भर्खरै :

‘भक्तपुर काण्ड पञ्चायतले रचेको षड्यन्त्र’

भक्तपुर, १२ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (भदौ ९) बारे ख्वप कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डका पृष्ठभूमि र असरबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेमकिपाले पञ्चायतलाई उपयोग गरी देश र जनताको निःस्वार्थपूर्वक गरेको सेवा पञ्चहरूलाई असह्य भयो, तत्कालीन समयमा देशभर कक्षा ५ सम्म निःशुल्क शिक्षा व्यवस्था भएकोमा भक्तपुर नगरपालिकाले कक्षा ७ सम्म निःशुल्क शिक्षा लागू ग¥यो । ‘पञ्चायत’ पत्रिकामार्फत नगरको हरेक आम्दानी खर्च र गतिविधि पारदर्शी ढङ्गले प्रस्तुत गरी देशभरिका स्थानीय निकायलाई पारदर्शी गर्न शिक्षा दियो । यस्ता उदाहरणीय कार्य पञ्चहरूलाई असह्य भई नेमकिपालाई नष्ट गर्ने उद्देश्यले भक्तपुर काण्डको षड्यन्त्र रचिएको हो ।’’
अहम्कारीहरू पतन हुने र विश्वासघातीहरू सधैं घरको न घाटको हुने दृष्टान्त प्रस्तुत गर्दै प्रमुख प्रजापतिले पञ्यचाती व्यवस्थाको दमन र अन्याय अत्याचारसामु पार्टीका कार्यकर्ताहरूले कहिल्यै आत्मसमर्पण गरेनन्, भक्तपुर नगरपालिकाले कलेजहरू सञ्चालन गरेर देशभरिका जनताले कम शुल्कमा उच्च शिक्षा हासिल गर्ने अवसर पाइरहेको बताउनुभयो ।
पुँजीवादी समाजमा जालझेल र षड्यन्त्र भइरहने चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘राजनीति भनेको व्यापार होइन, राजनीति देश र जनताको निःस्वार्थरुपले सेवा गर्ने उच्च लक्ष्य हो ।’’
सत्तामा रहेका राजनीतिक पार्टीहरूले अपराधीहरूलाई राजनीतिक शरण दिंदा, राजनीतिलाई व्यापारीकरण गर्दा देशमा भ्रष्टाचार व्याप्त भई सर्वसाधारण जनताले दुःख भोग्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।
तुलनात्मक रुपमा फरक ढङ्गले काम गरिरहेको कारण आज भक्तपुर नगरपालिकाको विकासको मोडल सबैको लागि उदाहरणीय भइरहेको मेयर प्रजापतिले बताउनुभयो ।
हरेक क्षेत्रमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले उच्च शिक्षाको लागि नगरपालिकाले इतिहास, संस्कृति, भूगोल, स्वास्थ्य, इञ्जिनियरिङलगायत विषयमा छात्रवृत्ति कार्यक्रम लागू गरेको जानकारी दिंदै उहाँले प्रत्येक वर्ष दुई विद्यार्थीलाई एमडी तह अध्ययनको लागि नगरपालिकाबाट छात्रवृत्तिको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।
ख्वप इञ्जिनियरिङ कलेजका प्राध्यापक डा. राजुभाइ त्यातले भक्तपुर काण्ड विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । भक्तपुर काण्डमा ६७ जनालाई ज्यान मुद्दा लगाएको र उक्त ६७ जनामध्ये २७ जना शिक्षक भएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *