यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एस. डी. राजचल
कलाकार र हाम्रा प्रधानमन्त्री
पर्दाका कलाकारहरू विभिन्न कार्यक्रममा आफ्नो सीप र क्षमता प्रदर्शन गरी सरकार र सम्बन्धित निकायलाई व्यङ्ग्य गर्छन् । व्यङ्ग्यको माध्यमबाट दर्शक र स्रोतालाई हसाउँछन्, दर्शकले मनोरञ्जन लिन्छन् भने कलाकारहरूले आम्दानी गरेका हुन्छन् । तिनीहरूको आम्दानीको प्रमुख स्रोत भनेकै ती सार्वजनिक कार्यक्रमहरू हुने गर्दछ । तर हाम्रो देशका प्रधानमन्त्री के.पी. ओली विभिन्न कार्यक्रममा गएर त्यसरी नै हँसाउँछन्, जसरी कलाकारहरू दर्शक हँसाउछन् । दर्शकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा यथार्थ कुरा बताएर सचेत गराउनुपर्ने दायित्व बोकेका प्रधानमन्त्री हरेक कार्यक्रममा मनोरञ्जन प्रदान गर्छन् । उनी पर्दाका कलाकार हुन् या देशका प्रधानमन्त्री हुन् भन्ने जिज्ञासा सर्वसाधारण जनतामा पर्नु अस्वाभाविक होइन ।
पदीय हिसाबले के.पी. ओली देशको प्रधानमन्त्री हुन् भने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पनि हुन् । दलको अध्यक्ष र प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको मानिसको अभिव्यक्ति सोहीअनुरुप वजनदार हुने धेरैको अपेक्षा हुने गर्दछ । देशका विभिन्न बेथितिबारे सांसद र जनताले उठाएका जिज्ञासाको विश्वसनीय जवाफ फर्काउनु हरेक प्रधानमन्त्रीहरूको दायित्व हो ।
महँगी आकासिएको छ । जनताको क्रय शक्ति र आम्दानीबीच ठूलो अन्तर देखिंदै छ । सर्वसाधारण जनता दैनिकी कटाउन अत्यन्त मुश्किल अनुभव गर्दैछन् । जनप्रतिनिधि प्रतिनिधिसभामा महँगी बढेकोमा चिन्ता व्यक्त गर्छन् र सरकार प्रमुखलाई महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने सुझाव दिन्छन् । तर प्रधानमन्त्री रोष्ट्रममा उभिएर जवाफ दिन्छ ‘उहिलेको दाममा अहिले घ्यू पनि पाइँदैन !’ ‘मेरो पालामा सुन तोलाको मूल्य जम्मा नौ सय रुपैयाँ थियो’ आदि ।
स्वाभाविकरुपले वस्तुमा मूल्यवृद्धि हुने विषय सबैको जानकारी भएकै कुरा हो । विदेशबाट ल्याइने कैयौं सामग्रीहरूको मूल्य पनि अन्तर्राष्ट्रिय बजारसँग समायोजन गर्ने गरिन्छ । तर नेपालमै उत्पादन हुने वस्तुहरूमा समेत अस्वाभाविकरुपमा गरिने मूल्यवृद्धि के सरकारको आफ्नो नियन्त्रणभन्दा बाहिरको कुरा हो ? विचौलिया र कृत्रिम मूल्यवृद्धिसमेतलाई सरकार बेवास्ता गर्छ र संसदजस्तो मर्यादित थलोमा पनि गैर–जिम्मेवार तरिकाले आफ्नो भनाइ सार्वजनिक गर्दछ भने मुलुकको समस्याको विषयमा सरकार प्रमुख संवेदनशील नभएको प्रमाण होइन कसरी भन्ने ? संवेदनाहीन मानिस वा जनताको समस्यामा बेखबर मानिस जतिसुकै माथिल्लो पदमा पुगे पनि त्यसले जनताको सेवा गर्ने छैनन् र तिनीहरूबाट राम्रो कामको अपेक्षा गर्नु पनि बेकार हो ।
हालै अविरल वर्षाका कारण तराई र काठमाडौं उपत्यकाका केही स्थान जलमग्न भए । वस्तुतः अव्यवस्थित निर्माण र गलत नियत वा प्रवृत्तिका कारण अव्यवस्थित र गैरकानुनी निर्माण भएर बाढी एवम् जलमग्न भएको हो । जनताका प्रतिनिधिले बाढीले ज्यान जोखिममा परेका नागरिकहरूको वेदना संसद भवनमा व्यक्त गर्छन् । पीडित जनताको पीडामा मल्हम लगाउन सरकारलाई आह्वान गर्दछन् । तर सरकार प्रमुख ‘सरकारले बाढी निम्त्याएको होइन’ भनी जवाफ फर्काउँछन् । त्यस्तै बालिका बलात्कार गरेर हत्या गर्नेलाई कारबाही गर भनी संसदहरूले बोल्दा सरकार प्रमुखको जवाफ आउँछ ‘प्रहरीले हामीलाई झुक्याएछ ।’ यसरी देश र जनताको पक्षमा गम्भीर चिन्तन मनन गर्नुपर्ने र सोहीअनुसार समाधानको बाटो पहिल्याउनुपर्ने सार्वभौम संसद आज प्रश्न उत्तरको क्रममा हाँसो गुञ्जिने स्थल बनेको छ । यसले सार्वभौम संसद र उपस्थित सांसदहरूको गरिमामा समेत आँच पुगेको महसुस सर्वत्र गरिंदै छ ।
मनोरञ्जन मानिसको जीवनको एक अभिन्न पाटो हो । मनोरञ्जनको निम्ति छुट्टै ठाउँ र छुट्टै दर्शक एवं स्रोताको आवश्यकता हुन्छ । ठट्टा र हाँसोको लागि पनि उपर्युक्त समय र स्थान हुन्छ, जुनसुकै बेलाको ठट्टा र हाँसोले मानिसको सांस्कृतिक स्तर प्रस्तुत भइरहेको हुन्छ । तर ऐन नियम बनाउने थलो संसद भवनभित्र उत्पन्न हुने अस्वाभाविक ठट्टा र हाँसो पीडित जनताको अपेक्षाविपरीत हो । यसले प्रधानमन्त्रीको व्यक्तित्वमा सकारात्मक प्रभाव नपर्ने धेरैको अभिव्यक्ति रहेको पाइन्छ ।
के छ यसको निम्ति सरकारी तयारी ?
विकास र समृद्धि जनताको चाहना हो । शान्ति सुरक्षा विनाविकास र समृद्धि सम्भव छैन । शान्ति सुरक्षाको लागि कानुनी राज्य अपरिहार्य छ । तर देशमा अशान्ति र असुरक्षाले जरो गाडिरहेको वर्तमान यथार्थ कसैको लागि नौलो हुनसक्दैन । काठमाडौं उपत्यकावासीले दशकौं अगाडिदेखि सडकको दुरवस्था प्रत्यक्ष अनुभव गरिरहेका छन् । जाडोमा धुलाम्ये र गर्मीमा हिलाम्य यहाँको परिचय बनिसकेको छ । सडकको यस्तो दुरवस्थामा पनि यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । जनताले धेरै अगाडिदेखि नै समृद्धि र विकासको लोभलाग्दो र आशालाग्दो नारा पनि सुन्दै आइरहेका छन् । तैपनि स्थितिमा कुनै सुधार आउन सकेको छैन । शासक दलहरूले लोकप्रियताको लागि प्रयोगमा ल्याउने ती नारा पनि हिजोआज सस्तो भइसकेका छन् भने शासक दलप्रति अविश्वास बढेको छ । जनतामा निराशा छाएको छ । शून्य सहनशीलता अपनाएर भ्रष्टाचार निर्मूल गर्ने प्रधानमन्त्री आफैं भ्रष्टाचारीको चङ्गुलमा फस्दै जानु र भ्रष्टाचारीहरू क्रमशः उम्किंदै जानुले प्रधानमन्त्रीको शब्द सस्तो हुन गएको हो । यद्यपि शासक दलका नेताहरूले आश्वासन दिन छाडेका छैनन् । हालै नेकपाका अर्का अध्यक्ष प्रचण्डले एउटा पक्की पुलको उद्घाटन गर्ने क्रममा वर्तमान सरकारले उपत्यकालाई केही दिनभित्र धूलो र हिलोमुक्त गर्ने बताउँदै सुखी नेपाली, समृद्ध नेपालको अभियान काठमाडौंको धूलो र हिलो समाप्त पारेर थालनी गरिने अभिव्यक्ति पनि विश्वास गर्नलायक छैन । काम गर्नु अगाडि बोल्ने र बोलेको कुरा पूरा नगर्ने नेपाली शासक दलको स्वभाव धेरैलाई अवगत भइसकेको छ ।
काठमाडौं उपत्यकामात्र होइन सिङ्गो देशभरिको बाटोघाटो, स्वास्थ्य, रोजगारी, शिक्षा, उद्योग तहसनहस भइरहेको छ । सरकार कुनै स्पष्ट योजना लिएर समस्या समाधानको खाका कोरिरहेको महसुस वा अनुभूति जनताले गर्न पाएका छैनन् । शासकहरूले लोकप्रियताकै लागि आकर्षक नाराहरू प्रयोग गरिरहेका छन्, यथार्थमा कुनै सोच, कुनै योजना र कुनै छलफलबिना जतिसुकै आकर्षक नारा दिए तापनि त्यसले सकारात्मक प्रभाव पार्नेछैन ।
काठमाडौं उपत्यकाका अधिकांश नगरपालिका र गाउँपालिकामा नेकपाकै प्रतिनिधिहरू छन् । वास्तवमा प्रधानमन्त्री ओली र प्रचण्डले समृद्धि चाहेका हुन् त ती आफ्नो मातहतमा परेका नगरपालिका र गाउँपालिकामार्फत विकासका कार्यक्रम अगाडि ल्याउने क्षमता देखाउनुपर्दछ । सय दिनमा सयवटा राम्रा काम गर्ने जस्ता महत्वाकाङ्क्षी योजना र आश्वासन बाँडेर काठमाडौं महानगरपालिकाको प्रमुख पदमा निर्वाचित मेयर विद्यासुन्दर शाक्यले जनआकाङ्क्षा र जनइच्छाको त कुरै छाडौं, आफ्नै लागि पनि सन्तोषजनक रुपमा कार्य गर्न नसकिएको स्पष्टोक्तिले शासक दलका नेता तथा कार्यकर्ताहरूमा कुनै योजना वा लक्ष्य छैन भन्ने कुरा प्रमाणित गर्दछ । यतिमात्र होइन, आफ्नो मान्छेलाई बाटो बनाउन ठेक्का दिने र विभिन्न बहानामा निर्माण अलपत्र छाडी जनतालाई दुःख दिनेहरूसँगै बसेर जनसेवक हुनैसक्दैन । तिनीहरूबाट विकास र समृद्धिको नारा छलछाम, धोकाबाहेक केही हुनैसक्दैन । सार्वजनिक कार्यक्रममार्फत मीठो सपना बाँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने नेता तथा कार्यकर्ताहरू जनताका शत्रु हुन् । जुनसुकै पदमा भए पनि तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।
मान्छे आफ्नो कार्यक्षमता, योग्यता र सीपका कारण माथिल्लो पदमा पुग्ने गर्दछ । कसैले कसैलाई माथिल्लो पदमा पु¥याएको हो भने उसले आफ्नो होइन अरु कसैको सोच र चिन्तनअनुसार काम गर्नुपर्ने हुन्छ । त्यसले समाजमा राम्रो प्रभाव पार्दैन । बरु आफ्नै क्षमताले उच्च पद ग्रहण गरेका व्यक्तिले जनताको आवश्यकता सम्बोधन गर्नुपर्ने दायित्व बहन गर्छन्, आफ्नो प्रस्तुतिमा पनि जनअपेक्षाअनुसार नै परिवर्तन वा परिमार्जन गर्छन् ।
Leave a Reply