भर्खरै :

नयाँ पुस्ताका विद्यार्थीको लागि दरिलो खुराक ‘विद्यार्थी बुलेटिन’

सोफी जयसवाल
माक्र्सवादी साहित्यको अध्ययन गरौं नवउदारवादको विरोध गरौं भन्ने मूल नाराका साथ नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १२ औं राष्ट्रिय सम्मेलन २०७५ वैशाख २८–३० काठमाडांैमा सम्पन्न भयो । राष्ट्रिय सम्मेलनले समाजवादी सिद्धान्तअनुसार उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी, उत्पादन श्रमसँग जोडिएको शिक्षालगायतको व्यवस्थाको लागि सङ्घर्ष गर्नु जरुरी भएको हुँदा अझै सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएको छ ।
१२ औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएर नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले मुखपत्र ‘विद्यार्थी बुलेटिन’ प्रकाशनमा ल्याएको छ । ९६ पृष्ठको यो बुलेटिन नेक्राविसङ्घको सङ्गठनात्मक गतिविधि बुझ्न र समाजवादी आन्दोलन किन अगाडि बढाउनुपर्ने कारण बुझ्नको लागि एक सशक्त माध्यम सावित हुने देखिन्छ ।
समसामयिक राजनैतिक अवस्थाको मूल्याङ्कन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सरकारको अवस्था जङ्गलमा हराएको मानिस वा पथभ्रान्त पथिकजस्तै रहेको बताउनुभएको छ । दोस्रो विश्वयुद्धको समयमा चेकोस्लाभाकियाको राजधानीका होटलहरूमा सबै विदेशीहरू भरिएका थिए । होटल मालिकहरू पनि आम्दानी बढ्ने भयो भनी निकै खुसी भएका थिए । पछि ती सबै होटलबाट हतियारधारी सैनिकहरू बाहिर निस्के र राजधानी कब्जा गरेको प्रसङ्गसहित हाम्रो देशमा अहिले सिंहदरबारदेखि बालुवाटारसम्म र राष्ट्रपति भवनसम्म पनि भारतीय शासकहरूको पहुँच बढेको हुँदा कुनै पनि समयमा हामीले सोच्दै नसोचेका घटना घट्न सक्ने भएकोले सचेत हुनुपर्ने उहाँको जोड रहेको छ । ‘विद्यार्थी बुलेटिन’ को लागि नेमकिपा अध्यक्ष रोहितसँग लिइएको अन्तर्वार्ताले बुलेटिनलाई अझै वजनदार बनाएको छ ।
पुँजीवादी क्रान्तिको निम्ति नेपाली काङ्गे्रस स्थापना भएको तर कम्युनिष्ट नामका एमाले र माओवादी केन्द्र संविधानमा समाजवादउन्मुख लेखाएर पनि पुँजीवादकै बाटोमा हिंडेका छन् । एमाले र माओवादी केन्द्रको पार्टी एकताले नेपाली काङ्ग्रेसजस्तै अर्को एउटा पुँजीवादी पार्टी बनेको छ । यिनीहरू वर्गसङ्घर्षलाई त्याग्ने र माक्र्सवादलाई हेरफेर गर्ने संशोधनवादी भएको कुरा पनि बुलेटिनमा स्पष्ट उल्लेख गरिएको छ ।
राजनीति देश र जनताको सेवा गर्नु हो । राजनीति शब्दको गलत व्याख्या गर्न दिनुहुन्न । हामीले यस्ता कुरा जनतालाई बुझाउन नसकेको खण्डमा नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा हुनेछ । त्यसकारण नयाँ पुस्ताका विद्यार्थीहरूमा देश र जनताको इमानदारीतापूर्वक सेवा गर्ने भावना फैलाउन आवश्यक छ । यो नयाँ पुस्तालाई ‘विद्यार्थी बुलेटिन’ ले दिएको सन्देश हो ।
एमालेलगायत पुँजीवादी शासक दलहरूले नेपालका विश्वविद्यालयहरूलाई भागबण्डाको थलो बनाइरहेका छन् । अन्य विद्यार्थी सङ्गठनहरूबाट राजनीतिको जुन ढङ्गबाट गलत व्याख्या गरिएको छ, जसरी गुण्डागर्दी र भ्रष्टाचारलाई राजनीतिको पर्याय बनाइएको छ । कमिसनतन्त्रको रुपमा व्याख्या गरिएको छ । अराजकताको रुपमा व्याख्या गरिएको छ । त्यो एकदम गलत छ । राजनीति देश र जनताको सेवा गर्ने एउटा साधन हो । राजनीति सही र गलत छुट्याउने चेत पनि हो, यस्तो चेत आउला भन्ने डरले तोडफोड, बन्द, हड्तालहरूमा भुलाउन खोजिएको छ । नेक्राविसङ्घ यस्ता गलत क्रियाकलापको विरोध गर्दछ । माध्यमिक तहदेखि नै देशभक्तिको भावना, सार्वभौमिकताको रक्षा र भारतीय थिचोमिचोबारे जानकारी दिनुपर्दछ । कलेज विश्वविद्यालयका विद्यार्थी अग्रमोर्चामा रही सङ्घर्षलाई उचाइमा पु¥याउनु पर्दछ भन्ने भावना जगाउन ‘विद्यार्थी बुलेटिन’ सफल भएको देखिन्छ ।
शिक्षाले हामीलाई साक्षर त बनाएको छ तर योग्य बनाएको छैन । हामीले शिक्षा पाइरहेका छौं तर शिक्षाले हामीलाई जीवन जिउन सिकाइरहेको छैन । हामीलाई हाम्रो शिक्षाले दैनिक जीवनमा आइपर्ने समस्याहरू समाधान गर्न सिकाएको छैन । हामीले जति शिक्षा पायौं, पढ्न र पढाउनमात्र जान्यौं । त्यसलाई हामीले लागू गर्न जानेनौं । समाजको निम्ति उपयोग गर्न जानेनौं । यो हामी विद्यार्थीको दोष होइन । यो शिक्षा व्यवस्थाको दोष हो । किनभने हाम्रो शिक्षा उत्पादन श्रमसँग जोडिएन, हाम्रो शिक्षा वैज्ञानिक भएन । त्यसैले शिक्षा माटो सुहाउँदो हुनुपर्छ । नेक्राविसङ्घले शिक्षालाई उत्पादन श्रमसँग जोडिनु पर्दछ भनेर आवाज उठाइरहेको छ । ‘विद्यार्थी बुलेटिन’ मा सङ्कलित रचनाहरूले शिक्षामा माक्र्सवादी दृष्टिकोण बुझ्न सरल बनाएको छ ।
देशको समृद्धि, विकास, सार्वभौमिकता, नागरिकको जीवनस्तर र चेतनास्तर सम्पूर्ण शिक्षाका कारण प्रभावित हुन्छन् । राज्यले कस्तो प्रकारको नागरिक उत्पादन गर्ने हो, त्यहीअनुसारको शिक्षा नीति लिएको हुन्छ । देशभक्त नागरिकले मात्र देशको सार्वभौमिकता र भू–अखण्डता रक्षा गर्नसक्छ । हाम्रो देशको शिक्षामा देशभक्ति भावना, भूगोल, इतिहासको अध्ययन र अध्यापनको कमी छ । राज्यले आवश्यक क्षेत्रमा जनशक्ति तयार गर्नमा ध्यान दिन आवश्यक कुराहरू पनि बुलेटिनमा समावेश गरिएको छ । निःशुल्क शिक्षा हात्तीको देखाउने दाँतमात्र भएको छ । शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई सिधै अस्वीकार गरेको छ । नेपालमा २०४६ सालपछि त्रिविको थप कुनै आङ्गिक क्याम्पस स्थापना नहुनु, सरकारी विद्यालय स्थापना नहुनु, सरकारी लगानीमा नयाँ मेडिकल, नर्सिङ र इन्जिनियरिङलगायतका कलेजहरू स्थापना नहुनु, विद्यालयमा नयाँ शिक्षक दरबन्दीलाई नियन्त्रण गर्नु, लामो समयसम्म शिक्षा सेवा आयोगको परीक्षा नहुनु, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस खोल्न छुट दिनु, सरकारी लगानीका शिक्षण संस्थाको भौतिक संरचना जीर्ण बन्दै जानुको मुख्य कारण शिक्षा क्षेत्रमा कम लगानी हुनु र सरकार कामदार जनताको शिक्षाप्रति उदासीन बन्दै जानु नै हो । हरेक वस्तुलाई व्यापार र नाफाको रुपमा लिने पुँजीवादी व्यवस्थाले शिक्षालाई पनि व्यापारिक नाफाको रुपमा लिएको छ । हुनेखाने र हुँदा खानेहरूको लागि दुईथरीको शिक्षा व्यवस्था रहेको छ । हुनेखानेहरूले गुणस्तरीय शिक्षा र हुँदा खानेहरूले गुणस्तरहीन शिक्षा किन्नुपर्ने बाध्यात्मक अवस्थामा हामी छौं । जबसम्म हाम्रो देशमा पनि माक्र्सवादी सिद्धान्तअनुसार वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुन सक्दैन, तबसम्म काम गरी खाने जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउने छैनन् । तसर्थ नेक्राविसङ्घ कामदार जनताको शासन व्यवस्था स्थापनाको लागि सङ्घर्ष गरिरहेको छ । नेक्राविसङ्घ निरन्तर सङ्घर्षरत रहने प्रतिबद्धतासमेत बुलेटिनमा भेट्न सकिन्छ ।
बुलेटिनमा अन्तर्वार्ता, ८ वटा मन्तव्य, ३ वटा लेख, सम्मेलनका महत्वपूर्ण दस्तावेज र वक्तव्यहरू समेटिएका छन् । साथै सम्मेलनका केही झलकहरूले बुलेटिनलाई निकै आकर्षक बनाएको छ । बुलेटिन निरन्तर प्रकाशनको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *