भर्खरै :

काठमाडौं सम्झना

 तीर्थबहादुर श्रेष्ठ
मेरो सम्झनाका अतीतलाई सेतोपाटीमा कोर्ने रहर धुपछाया बनेर कहिले पलाउँदो छ, कहिले ओइलाउँदो ।
भदौ ४ गते मध्याह्न म आफ्नो जन्मस्थल काठमाडौंको महाबौद्ध बहाल पुगेको थिएँ । महाबौद्धको श्री महाकाल माध्यमिक विद्यालयतर्फबाट मेरो सम्मान र अभिनन्दन थियो । कार्यक्रमबीच लगभग तीन घन्टा टोलाएर चारैतिर आँखा घुमाएँ ।
बुद्ध चैत्यका तीनवटा आँखामा आँखा जुध्दासम्म विश्वास लाग्यो, म त्यही स्थलमा छु, जहाँ मेरी आमाले विक्रम संवत् १९९४ असोज २२ गते दुई मुठ्ठा परालमाथि मलाई जन्माएर यस धर्तीसँग स्पर्स गराएकी थिइन् ।
सुडिनी बज्यै ‘अजी’ ले मेरो रुवाइको ध्वनीमा हर्षोल्लास थप्नुभएको थियो । आज त्यसको ८१ वर्षपछि आफू पढेको विद्यालयबाट अभिनन्दन थाप्दै गर्दा मेरो भावुक मन सम्हाल्नै गा¥हो पर्यो ।
महाबौद्ध टोलको त्यस बहाललाई ‘महा बु बहा’ भनिन्छ । तिम्रो घर कहाँ हो भनी कसैले सोध्दा हामी ‘माबुती’ भन्थ्यौं । डिल्लीबजारतिरका साथीहरू हामीलाई ‘महाभूते’ भन्थे । हुँदाहुँदा महाबौद्धले महाभूतको संज्ञा पाइसकेको थियो ।
अपभ्रंसले काठमाडौंका स्थान नाम चौपटै भएको अवस्था थियो र छ पनि । ठाउँअनुसारको नाउँ अथवा नाउँअनुसारको ठाउँ खोज्न निकै कठिन भइसक्यो । नेपाल भाषामा स्थापित नामहरू नेपालीकरण हुँदा विकृति भित्रिएका छन् । त्यसमा पनि अङ्ग्रेजी प्रभावले ठाउँ र नाउँको सम्बन्धमा आकाश र पातालको दूरी छ ।
२००७ सालअघिको अवस्था सम्झँदा मथिङ्गलमा भुइँचालो चल्छ । नेपाल भाषाको रञ्जना लिपि प्रचलनमा थिएन । देवनागरीमा नेवारी शब्द लेख्नुपर्थ्यो । नेवारी अर्थात् नेपाल भाषाका एक अक्षरी शब्दको अनेक अर्थ लाग्छ । यो वास्तविकताले वास्तविकतालाई नै ओझेल पार्ने अवस्था सिर्जना भएको छ । यसले हामी अपभ्रंसै अपभ्रंसका यथार्थमा बाँचेका छौं ।
अब अपभ्रंसबाट वास्तविकतातिर लाग्नु हाम्रो कर्तव्य हो ।
काष्ठमण्डप, काठमाडौं, काठमान्डू, काठमाडौं, क्याथ म्यान डू, क्याट म्यान डू वा कान्तिपुर जे भनिए पनि यो नेपाल खाल्डोको नेवारी नाम ‘यँ दे’ हो भन्ने बुझिन्छ । गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथ जात्रा आदि पर्व बेला जुन जुन ठाउँ घुमिन्छ, त्यही क्षेत्र ‘यँ दे’ भित्र पर्छ ।
सहरी क्षेत्रभित्रका चार प्रवेश द्वारमध्ये एउटा खिचापोखरी र धरहराबीच थियो । त्यो द्वार अर्थात् ढोका कहिले विलय भयो थाहा छैन । मेरो जीवनकालभन्दा धेरै अघिको कुरा होला ।
प्रसङ्ग यही खिचापोखरीबाट सुरु गरौं ।
हामी महाबौद्धवासी खिचापोखरीलाई हेप्थ्यौं । ‘खिचा’ भनेको कुकुर । त्यही भएर कुकुरपोखरीलाई ‘खिचापुखु’ भनेर जिस्क्याउँथ्यौं । अझ केहीले त ‘खि’ भनेको गुहु र ‘चायगु’ भनेको धोइपखाली गर्ने अर्थ पनि लगाइदिन्थे ।
अर्थ जे लगाए पनि त्यहाँ पोखरी कहीं छैन । स्थान नाममा पोखरी भने झुण्डिएकै छ । यस्तो किन ? यो प्रश्न मेरो दिमागमा सधैं घुमिरहन्थ्यो ।
केही वर्षअघि शताब्दी पुरुष सत्यमोहन जोशीसँग यसबारे कुरा उठाएको थिएँ । उहाँका अनुसार बिहानीको भोरमा देवदेवीलाई संगीतमय धूनले जागा गराउनुलाई ‘खेचायके’ भनिँदो रहेछ । त्यही कार्य गर्ने विशेष स्थल भएकोले ‘खेचायके पुखु’ भनिएको रहेछ । त्यसैबाट अपभ्रंस भएर ‘खिचापुखु’ बन्यो । पुखुको नेपाली अनुवाद पोखरी भएकाले ‘खिचापोखरी’ स्थापित हुन पुग्यो ।
हाम्रो टोल–छिमेकमा ‘गुच्चात्व’ अर्थात् गुच्चाटोल पनि छ । सुरु–सुरुमा मलाई केटाकेटीहरूले गुच्चा अत्यधिक खेल्ने टोल होला भन्ने लागेको थियो । विसं २०४४ सालमा कृष्णप्रसाद श्रेष्ठद्वारा लिखित ‘स्थान नाम कोश’ पुस्तक प्रकाशित भयो । त्यसबाट थाहा पाएँ, त्यसको वास्तविक नाम ‘गुँचाः त्वा’ रहेछ । गुँ भन्नाले नौवटा र ‘चाकः’ भन्नाले चक्र वा मण्डल । अर्थात्, नौवटा मण्डल वा चोकको टोल । उक्त पुस्तक हिमाल किताबले २०६७ सालमा पुनः प्रकाशन गरेको छ । मरुटोलको पनि यस्तै कथा छ ।
काष्ठमण्डप क्षेत्रलाई हामी ‘मरुत्वा’ (मरुटोल) भन्थ्यौं । त्यहाँको अशोक विनायक मन्दिरमा गजुर छैन । नेवारीमा ‘छैन’ भन्नलाई ‘मदु’ वा ‘मरु’ भनिन्छ । त्यही भएर गजुर नभएको गणेश मन्दिरलाई ‘मरुगणेश’ भनियो । यही आधारमा त्यहाँको ढुङ्गेधारालाई ‘मरुहिटी’, सतल (काष्ठमण्डप) लाई ‘मरुसतः’ र टोललाई नै ‘मरुटोल’ भनिएको मान्यता छ । कृष्णप्रसादजी भने मण्डपबाट ‘मण्डु’ र अपभ्रंस हुँदै ‘मदु’ र ‘मरु’ भएको बताउनुहुन्छ । यहाँ ‘मरु’ लाई छैन भन्ने अर्थमा लिने कि मण्डपको अर्थमा लिने भन्ने स्पष्ट छैन ।
मेरो सम्झनामा यस उपत्यकाभरीका ढुङ्गेधारामध्ये मरुहिटीमा सबैभन्दा धेरै पानी बग्थ्यो । आजभोलि धारा सुकेको छ । पानी छैन । ‘मरुहिटी’ भन्नाले पानी सुकेको धारा होला भन्ने भ्रम पनि पर्न सक्छ ।
काठमाडौंकै उपल्लो भागलाई ‘थँहिति’ भनिन्छ । थँहिति लोप भएको शताब्दीयौं भइसक्यो होला । स्थान नामका रूपमा ‘थँहिति’ भने कायम छ, ‘ठैँति’ कै रूपमा भए पनि ।
२०६४ सालमा तीर्थनारायण मानन्धरद्वारा लिखित ‘जिगु लुमन्ति इ यें दे म्हिगः व थौं’ नामक पुस्तकमा काठमाडौंका १६ वटा ढुङ्गेधारा ‘ल्वहँ हिटी’ को वर्णन छ । तीमध्ये लुँहिटी (सुनधारा) मा त्यहीबेला पानी सुकेको र अरू सबै हिटीमा पानी बग्थ्यो भन्ने किताबमा उल्लेख छ ।
आज प्रायः ती सबै हिति सुकिसकेका छन् । स्थान नाम भने कायम छन् । क्वहिटी (तल्लो ढुङ्गेधारा), भोटाहिटी, येंगाहिटी, नारायणहिटीलगायत प्रमुख छन् ।
अपभ्रंसको मारमा परेका स्थान नाममध्ये ठमेल, चावेल, पाको, प्याफल, जमल, जनबहाल, टेबहाल, वंग (आजुद्यो), खास्ती, वास्याद्यो (बा·ेमुढा), भ्याचाद्यो (भेडासिङ), किलागल, न्ह्याप स्याद्यो (काने स्थान), जावलाखेल, लगनखेल, मङ्गलबजार, बङ्गलामुखीलगायत पनि छन् ।
पर्यटन दृष्टिले काठमाडौंकै प्रसिद्ध टोल हो, ठमेल । सहरको माथिल्लो क्षेत्रलाई ‘यःने’ भनिन्छ । त्यहाँको विक्रमशिला महाविहारलाई ‘थःबही’ भनिन्छ । बौद्ध विहारका विभिन्न स्वरुपअनुसार बहा, बही र ननी भनेर वर्गीकृत गर्ने पुरानो चलन हो ।
नेवारी संज्ञामा ‘ल’ जोडेर नेपाली बनाउने चलन छ । त्यसैअनुरुप ‘थःबही’ थःबहिल बन्यो । कालान्तरमा ठमेलको रूप लियो । त्यस्तै, अशोकपुत्री चारुमतीको नामले प्रख्यात चारुमती विहार पनि ‘चाबही’ बाट चाबहिल हुँदै चावेलको रूप लिन पुग्यो ।
नयाँसडक (जुद्धसडक), पिपलबोटतिरको टोललाई ‘पाको’ भन्ने चलन छ । यसको मौलिक नाम ‘पाको पुखु ड्याँ’ थियो । ढिस्कोमुनिको पोखरीको डिल भन्ने अर्थमा उक्त नाम चलेको थियो। अचेल पाकोले उक्त नाम विस्थापित गरेको छ । नेपाली शब्दकोश हेर्यौं भने पाकोको अरू नै अर्थ लाग्छ ।
मरुगणेश स्थानको उत्तरतिर ‘प्याफलटोल’ छ । ‘प्या’ भनेको भिजेको र ‘फः’ भनेको कुनै घरमा मन्दिरको डिल हो । प्याफःमा ‘ल’ जोडेर नेपालीकरण गरेपछि विनाकुनै फल ‘प्याफल’ बन्यो ।
यसैगरी, नेवारीमा ‘ख्य’ भन्नाले चउरलाई बुझाउँछ । त्यसमा ‘ल’ जोडेर ‘तिँख्य’ अर्थात् टुँडिखेल बन्यो । हामी सानो हुँदा २००७ सालताका गथाँमुग (गठेंमुगल) पर्व मनाउन टुँडिखेल वरपरका नर्कटघारीबाट ‘तिँ’ अर्थात् नरकट ल्याउने गथ्र्याैं । त्यही भएर नर्कटघारी भएको चउरलाई ‘तिँख्य’ भनेको हो कि थाहा भएन ।
मत्स्येन्द्रनाथको भोटोजात्राका दिन परम्पराअनुसार भात (जा) छर्ने (ह्वला) चउर (ख्यः) लाई ‘जा ह्वला ख्यः’ भनेर निश्चित रूपमा भन्न थालिएको हो । शुभ लगनको चउर ‘लगं ख्यः’ लाई पनि लगनखेल भनिएको पाइन्छ ।
मेरो बाल्यावस्थासम्म हामी इन्द्रचोक जानुलाई ‘आजुद्यः’ अर्थात् पुर्खादेवताको टोल जाने भन्थ्यौं । आकाश भैरवलाई ‘आजुद्यः’ भनिन्थ्यो । त्यस टोललाई ‘वंग’ पनि भनिन्थ्यो । इन्द्रचोक राखीबजार पछाडि कुमारी स्थानमा तीनवटा घडा स्थापित छ । तीनवटालाई ‘स्वंग’ र घडालाई ‘घः’ भनिन्छ । सायद, तीनघडाको टोल ‘स्वं घः’ बाट अपभ्रंस भएर ‘वंग’ पो भयो कि जस्तो लाग्छ ।
आजभोलिको बा·ेमुढालाई हामी ‘वास्या द्यो’ अर्थात् ‘दाँत दुख्दाको देवता’ भन्थ्यौं । त्यहाँको बा·ेमुढामा पैसा चढाएर किला ढोक्थ्यौं । मेरो अन्दाजमा २०२० सालअघि दाँतका सबै उपचार गर्ने पसल त्यहीं थिए । सुनको नक्कली दाँत राख्नुपरे बा·ेमुढा टोलमै आउँथे मान्छेहरू ।
बा·ेमुढाबाट इन्द्रचोकतिर लाग्दा त्यहाँको चौबाटोमा एउटा खाल्डो थियो । त्यसमा पत्थरले बनेको भेडाको खप्परमाथि सिंगलाई सबैले पूजा गर्थे । हामी ‘भ्याय् चा द्यो’ भन्थ्यौं । अरूले भेडासिंग भन्थे । त्यसको नजिकै मन्दिरको डिलमा मधेसी हजामहरू हुन्थे । हामी त्यही भेडासिंग टोलमा कपाल काट्न जान्थ्यौं । अहिले भेडाको सिंग पुरिइसकेको छ । केही निशान बाँकी छैन । भेडासिंग टोलको स्थान नाम भने जीवित छ ।
भेडासिंगबाट पश्चिम लागेपछि किलागल टोल आउँछ । फलामे औजारमा सबैभन्दा सानो किला र ठूलोमा गल हो । तर, यही आधारमा किलागल रहेको होइन । किलागल टोलको मौलिक नाम ‘किसीगल’ हो । ‘किसी’ भनेको हात्ती र ‘गल’ भनेको गोठ भन्ने बुझिन्छ । यसले त्यो टोलमा हात्ती बाँध्ने ठाउँ भएको बुझिन आउँछ ।
त्यहाँ एउटा घरमाथिको बैठकमा हात्तीको मूर्ति स्थापित पनि छ । इन्द्रजात्रा बेला ‘पुलुकिसी’ नाच निकालिन्छ । पुलुको अर्थ मान्द्रो हुन्छ । मान्द्रोको हात्ती बनाई नचाइने ‘पुलुकिसी’ नाचमा टाङटाङ घन्टा बजाइन्छ । त्यसैले, पुलुकिसीलाई ‘टानाकिसी’ पनि भन्ने गरिन्छ ।
आजभोलिको प्रसिद्ध बौद्ध स्थललाई हामी सानो छँदा ‘खास्ती’ भन्थ्यौं । बौद्ध जानुपरे ‘खास्ती’ जाने भनिन्थ्यो । बौद्धको त्यो विशाल स्तुप निर्माण गर्न कुहिरोबाट पानी सङ्कलन गरेर खडेरी सामना गरिएको थियो भन्ने कथन छ । यही आधारमा त्यस स्थललाई खास्ती अर्थात् खसुती (कुहिरोको झोल) भनिएको रहेछ ।
मल्लकालको अन्त्यसम्म कान्तिपुरभित्र ३२ वटा टोल खडा भइसकेको डा. साफल्य अमात्यको पुस्तक ‘काठमाडौं नगरायण’ मा उल्लेख छ । पृथ्वीनारायण शाहका सिपाहींले काठमाडौंको ‘सापारु’ अर्थात् गाईजात्राको लस्करमा गएर ‘यो के पर्व हो’ भनी सोधेछन् । स्थानीयले ‘भाय मसिया’ भनेर जवाफ दिएछन् । यस्तो सुनेर उनीहरूले यो जात्रा नै ‘भाय मसिया’ हो भन्ने अनुमान गरेका थिए ।
‘सा’ भनेको गाई र ‘पारु’ भनेको पूर्णिमाको भोलिपल्ट आउने तिथि ‘परेवा’ को जात्रालाई गाईजात्रा भनिएको हो । स्वर्गीय नयराज पन्तबाट मैले यो सुनेको थिएँ ।
नेपाली भाषामा रुपान्तरण हुनुअघिका यस्ता स्थान नाम केलाएर अनुसन्धान गरी त्यसको गर्भमा रहेका कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञान–विज्ञानको इतिहास उजागर गर्न स्थानीय नयाँ सरकारहरू जुर्मुराउनुपर्छ ।
स्थानहरू कहीं पर्वका नाममा स्थापित छन् । जस्तै– सङ्क्रान्ते, बिहीबारे, मङ्गलबारे, शनिश्चरे आदि । स्थानीय पशुपन्छीका नाममा पनि रहेका छन् । जस्तै– च्याखुरे, डाँफे, मारखोर (भेडा), खोङ्मा (हिमकुखुरा), भैंसालोटन, बाघमारा, गैंडाकोट, गौर (गौरीगाई) आदि ।
रूखबिरुवा, वन–वनस्पतिका नाममा सल्यान (सल्लाको वन), काभ्रे (काभ्रो), पिपले, गोगने, आँपचउर, सिमले, घ्याम्पेसाल, जोरसल्ला, बरबोटे, एक्लेवर, गुराँसे लगायत रहेको पाइन्छ ।
भौगोलिक विषयवस्तुलाई इङ्गित गर्दै ताल, तलैया, दह, नदीनाला, पाखा–पर्वत, लेकबेसी, चउर आदिका नाममा थुप्रै स्थान नाम छन् । स्थानीय सरकारहरूले सरोकार राखेमा स्थान नामले त्यहाँको स्वत्व उजागर गर्छ ।
जुम्लालाई किन जुम्ला भनियो ? कोशीको एकापट्टि किन सुनजस्तो सुनसरी बन्यो ? किन सातवटा शत्रुको जिल्ला सप्तरी बन्यो ? कसरी गौरीगाईको नाममा गौर जिल्ला स्थापित भयो ?
यी सबैको उत्तर खोज्न स्थानीय नामको अध्ययन र अनुसन्धानको ढोका यथाशीघ्र खोल्नुपर्छ । त्यसका लागि अपभ्रंसको जालोबाट मुक्त हुन सबै भाषाभाषीले प्रयास गरून् ।
त्यसो नहुँदा ‘झम्सी’ अथवा ज्यामिर फल्ने ‘ख्यः’ चउर पहिले झम्सीखेल थियो । अहिले आएर ठमेलको प्रतिरूपमा ‘झमेल’ बनेको अवस्था छ । अपभ्रंसै अपभ्रंसको यथार्थमा बाँच्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *