भर्खरै :

२०४५ सालको भक्तपुर काण्डको एउटा संस्मरण

यहु प्रकाश
भक्तपुरको सुकुलढोका बस्ने रमेश मुलेपति मेरो अति मिल्ने साथीहरूमध्ये एक थिए । उनकै घरमा भएको एउटा चोटा बैठकमा कर्ण ह्योजूलगायत केही पार्टीका माथिल्लो पद सम्हाल्नेहरूले पार्टी नेतृत्व र पार्टीका नेतालाई विश्वासघात गरेका कुराहरू प्रमाणसहित पेश गरियो र तिनीहरूलाई पार्टीबाट किन र के कसरी कारबाही गर्नु परेको भन्नेबारे प्रस्ट पारियो । बैठक सकिएपछि खिन्न मन लिएर साथीहरू क्रमशः आ–आफ्नो बाटो लागे । कोठामा म र रमेशमात्र थियौं । रमेशले गम्भीर स्वर र मुद्रामा भने– “खै के हो के हो ? ह्योजूलाई चुनावमा जिताउन चुनाव प्रचार–प्रसार गर्न दिनदिनै र २–३ दिन भोकभोकै हिँडे, काँधको छाला नै उप्कने गरी माइकको व्याट्री बोकेँ, चन्दा दिएँ, आलु उसिनेर पनि खाएँ । “के मीठो भोक मीठो” भनेझैं बेस्सरी भोक लागेको बेला कुहेको आलु पनि खाएँ । साथीहरूले गरेको त्यत्रो दुःख–कष्ट र आफ्नो सिद्धान्त, वचनबद्धता सबै बिर्सेर ह्योजू विश्वासघातको बाटोमा लाग्यो । आफूले काम गर्न नसके वा त्यस्तो केही भएमा चुपो लाएर बस्ने नि ! शत्रुको खेमामा गएर आफ्नै मित्रहरूको खेदो खन्ने ? दुःख–कष्ट गरेर पार्टीको जिम्मेवार पदमा बस्न नचाहेर सिद्धान्तच्युत भई पार्टीको काम नगर्ने र त्यस विषयमा साथीहरूबाट आलोचना र स्पष्टीकरण माग्दा शत्रुसँग मिलेर बदला लिन खोज्नेहरू नम्बर १ शत्रुमा पर्छन् । दुःख–कष्ट झेल्न नसकेर अनि घरको दबाबमा परी पार्टी छाड्ने तर पार्टीको विरोधमा कहिल्यै नलाग्ने बरु आफूले सकेअनुसार हल्काफुल्का सहयोग गर्ने मित्रहरू कुनै पनि बेला फेरि सक्रिय हुनसक्छन् । इमानदार हुँदाहुँदै जिम्मेवार साथीहरूबाट नै गलत आरोपमा कारबाहीमा पर्दा वा अन्य कुनै कारणवश पार्टीमा काम गर्न नसक्ने अविश्वासको स्थिति श्रृजना हुँदा बाध्य भएर कुनै गतिविधिमा नलाग्ने मित्रहरू छानबिनपछि पहिलेकै स्थितिमा फर्कन सक्छन् ।” रमेशले आफ्नो भित्रै मनदेखि उर्लेका भाव र विचारहरू सुनाइरहँदा मलाई हिजोसम्म त्यस्तो विधि सिद्धान्तनिष्ठ भई अनि क्रान्तिकारी भावनाले ओतप्रोत भई काम गरिसकेका ह्योजूले गरेका केही गतिविधिहरू चलचित्रका दृश्यहरूजस्तै निकै छिटछिटो मेरो मानसपटलमा देखिन थाले ।
२०३५–२०३६ सालतिरको कुरो हो । भक्तपुर अस्पतालको एउटा कोठामा बिरामी भएको ह्योजूलाई हेर्न गएको थिएँ । त्यस कोठामा टाँसिएका सुन्दर पौभाका चित्रहरू र तीन चार ओटा ‘कर्ण, तिमी निराश नहोऊ ।’, ‘हामी तिम्रो साथमा छौं ।’ ‘कर्ण, तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं ।’ यस्तै यस्तै उत्साह र प्रेरणा मिल्ने वाक्यहरू लेखिएका कागजहरूमा मेरो आँखा प¥यो ।
त्यस्तै २०३८÷२०३९ सालमा तात्कालीन सुधारिएको पञ्चायती व्यवस्थाअन्तर्गतको संसदको चुनावको दिन ह्योजू चुनावी गतिविधिमा निर्देशन दिंदै थियो । त्यसै सिलसिलामा ठिमीमा पञ्चहरूले नेमकिपाका कार्यकर्ताहरूमाथि कुटपिट गर्न खोजेको भन्ने खबर पुग्नासाथै ट्रयाक्टरमाथि ह्योजू चढ्यो र जनसमूहलाई भन्यो, “साथीहरू तिनीहरूसँग मुकाबिला गर्ने म हुँ । मलाई साथ दिनेहरू मसँग आउनू ।” त्यस्तो मान्छे जनता, पार्टी र सिद्धान्तबाट अल्लगिएर जनविरोधी भएपछि कतिको कमजोर र तेजोबोध हुनेरहेछ भन्ने कुरो आफ्नै आँखाले देखें । यतिखेर मलाई कोरियाली र चिनियाँहरूको ‘क्रान्तिकारी सिद्धान्तबाट लैस भएपछि असम्भव भन्ने कुरो हुँदैन’ भन्ने भनाइको याद आउँछ ।
२०४५ भदौ ५ गते बिहान ५ बजेको भूकम्पले रमेशको मृत्यु भएको खबरले म निकै शोकमग्न भएँ । पशुपति आर्यघाटमा दाहसंस्कारको बेला उनको उठिरहेको हातले हामी सबैलाई ‘अन्तिम बिदा’ भनिरहेको जस्तो लाग्यो ।
२०४५ साल भदौ ९ गतेको दिन भूकम्प पीडितहरूको राहत वितरणमा ह्योजूले पक्षपात गरेकोले उसलाई जुत्ताको माला लगाई अनि कालोमोसो दली घुमाउन ल्याइँदै छ भन्ने हल्लिखल्ली सुनें । म त्यसतर्फ गएँ र परैबाट मैले आक्रोशित भीड नारा लगाउँदै अघि बढ्दै गरेको देखें । ह्योजूको सुरक्षार्थ प्रदर्शनकारीहरूले ह्योजूलाई घेरा हालेका थिए ।
यसमा सरकारको ठूलो षड्यन्त्र भएको अनुमान त्यत्तिबेलै गरें । नेमकिपाको एक एक जना नेता र अगुवा कार्यकर्ताको पक्राउ हुन्छ भन्ने मनमा लाग्यो । त्यहीं दिन राति ११ बजे ह्योजू मरेको सनसनीपूर्ण खबर फैलियो । नभन्दै राति नै अध्यक्ष नारायणमान बिजुक्छें, तत्कालीन रापस गोविन्द दुवाल, ज्ञानबहादुर न्याईंच्याईं , भक्तपुर नगरपालिकाका प्रधानपञ्च आशाकाजी बासुकलालगायत थुप्रै नेता र जनप्रतिनिधिहरू (अगुवा कार्यकर्ताहरू) पक्राउमा परेको खबर बिजुलीजस्तै फैलियो ।
मैले छटपटाउँदै रात बिताएँ । मैले घरमा बस्नु खतरा अनुभव गरें । सल्लाह गरेर नै म बिहान सबेरै एकजना आफन्तको घरमा गएँ । ‘रोहितलाई फाँसी दे’ जस्ता उग्र नारा लगाउँदै ह्योजूको शवयात्रा ल्याइएको थियो । त्यसमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, मन्त्रीहरू र उच्च पदाधिकारीहरू सहभागी थिए भन्ने कुरा मैले सुनें । त्यसैगरी, मैले भक्तपुरका नेमकिपाइतर प्रगतिशील र पञ्चायतविरोधी कहलिएका माले र काङ्ग्रेसका थुप्रै कार्यकर्ताहरूले उफ्री उफ्री ‘रोहितलाई फाँसी दे’ नारा घन्काएको कुरो पनि सुनें । नारायणमान दाइको घर अगाडिको सुकुलढोकाको बजारमा आइपुग्दा एक एक फिट माथिसम्म उफ्रेर पञ्चहरूसँगै तिनीहरू ‘रोहितलाई फाँसी दे’ भनी चिच्याएको कुरा पनि मैले सुनें । अझ कतिपयले अनियन्त्रित भीडबाट नारायणमान दाइको घरमा आक्रमण हुनसक्ने अड्कलबाजी पनि गरेका थिए रे ! कुरा सुन्दै गर्दा छाति भटभटी पोल्यो । कसैसँग सम्पर्क राख्ने वा कुनै निर्देशन प्राप्त गर्नु सम्भव नै थिएन ।
तेस्रो दिन बिहान सबेरै म काठमाडौंतिर लागें । केही दिनपछि त्यहाँ योगेन्द्र मानहरूसँग भेट भयो । मलाई योगेन्द्रले मुद्दा मामिलाको साथै वहसको लागि अधिवक्ताहरूसँग छलफल गर्ने र पत्रकारहरूलाई भेट्ने जिम्मा लिएको थाहा भयो । अध्यक्ष नारायणमान दाइले खोर र जेलबाटै अनेकन उपायहरू लगाएर खोरबाट र जेलबाट रिहा भई घर जाने चिनेजानेका व्यक्तिहरू वा आफन्तहरूलाई आप्mना कुराहरू (निर्देशनहरू) मित्रहरूकहाँ पु¥याउन इसारा वा अनुरोध गर्नुहुन्थ्यो भन्ने सुनें । उहाँका निर्देशनहरू प्राप्त गर्न असमर्थ साथीहरूले निर्देशनविना नै पनि निकै इमानदारी र आस्थापूर्वक आ–आफूले आ–आप्mनो ठाउँमा सकेअनुसार काम गरिरहेको थाहा पाएर म भित्रभित्रै खुसी भएँ ।
सङ्कटको बेलामा पनि पार्टी छाडेर जाने र आपूmहरू बच्नलाई प्रतिक्रियावादीहरूका शरणमा गएर नोकर–चाकर भई मित्रहरूको पोल खोल्ने, आपूmलाई थाहा भएका पार्टीका गोप्य कुराहरू बताउने, आपूmमात्र बिग्रेर नपुगी मुद्दामा परेका अरु साथीहरूलाई बचाउन केही नेताहरूको ज्यान गए जाओस् भनेर फाँसीको नारा लगाउने अवसरवादी र विश्वासघातीहरूले भित्रभित्रै सोझा–सिधा र इमानदार कार्यकर्ताहरूलाई पनि बिगार्न षड्यन्त्र गरिरहेका थिए । त्यस्ताहरू पनि चिनिए । सुरु सुरुमा यस्तो हुनसक्छ भनी हामीले सुनेका मात्र थियौं र भक्तपुर काण्ड भएको केही दिनमै हामीले त्यस वास्तविकतालाई आप्mनै आँखाले देख्यौं र अनुभव ग¥यौं । यो महŒवपूर्ण तर ऐतिहासिक पाठ थियो ।
२०४५ भदौ २३ गते लक्ष्मीभक्त कवां, उकेश कवां, श्रीकृष्ण किसीहरू काठमाडौंको एउटा डेरामा एकसाथ पक्राउ परेको खबर सुनें । मलाई दुःख लाग्यो ।
भनपास्थित हनुमानघाटमा २०४५ असोज १ गते शनिबारको दिन बन्दीहरुलाई प्रहरी भ्यानभित्र राखेर एकपक्षीय सरजमीन भएको र त्यसको विरुद्ध पीडित महिलाहरूले जुलुस गरेको कुरा मैले सुनें । मैले ‘आधा आकास ढाकेकी, लोग्नेहरूको सफलतामा धर्मपत्नीहरूको पनि भूमिका हुन्छ, महिला क्रान्तिकारीहरूले क्रान्तिमा प्रत्यक्ष–अप्रत्यक्ष भाग नलिएसम्म क्रान्ति सफल हुन गा¥हो हुन्छ आदि’ कुराहरू सुनेको मात्र थिएँ । त्यो दिन क्रान्तिकारी महिलाहरूले जुलुसको नेतृत्व गरेको थाहा पाएँ । यो पनि एउटा ठूलो व्यावहारिक र ऐतिहासिक पाठ थियो ।
काठमाडौं गएको केही महिनापछि किसान नेता बुद्धिकुमार गोसाईंसँग काठमाडौंको एउटा कोठामा मेरो भेट भयो । मैले उहाँमा अलिकति पनि निराशाको भाव देखिनँ । उहाँले ओभरकोट लाउनुभएको थियो । ओभरकोट उहाँलाई निकै सुहाएको थियो । उहाँले निकै उत्साहपूर्ण कुरा गर्नुभयो । उहाँको कुराबाट मलाई पार्टी, नेता र मित्रहरूलाई जोगाउने गतिविधिमा नथाकिकन लाग्ने प्रेरणा मिल्यो । अरु मित्रहरू पक्राउमा परे पनि पार्टीका अन्य मुख्य मुख्य नेता र कार्यकर्ताहरू प्रहरीहरूको हातमा पर्नुहुँदैन भन्ने अनुभव र नीतिअनुसार बुद्धिकुमार गोसाई भूमिगत बस्नुभएको थियो ।
न्हुछेभक्त फोंजुलाई काठमाडौंमा एउटा घर चिठा परेको थियो । पछि उक्त घर पनि काठमाडौंमा मुद्दा मामला हेर्ने, वकिलहरूसँग सम्पर्क गर्ने, पत्रकारहरूलाई खबर पु¥याउने आदि गतिविधिको केन्द्र भयो । मित्रहरूको उत्साह, अध्ययनशीलता र जस्तै सङ्कटमा पनि ज्यानको बाजी राखेर काम गर्ने जोश देखेर म निकै प्रभावित भएँ । इतर पक्षका सबै पार्टीहरूको तात्कालीन नेमकिसंप्रति सहानुभूति र निरङ्कुश पञ्चायत व्यवस्थाविरुद्ध विभिन्न गतिविधि र जनआन्दोलनको घोषणा, अधिवक्ता, पत्रकार, शिक्षक, प्राध्यापक, अन्य बुद्धिजीवीहरूको साथ र समर्थनले नै मलाई पञ्चायती व्यवस्था धेरै दिन टिक्दैन भन्ने लागेको थियो ।
दुई तीन महिनापछि अधिवक्ता कृष्णप्रसाद भण्डारीको अगुवाइमा काठमाडौंस्थित उहाँकै घरमा भक्तपुर काण्डको सत्यतथ्य र पीडित महिलाहरूको वेदना स्पष्ट पार्न ऐतिहासिक पत्रकार सम्मेलन भयो । म पनि त्यस भेलामा सहभागी थिएँ । नारायणमान बिजुक्छेंकी जहान शोभाप्रधान बिजुक्छेंले आपूm दुई जिउको हुँदाहुँदै पनि जस्तै दुःख पीडालाई लुकाएर अन्य महिलाहरूलाई सम्झाइबुझाइ गर्नुभएको, पत्रकारहरूका प्रश्नहरूको सटिक जवाफ दिनुभएको, निराशा र खिन्न मनको ठाउँमा आशा र चम्किलो अनुहार आदिले गर्दा मेरो मन हलु·ो भयो । उक्त ऐतिहासिक पत्रकार भेलाको विषयमा अघिल्लो पातामै मदनमणि दीक्षितको समीक्षा साप्ताहिकले निकै राम्ररी विश्लेषण गरी समाचार छाप्यो ।
२०४५ पुस ३ गते नारायणमान बिजुक्छें र शोभाप्रधान बिजुक्छेंलाई पुत्रलाभ भएको खुसीको खबर सुनें ।
भक्तपुरमा पछि योगेन्द्रमान बिजुक्छें पक्राउमा परेको र योगेन्द्रमानलाई ओछ्यान पु¥याउन गएका भक्तपुर मुलाछेँ बस्ने कार्यकर्ता इन्द्रमान उलक पनि पक्राउ परेको खबरले म मर्माहत भएँ ।
पार्टीले भविष्यमा केही बन्दोबस्त गरेको होला भन्ने लागेको थियो । ती निम्न छन् ः
१. सङ्कटको अवस्थामा काम गर्नसक्ने सहयोगी दल तयारी गरेको,
२. सङ्कट र सामान्य अवस्थामा फरक–फरक कार्य गर्न निर्देशन भएको,
३. गा¥होसा¥होमा पनि काम गर्नसक्ने गरी तालिम दिइएका अगुवा कार्यकर्ताहरूलाई सङ्कटको बेलामा पनि कार्य गर्नसक्ने गरी प्रशिक्षण गरेको,
४. शत्रु पक्षका गोप्य गतिविधिहरू थाहा पाउन र त्यसअनुसार आप्mनो गतिविधि अघि बढाउन शत्रुभित्र पनि काम गर्ने दक्षता हासिल गरेका कार्यकर्ता भएको र
५. अध्ययनशील, नैतिक रुपले उँचो, त्याग, तपस्या र बलिदान दिन तयार हुने व्यावहारिक तथा सृजनशील अगुवा कार्यकर्ताहरू पनि तयार रहेको अनुमान गरें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *