भर्खरै :

ब्राजिलका लुला चुनाव लड्न नपाउने

साओ पाउलो, १६ भदौ । ब्राजिलका पूर्वराष्ट्रपति तथा वामपन्थी नेता लुइस इनासिओ लुला दा. सिल्भालाई निर्वाचन लड्न प्रतिबन्ध लगाइएको छ ।
ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उहाँलाई भ्रष्टाचारको दोषी ठहर गर्दै आगामी राष्ट्रपति निर्वाचन लड्न नपाउने निर्णय सुनाएको अधिकारीले जनाएका छन् ।
आउँदो अक्टोबरमा हुने तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उहाँले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरङ्ग फैलिएको छ ।
लुलाको वर्कर्स पार्टीले यही अगष्ट १५ मा उहाँलाई राष्ट्रपतिको रुपमा उम्मेदवारी दर्ता गराएको थियो ।
उच्च अदालतको निर्णयको विरोधमा वर्कर्स पार्टीका सभापति ग्लेसी होफम्यानले शुक्रबार एक वक्तव्य जारी गरेका छन् ।
वक्तव्यमा उनले लुला निर्दोष भएको प्रमाण र तर्कसहितको दुई सय पृष्ठको फाइललाई उच्च अदालतले बेवास्ता गरेको उल्लेख छ ।
उहाँले लुलालाई चुनावमा जिताउने जनमत व्यापक बन्दै गए पश्चात सत्तासीन दलले यस्तो जालसाझी गरेको बताउनुभयो । हालै ब्राजिलमा भएको विभिन्न मत सर्वेक्षणहरूले लुलाको लोकप्रियता बढ्दै गएको नतिजा सार्वजनिक गरेको छ ।
उहाँकै दलकी नेतृ डिल्मा रुसेफलाई पनि यसअघि महाभियोग लगाई पदबाट पदच्युत गरिएको थियो ।
लुलालाई १२ वर्ष कारागार सजायको फैसला भएको छ ।
अदालतको उक्त निर्णयसँगै ब्राजिलमा ठूलठूल विरोध प्रदर्शन शुरु भइसकेका छन् । त्यस्ता विरोध प्रदर्शनले ब्राजिलको राजनीतिमा ठूलो असर पर्ने पर्यवेक्षकहरूले बताएका छन् ।
ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश ब्राजिलमा उहाँ निकै लोकप्रिय नेता मानिनुहुन्छ ।
सन् १९४५ को अक्टोबर २७ मा लुला ब्राजिलको गरिव किसान परिवारमा जन्मिनुभएको थियो ।
उहाँ १४ वर्षकै उमेरमा मेटल वर्कस युनियनको अध्यक्ष बन्नुभएको थियो भने सन् २००३ मा ब्राजिलको पहिलो वामपन्थी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *