भर्खरै :

पुँजीवादी व्यवस्थाकै उपजः महिला हिंसा, बलात्कार र अपहरण

 लक्ष्मी पोखरेल
देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको एक दशक पुग्यो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी व्यवस्था नै हो । यो व्यवस्थामा भ्रष्टाचार, अनियमितता, अपहरण, बलात्कार, हत्या, हिंसा, कमिसन, धूसखोरीलगायत नातावाद, कृपावाद र हरेक वस्तुलाई नाफासँग जोडिएको हुन्छ । यस व्यवस्थामा धनी र गरिबबीचको खाडल निकै फराकिलो रहेको पाइन्छ । हामी त्यही पुँजीवादी व्यवस्थामा आधारित समाजमा बाँचिरहेका छौं ।
हाम्रो समाज कुन दिशातर्फ मोडिदै छ ? पुरुषको केही कलङ्कका कारण सबै पुरुषको बदनाम हुँदै छ । ती पिपासुले किन महसुस गर्दैनन् कि म पनि कुनै महिलाकै गर्भबाट आएको हुँ भन्ने कुरा । अब त यस्तो आभाष हुँदै छ कि एउटा आमाले छोरा जन्माए बलात्कारी र छोरी जन्माए बलात्कृत हुने हो कि भन्ने त्रास रहने भयो ।
हो, आज महिलाहरू असुरक्षित छन् । प्रतिदिन महिला बलात्कार, हत्या र हिंसाका घटना बढिरहेका छन् । देशको केन्द्रीय राजधानी काठमाडौंदेखि गाउँ, सहर, टोल र समुदाय निकट जिल्लाका घरमा कहींकतै महिला सुरक्षित छैनन् । बिहान स्कूल, कलेजको लागि घरबाट निस्केकी छोरी बेलुकी सुरक्षित घर फर्कने हो कि होइन भन्ने त्रास हुन्छ । काकाले भतिजीलाई, बाबुले छोरीलाई, नातिले हजुरआमालाई बलात्कार गरेका घटनाले महिला कोहीसँग सुरक्षित छैनन् भन्ने कुरा छर्ल· हुन्छ । दूधे नाबालिकादेखि वृद्ध महिला पनि सुरक्षित छैनन् । कतिपय बलात्कारको घटनामा रक्षक नै बलात्कारको दोषी भएको समाचार हामी पढ्न र सुन्न पाउँछौं । सार्वजनिक स्थल, वनजङ्गल, होटल, स्कूलमा मात्र होइन सुरक्षा दिने प्रहरीको हिरासतमा समेत महिलाहरू बलात्कृत भएका छन् । त्यतिमात्रै होइन बलात्कारपछि आफ्नो अपराध सार्वजनिक हुने डरले बलात्कृत महिलाको हत्या भइरहेको पाइन्छ ।
बलात्कारको घटना बढिरहे पनि बलात्कारका घटना बढ्नुको कारण खोतल्ने प्रयास सरकारले गरेको छैन । नेपालमा बढ्दो महिला हिंसाका घटना र त्यसका प्रमुख कारणहरू के–के हुन् भनेर गम्भीरतापूर्वक अध्ययनै नगरिकन गरिने लैङ्गिक लडाइँले नेपाली समाजमा महिला हिंसाको अन्त्य हुन्छ भन्नु भ्रममात्र हो । बलात्कार, अपहरण तथा महिला हिंसा बढ्नुको मुख्य कारण समाजमा हुने वर्गभेद र आर्थिक असमानता नै हो । शोषणको अन्त्य नभएसम्म र धनि र गरिबबीचको खाडल फराकिलो रहिरहेसम्म समाजमा विभेद भइरहन्छ । पुँजीवादी व्यवस्थामा थुप्रै खालका विकृति, विसङ्गति बेथिति कायमै रहेका हुन्छन् । देशमा अपराधीहरूको सङ्ख्या बढ्दै छ । महिला बेचबिखन, मानव तस्कर, बेपत्ता पार्ने र बलात्कारका घटनाहरू बढिरहेका छन् । यस्ता आपराधिक घटनामा पेशेवर अपराधीहरू नै क्रियाशील रहेका हुन्छन् । यस समाजमा मानव यति विवेकहीन भएको हुन्छ कि नाफा हुने भए बाबुले छोरी र श्रीमान्ले श्रीमतीसमेत झुण्ड्याउन तयार हुन्छन् । हरेक वस्तुलाई नाफा र फाइदासँग तुलना गरिन्छ ।
महिला हिंसा बढ्नुमा कुरीति, अन्धविश्वास, अशिक्षालगायत बोक्सी, छाउपडी, छुवाछूत, जातीय विभेदजस्ता कारणहरू पनि हुन् । नेपालका अधिकांश विपन्न र गरिब बस्तीका महिलाहरू कामको प्रलोभनमा परेर भारतका विभिन्न सहरहरूमार्फत खाडी मुलुकहरूमा लैजाने गिरोहका कारण पछिल्लो समयमा महिला हिंसाका घटनाहरू बढ्दै गइरहेका छन् । नेपालका विभिन्न खुला नाका भएर भारतका विभिन्न स्थानहरूमा बेचिएकी नारीहरूको हत्या, हिंसा, बलात्कारलगायतका कारण अकालमै मृत्यु भइरहेको भए तापनि महिलाहरूको अवस्था र तथ्याङ्कसमेत यो कथित कम्युनिष्ट नामधारी सरकारले राखेको छैन । आन्तरिक श्रम शोषणमा के कति महिलाहरू छन् ? घरेलु कामदारको रुपमा कति महिलाहरू छन् ? भन्नेसम्म नेपाल सरकारसँग जानकारी छैन । नेपालमा भइरहेका अधिकांश महिला हिंसाका घटनाहरूमा कतिपय कारक तत्वको रुपमा महिला नै रहेको पाइन्छ । महिला हुन् या पुरुष जो जो जसबाट महिला हिंसा भइरहेका छन् र हुने कारण के–के हुन् भनेर सरकारले छानबिन गरी महिला हिंसाका अल्पकालीन र दीर्घकालीन योजना बनाएर उनीहरूको जीउघनको सुरक्षा गर्नुपर्ने हुन्छ । जघन्य महिला हिंसाका अपराधीहरूलाई कडा कारबाहीको माग राख्दै आन्दोलन उर्लेको छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारीपछि हत्या भएको घटनाले झनै भयावह स्थिति सृजना गरेको छ । यसलगत्तै पोखरा लामाचौर –१९ की १३ वर्षीया किशोरी पुष्पा केसी मृत अवस्थामा भेटियो । बलात्कार र बलात्कारपछिका घटनाका समाचारहरू प्रकाशित र प्रसारित हुने काम दैनिकीजस्तै भइरहेको छ ।
महिलालाई विशेष प्रतिरक्षा गर्ने अधिकार कानुनले दिएको छ । जुन कानुनमा बलात्कृत महिलाले बलात्कारीलाई मार्न पाउँछ । नेपालको मुलुकी ऐन जबरजस्ती करणीले कुनै पनि पीडित महिलाले आफू बलात्कृत भएको एक घण्टाभित्र बलात्कारीलाई मारेको खण्डमा ती महिलालाई कानुन लाग्नेछैन । अतः महिलाहरू कानुनबारे जानकारी हुन आवश्यकता भइसकेको छ ।
एउटा महिलाको अस्मिता लुटेर जबरजस्ती बलात्कार गरेर यौन पिपासुले यौन तृष्णा मेटाउन खोज्नु घृणित कार्य हो । समाजले त्यस्ता कार्यलाई जघन्य अपराधको रुपमा लिएको छ । अहिलेसम्मको घटनालाई केलाएर हेर्दा जसले प्रतिकार गर्नसक्दैनन् त्यस्ता व्यक्ति बलात्कृत हुनेको सङ्ख्या बढी छ । जसमा बालिका र वृद्ध पनि रहेका छन् ।
पछिल्लो समय घरभित्र पनि बलात्कारका घटना मौलाएको छ । परिवारले नै घटनालाई ढाकछोप गर्दा बलात्कारका घटना बढिरहेको अनुमान गर्न सकिन्छ । हाम्रो समाजमा समानता कहिले आउने ? आजकल दैनिक रुपमा बलात्कारका घटना भइरहेका छन् । हरेक दिन बिहानै टेलिभिजन तथा एफ.एम. रेडियोले बलात्कारका घटनाका समाचार प्रसारण गर्छन् । बलात्कारका घटना घट्नुको सट्टा एकपछि अर्को बढ्दो छ ।
आखिर किन हुन्छ बलात्कार ? कानुन फितलो भएर ? दोषीलाई उचित कारबाही नभएर ? प्रश्नै प्रश्नको गाँठो कहिले फुक्छ ? जसले गर्दा आज महिला आफ्नै समाजमा सुरक्षित साथ हिँड्न सकिराखेका छैनन् । आधुनिकताले गाँजेर स्वार्थी बन्दै गएको यो समाजमा अपराध दिनदिनै बढेको छ ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको अवस्थामा लास भेटियो । अहिलेसम्म घटनाको दोषी पत्ता लगाइएको छैन । प्रहरीले नै अपराधीलाई जोगाइराखेको विरोधमा कञ्चनपुरमा भइरहेको आन्दोलन सेलाएको छैन । प्रदर्शनकारीले बलात्कारी हत्यारालाई तत्काल छानबिन गरी फाँसी दिन र पीडित परिवारलाई न्याय दिन माग गरिरहेका छन् । घटना घट्ने र सेलाउने सिलसिला नियमित प्रक्रियाजस्तै भइरहेको छ ।
यसरी दिनहुँजसो हुने बलात्कार र हिंसात्मक घटनाबारे ध्यान नजानु सरकारको कमजोरी हो । बलात्कारी, मानव बेचबिखनजस्ता जघन्य महिला हिंसाका अपराधीलाई तत्काल संविधान संशोधन गरी मृत्युदण्डको व्यवस्था गर्नुपर्दछ । यो पोखरा वा कञ्चनपुरका जनताको मात्र होइन देशैभरका जनताको माग हो । जघन्य महिला हिंसाका अपराधीलाई फाँसी दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *