०१८ को दिन भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको ज्यान लिने उद्देश्यले ड्रोन बम हमलाको दुष्प्रयास भयो । त्यतिबेला राष्ट्रपति माडुरो देशको राष्ट्रिय सेना बोलिभारियाली नेशनल गार्डको ८१ औं स्थापना दिवसको अवसरमा आयोजित सैनिक परेडलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । आतङ्कवादीहरूले विस्फोटक (बम) सहित केही ड्रोन (चालकरहित स–सानो विमान) समारोह स्थलमाथि उडाए, एउटा बम विस्फोट भयो तर अरु ड्रोनहरूलाई भन्ने विस्फोटन हुनुभन्दा पहिल्यै निशानाबाज सैनिकहरूले गोली हानेर खसालिदिए । उक्त आक्रमणमा राष्ट्रपति माडुरोलाई भने कुनै चोट लागेन तर नेशनल गार्डका सात जना सदस्यहरू घाइते भए ।
माडुरोको हत्या दुष्प्रयासको चौतर्फी विरोध र निन्दा भयो । बोलिभिया, क्युवा, चीन, रुस, एल साल्भाडोर, भारत, इरान, निकारागुवा, रसिया, स्पेन, सिरिया, टर्की, उरुग्वे र भियतनामले हत्या प्रयासको तत्कालै निन्दा गरे । क्यारिवियाली टापू देशहरू र क्षेत्रीय संगठनहरू–अल्बा, सेलाक र मर्कोसुरले पनि नेता माडुरोको हत्या प्रयासको विरोध गरे ।
त्यस्तै अर्जेन्टिनाको कम्युनिष्ट पार्टी, कोलम्बियाको फार्क पार्टी, प्यालेष्टाइनको अल फताह, प्यालेस्टाइन मुक्तिको लागि प्रजातान्त्रिक मोर्चा, कोस्टारिकाको पपुलर भेनगार्ड पार्टी, पाराग्वेको गान्सु मोर्चा, पेरुको नयाँ आन्दोलन पार्टी र बृहत् मोर्चालगायत धेरै सङ्घ संगठनहरूले उक्त हत्या दुष्प्रयासको कडा विरोध तथा निन्दा गरे ।
भेनेजुयलाभित्र भेनेजुयाली कम्युनिष्ट पार्टी र होमल्याण्ड फर अल पार्टी तथा कयौं जनतामा आधारित संघसंस्थाहरूले हमलाको कडा निन्दा र विरोध गरे । सत्तारुढ भेनेजुयाली एकीकृत समाजवादी पार्टीको आह्वानमा राजधानी काराकसलगायत देशको विभिन्न सहरमा ठूल्ठूला जनप्रदर्शन भए ।
नेताको हत्याः सत्ता परिवर्तनको वैकल्पिक ज्यावल
उक्त हमलाको दुष्प्रयास कसले गराएको थियो भन्ने प्रश्नमा जानुअघि हत्याको दुष्प्रयास किन गरियो भन्नेतिर विचार गर्नु उचित हुन्छ ।
त्यस त ल्याटिन अमेरिकाका दक्षिणपन्थीहरूद्वारा वामपन्थी नेताहरूको हत्या दुष्प्रयास यो पहिलो घटना होइन । सन् २००२ मा माडुरोभन्दा अगाडिका लोकप्रिय राष्ट्रपति ह्युगो चाभेजको अपहरण र हत्याप्रयास भएको थियो भने सन् २०१० मा मात्र इक्वेडरका वामपन्थी राष्ट्रपति राफायल कोरेयाको र २०१६ मा बोलिभियाली राष्ट्रपति ते मोरालेसको हत्या दुष्प्रयास भएका थिए । फिडेल क्यास्ट्रोलगायत क्युवाली कम्युनिष्ट पार्टीका नेताहरूको हत्या दुष्प्रयास सयौंपटक भएको थियो । ल्याटिन अमेरिकामै ग्वाटेमालाका राष्ट्रपति ज्याकोब अर्वेन्ज, एल साल्भाडोरका राष्ट्रपति आर्कविशप ओस्कार आर्नुल्फो र चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डेको राष्ट्रपति कार्यकालमै हत्या गरिएको थियो ।
ल्याटिन अमेरिकामा त्यसरी हत्या गरिएका राजनीतिक नेताहरू अधिकांशतः साम्राज्यवादविरोधी पृष्ठभूमिका थिए । संरा अमेरिकी पुँजीको नाफाको विरोधमा काम गरेपछि नै तिनीहरूको हत्या र हत्या दुष्प्रयास भएको देखिन्छ । संरा अमेरिकी साम्राज्यवादले ल्याटिन अमेरिकामा आफ्नो हित र नाफाको सुरक्षाको लागि हजारौं–हजार साम्राज्यवादविरोधी लडाकूहरूको हत्या गरिसकेको छ । कुनै नेता वामपन्थी वा कम्युनिष्ट हुनैपर्दैन, तर उनले आत्मनिर्भर बन्ने बाटो रोजेमा वा आफ्ना देशका जनताको हितलाई पहिलो प्राथमिकता दिएमा उनी साम्राज्यवादको निशानामा परिहाल्छन् । साम्राज्यवादीहरू र दक्षिणपन्थीहरूका लागि आफ्नो हितमा थोरै मात्र पनि नोक्सानी पु¥याउने नेता वा व्यक्तिहरूलाई आफ्नो बाटोबाट हटाउनु धेरै ठूलो कुरो नै होइन । आफ्नै हितमा काम गरिरहेका शासकहरूलाई पनि त्यो भन्दा राम्रो विकल्प मिलेपछि सत्ताबाट हटाइदिने वा ज्यानै लिने काम पनि साम्राज्यवादले धेरै देशमा गरेको छ । कतिपय नेताहरूलाई त बम वा गोली प्रयोग नगरी नियोजित विमान दुर्घटना वा सवारी दुर्घटनामा पारेर पनि हत्या गर्ने गरेको पाउँछौं ।
जब साम्राज्यवादी र दक्षिणपन्थीहरूका नियोजित राजनीतिक ‘आन्दोलनहरू’ असफल हुन्छन्, सत्ता परिवर्तनको अर्को विकल्पका रुपमा ‘हत्या’ को षड्यन्त्र रच्छन् । वैधानिक र निर्वाचित सरकारविरुद्ध आन्दोलनका नाममा उपद्रव गराउने त साम्राज्यवाद ीहरूको पुरानै चाल हो । त्यो चाल बाहिरबाट हेर्दा प्रजातान्त्रिक देखिए पनि भित्रबाट भने साम्राज्यवादका विश्वस्तहरूलाई सत्तारोहण गराउने लामो योजना हुन्छ । जब राजनीतिक र सामाजिक परिचालनजस्ता प्रक्रियामा जनताको उल्लेख्य समर्थन मिल्दैन, लोकप्रिय नेताहरूको हत्या सत्ता परिवर्तनको सबैभन्दा सजिलो विकल्पका रुपमा रोजिन्छ ।
बोलिभारियाली क्रान्ति साम्राज्यवादीहरूलाई बिझेको काँडा
भेनेजुयलाको सन्दर्भमा पनि अमेरिकी साम्राज्यवाद र देशभित्रैका दक्षिणपन्थीहरूका लागि बोलियारियाली क्रान्तिकारी प्रक्रिया ठूलो टाउको दुःखाइ बनेको छ । ल्याटिन अमेरिकी स्वाधिनता आन्दोलनका कमाण्डर सिमोन बोलिभारको नामसित जोडेर भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले थालेको बोलिभारियाली क्रान्ति ल्याटिन अमेरिका र विश्वकै लागि नवउदारवादविरोधी सङ्घर्षको एक सफल नमुना बनेको छ ।
बोलिभारियाली क्रान्तिका प्रणेता कमाण्डर ह्युगो चाभेजले भेनेजुयलाको मात्रै होइन, ल्याटिन अमेरिकी र क्यारिवियाली देशहरूको इतिहासलाई नै बदलिदिनुभयो । चाभेज र चाभेजपन्थीहरूले साम्राज्यवाद र शोषक बहुराष्ट्रिय पुँजीलाई देशबाट उखेलेर आफ्नो देशको स्रोत–साधन देशकै विकासमा लगाए । सत्ताको शक्तिलाई देशको वर्तमान र भविष्य बदल्ने ज्यावलका रुपमा उपयोग गरियो । समावेशी, न्यायपूर्ण र समानतामा आधारित समाज निर्माण गर्ने योजनासहितको कार्यक्रम चाभेजको सरकारले लागू ग¥यो । जसलाई स्वीकार गर्न त्यस देशका राजनीतिक विपक्षीहरू बाध्य भए । सिमोन बोलिभारको आदर्शअनुरुप ल्याटिन अमेरिकी देशहरूको भाइचारा, एकता र सबलीकरणमा जोड दिइयो । फलतः हाम्रो अमेरिकाका जनताको लागि बोलिभारियाली विकल्प–अल्बा (ब्ीद्यब्) दक्षिणको साझा बजार – मर्कोसुर क्यारिवियाली र ल्याटिन अमेरिकी देशहरूको समुदाय –सेलाक (ऋभ्ीब्ऋ) जस्ता क्षेत्रीय सङ्गठनहरूको जन्म भयो । यी संगठनहरू साम्राज्यवादी र नवउपनिवेशवादी नीतिविरुद्ध सङ्घर्ष गरिरहेका देशहरूको एकता र समस्या समाधानको साझा दबु बनेको छ ।
चाभेजले थालनी गरेको बोलिभारियाली क्रान्तिकारी प्रक्रियाका कार्यक्रमहरूले केही वर्षभित्रै भेनेजुयलाको शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना, आवास योजना आदि क्षेत्रमा उल्लेख्य प्रगति गरेको थियो । भेनेजुयलाले क्युवाली चिकित्सकहरूको सहकार्यमा गरेको ब्यारियो एडेन्ट्रो स्वास्थ्य योजनाले भेनेजुयलाको दुर्गम कुना–कन्दरासम्म आधुनिक चिकित्सा पद्धतिसहित चिकित्सक पुगेर स्वास्थ्य उपचार पु¥याइएको छ । त्यसबाट २०१७ को मध्य अवधिसम्ममा ७ करोड १० लाख पूर्ण स्वास्थ्य परीक्षण (जटिल रोगका लागि रगत तथा भिसेरा परीक्षणसमेत) निःशुल्करुपमा भएको तथ्याङ्क छ । त्यस्तै ३० लाखभन्दा बढीको सफल शल्यक्रिया उपचार भएको छ । त्यस कार्यक्रमले १ लाख ७९ हजार १९१ जनाको प्रत्यक्ष जीवनरक्षा भएको छ र हालसम्म ८३० जना आदिवासीलाई चिकित्सक बनाइसकिएको छ ।
त्यस्तै क्युवाली अप्टिसियनहरूको सहयोगमा चलेको अपरेशन मिराकलबाट ७० हजार भेनेजुयालीहरूले आफ्नो गुमेको आँखाको ज्योति फिर्ता पाएका छन् ।
भेनेजुयलाको साक्षरता २० वर्षभित्र ५५ प्रतिशतबाट ९० प्रतिशतभन्दा माथि उक्लिसकेको छ । अर्को महत्वपूर्ण उपलब्धि भनेको २० लाखभन्दा बढी आवासविहीन परिवारलाई उनीहरूकै प्रत्यक्ष सहभागितामा आवास निर्माण गरी हस्तान्तरण गरिसकिएको छ ।
देशको रक्षाको लागि नयाँ बोलिभारियाली राष्ट्रिय सशस्त्र बल गठन गरिएको छ । उक्त सशस्त्र बललाई क्रान्तिकारी, साम्राज्यवादविरोधी र धनिकतन्त्रविरोधी जमोरावाद, चाभेजवाद र देशभक्तिपूर्ण शिक्षाबाट शिक्षित पारिएको छ । बोलिभारियाली क्रान्तिको रक्षा र देशमा स्थायित्वका लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो । भेनेजुयलालाई खोक्रो पारेर हुने गरेको खुलमखुला भ्रष्टाचार अहिले लुकेरमात्र गरिने अवस्थामा पु¥याइएको छ । भ्रष्ट र घूसखोर अधिकारीहरू नोकरीबाट निकालिएका र जेलमा थुनिएका छन् ।
हमला किन भयो ?
बोलिभारियाली क्रान्ति उत्कर्षमा नपुग्दै सन् २०१२ मा नेता ह्युगो चाभेज क्यान्सर रोगले थलिनुभयो । उहाँले बोलिभारियाली क्रान्तिको निरन्तरताको लागि निकोलस माडुरोलाई योग्य उत्तराधिकारी देख्नुभयो र आफ्नो निधनको केही हप्ता अगाडि नै माडुरोलाई सत्ता सुम्पिनुभयो । चाभेज र चाभेजपन्थीहरूको विश्वासलाई कायम राख्दै राष्ट्रपति निकोलस माडुरोले अहिले क्रान्तिकारी प्रक्रियालाई अगाडि बढाइरहनुभएको छ । खुशीको क्षणमा जस्तै सङ्कटमा पनि माडुरो सधैं भेनेजुयाली जनताको माझमा र साथमा रहनुभएको छ ।
निकोलस माडुरोले आफूलाई ह्युगो चाभेजका योग्य उत्तराधिकारी र भेनेजुयाली प्रगतिशील र न्यायप्रेमी जनताका नेताका रुपमा स्थापित गर्नुभएको छ । उहाँलाई असफल पार्न साम्राज्यवादी र दक्षिणपन्थी प्रतिक्रियावादीहरूले हरसम्भव प्रयास गरिसकेका छन् । तमिध्ये देशलाई अस्थिर पार्ने हिंसात्मक उपद्रोव र भेनेजुयलाविरुद्धको आर्थिक युद्ध अत्यन्त खतरनाक र पीडादायी छन् । कच्चा पेट्रोलियम तेलको आम्दानीले धानिएको देशलाई अप्ठ्यारोमा पार्न अमेरिकी साम्राज्यवादले अनेक चाल चाली कच्चा तेलको मूल्य घटायो, भेनेजुयलाविरुद्ध अघोषित आर्थिक नाकाबन्दी लगायो । भेनेजुयलाका पुँजीपति र व्यापारीहरूलाई देश छोडेर अर्को देशमा जान लोभ देखाइयो र कतिपयलाई बाध्य पारियो । छिमेकी देशका उद्योगहरूमा भेनेजुयला सरकार र व्यापारीहरूलाई उपभोग्य वस्तु बेच्न रोकेर कृत्रिम अभाव सिर्जना गरियो । तर भेनेजुयाली सरकार र जनताले अभाव सहेर पनि बोलिभारियाली क्रान्ति रक्षा गर्ने प्रण गरेका छन् । आर्थिक युद्ध, नाकाबन्दी, कच्चा तेलको मूल्य गिरावट र अन्तर्राष्ट्रिय प्रतिबन्धबाट सिर्जित प्रतिकूल अवस्थामा पनि मे ३०, २०१८ मा भएको राष्ट्रपतीय निर्वाचनमा जनताले निकोलस माडुरोलाई अर्को पाँच वर्षका लागि राष्ट्रपतिमा अनुमोदन गरेका छन् ।
त्यसो त चुनाव नै गर्न नदिन र सरकारलाई चुनाव अघि नै ढाल्न गत वर्ष दक्षिणपन्थीहरूले सडक आन्दोलनका नाममा उपद्रव नगरेका होइनन् । शान्तिपूर्ण आन्दोलनका नाममा पेस्तोल र बन्दुकलगायत हातहतियार बोकी हिंसा मच्चाउँदा कथित प्रदर्शनकारी, चाभेजपन्थी जनता र प्रहरी गरी २ सत्न्दा बढीको ज्यान गएको थियो । तर त्यो आन्दोलनलाई भेनेजुयाली जनताले समर्थन गरेनन् । साम्राज्यवादको पैसाको जोडले सक्रिय भएका दक्षिणपन्थी समूहहरू बजेट सकिएसँगै लाखापाखा लागे । सडक आन्दोलन, आर्थिक युद्ध, निर्वाचनलगायत उपायले भेनेजुयलामा सत्ता परिवर्तन गर्न नसकेपछि साम्राज्यवादीहरू, क्षेत्रीय दक्षिणपन्थी नेताहरू र भेनेजुयाली अतिदक्षिण पन्थी तत्वको षड्यन्त्रमा लोकप्रिय राष्ट्रपति निकोलस माडुरोको हत्या गर्ने असफल दुष्प्रयास भएको हो । यसमा पनि तिनीहरू असफल भएका छन् ।
सूचना स्रोतः टेलिसुर, ग्रान्मा, भेनेजुयला एनालिसिस, प्रेन्सा ल्याटिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *