भर्खरै :

किम–मुन शिखर बैठक असोज २ मा

सिओल, २१ भदौ (योन्हाप) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनबीचको शिखर बैठक प्रजग कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मुनका विशेषदूतले बताएका छन् ।
प्रजग कोरियाको भ्रमण गरेका राष्ट्रपति मुनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमति हुनेक्रममा रहेको जानकारी दिनुभयो ।
राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुखसमेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजग कोरिया भ्रमण गर्नुभएको थियो । उहाँका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हून पनि सहभागी हुनुहुन्थ्यो ।
मुन र किमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए ।
चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताउनुभयो । “दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपायको खोजीका विषयमा छलफल हुनेछ । साथै, बैठकमा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणसहित समृद्ध कोरियाली प्रायः द्वीप बनाउने उपायको खोजी गरिनेछ ।”
प्रजग कोरियाली नेताले आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई पुनः दोहो¥याउनुभएको, र त्यसका निम्ति संयुक्तराज्य अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहनुभएको चुङले जानकारी दिनुभयो ।
“अध्यक्ष किम जोङ–उनले कोरियाली द्वीपमा पूर्णआणविक निःशस्त्रीकरण गर्न पुनः प्रतिबद्धता व्यक्त गर्नुभएको छ, र त्यसका निम्ति दक्षिण कोरियामात्र नभई अमेरिकासँग समेत मिलेर काम गर्ने इच्छा जाहेर गर्नुभयो,” दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार जोङले बताउनुभयो ।
दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच आणविक निःशस्त्रीकरणका विषयमा देखिएका कठिनाइलाई फुकाउने पनि उद्देश्य राखेको थियो ।
प्रजग कोरियाबाट आणविक निःशस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धताबमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्वनिर्धारित प्रजग कोरिया भ्रमण केही दिनअघि रद्द गर्नुभएको थियो ।
तर प्रजग कोरियाली नेता किमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति प्रकट गर्नुभयो । नेता किमको भनाइ उद्धृत गर्दै चुङले भन्नुभयो, “प्रजग कोरियाले आणविक निःशस्त्रीकरणका बारेमा गरेका कार्य अर्थपूर्ण र महत्वपूर्ण रहेका छन् ।”
किमले पुन्ग्ये–रीको आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग अरु थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट गर्नुभएको थियो । नेता किमले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले आफ्ना कार्यको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुःख लागेको छ ।”
नेता किमले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गर्नुभयो । “नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन भएको छैन भन्नुभयो,” चुङले भन्नुभयो ।
सन् १९५०–५३ मा भिषण युद्ध लडेका दुई कोरिया प्राविधिकरुपमा अझै पनि युद्धकै स्थितिमा छन् । दुई कोरियाबीच हतियार बिसाउने (युद्धबिराम) सम्झौता भएको छ, तर शान्ति सन्धि भएको छैन ।
मुन र किमले औपचारिकरुपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाउनुभएको छ । यस्तो घोषणाप्रति अमेरिकीको धारणा केही फरक छ किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौं अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *