भर्खरै :

के ओलीको फोटो झुण्ड्याएर ‘भव्य स्वागत’ हुन्छ ?

– हर्षबहादुर केसी
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताको लागि बङ्गालको खाडी देशहरूको प्रयास (बिमस्टेक) बिहीबारदेखि काठमाडौंमा प्रारम्भ भयो । बिमस्टेकका सात देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागितामा प्रारम्भ भएको सो शिखर सम्मेलन शुक्रबारसम्म चल्नेछ । सन् १९९७ मा स्थापित सो सम्मलेनमा नेपाल, भुटान, श्रीलङ्का, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड र भारत सदस्य रहेका छन् । यसअघि तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । चौथो शिखर सम्मेलन नेपालमा चालू छ । सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागी भएको सम्मेलन सफल पार्नु आयोजक नेपालको जिम्मेवारी हो । ‘अतिथि देवः भवः’ भन्ने मान्यतालाई आत्मसात गरेर स्वागत सत्कार गर्नु स्वाभाविक हो ।
अतिथि हाम्रा पाहुना हुन् । अतिथिलाई स्वागत सत्कार गर्ने नेपालीहरूको बानी नै हो । तर सरसफाइ गर्ने, बिग्रेको बाटो सुधार्ने काम विदेशी आएपछि मात्र गर्ने या ध्यान दिने पञ्चायती मानसिकता अहिले पनि हटेको छैन । स्वागत र सत्कारको नाउँमा हचुवा ढङ्गले सडक सुधारेर या पीच गरेर, बाटोमा रङ्गरोगन गरेर देशको बजेट बालुवामा पानी खन्याएझैं खन्याउनु ठीक होइन । सतही ढङ्गले देखाउनको लागि हतार हतारमा गरिएको काम एक–दुई महिना पनि टिक्दैन भने के त्यो काम व्यर्थ हुँदैन ?
अतिथिहरूको स्वागतार्थ द्वारहरू बनाउनु, संबद्ध राष्ट्रका झण्डाहरू पोलमा गाड्नु अन्यथा होइन । तर स्वागतको नाउँमा प्रधानमन्त्री केपी ओलीको फोटोसहितका ठूलठूला बोर्डहरू जहाँतहीं झुण्ड्याउनु सही या गलत भन्नेबारे राजनीतिक विश्लेषकहरूबीच चर्चाको विषय बनेको छ । प्रम ओलीको ठूलठूलो फोटो राखेर नेपालको प्रचार गर्न लागेको हो कि व्यक्तिको ? प्रम ओलीको फोटो राखेर सुखी नेपाली समृद्ध नेपालको नारासहितको बोर्ड झुण्ड्याएर के विदेशी पाहुना र नेपाल र नेपालीको गौरव बढ्छ ?
भत्केको, बिग्रेको, लथालिङ्ग अवस्थामा रहेको पोल, फोहर छोप्न ती बोर्डहरू झुण्ड्याइएका हुन् ? देशको भद्रगोल स्थिति लुकाउन या इज्जत जोगाउन बोर्ड बनाउन दिएर देशको बजेट सरकारले दुरुपयोग गर्न लागेको त होइन ? शिखर सम्मेलनका सदस्य राष्ट्र प्रमुखहरूले नेपालका प्रम ओली चिनेका छैनन् भनेर चिनाउन फोटोसहितको बोर्ड झुण्ड्याइएको हो ? के प्रमका ठूलठूला फोटो झुण्ड्याएर देशको इज्जत जोग्छ ? स्वागत भव्य हुन्छ ? आफ्नो दाग देखाउन चेतावनी दिने प्रम ओलीले आफ्नो फोटो छापेर किन देशको बजेट दुरुपयोग गरेका हुन् ? कसलाई चिनाउन ठूलठूला फोटोसहित बोर्डहरू झुण्ड्याउनु प¥यो ? के यो प्रम ओलीको दम्भको सङ्केत होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *