भर्खरै :

मोती जयन्तीको अवसरमा वागीश्वरीमा गजल गोष्ठी

भक्तपुर, २४ भदौ वागीश्वरी माविमा आइतबार कुशे औंसीको दिन १५ औं मोती जयन्ती गजल गोष्ठी गरी मनाइएको छ । विद्यालयको नेपाली भाषा विभागको आयोजनामा भएको उक्त गोष्ठीमा शिक्षक तथा विद्यार्थीहरूले गजल वाचन गर्नुका साथै अतिथिहरूबाट गजल गायनसमेत भएको थियो ।
विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले गोष्ठीको सभापतित्व ग्रहण गर्दै मोतीराम भट्टले ३० वर्षको छोटो जीवनकालमै नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै उनकै कारणले भानुभक्त आचार्य आदिकवि भनेर चिनिएको र सुषुप्त अवस्था रहेको गजल विधालाई जिउँदो जाग्दो पारेको प्रस्ट पार्नुभयो ।
गोष्ठीमा शिक्षक रवीन्द्र न्हेम्हाफुकीले स्वागत मन्तव्यका साथ दुइवटा गजल गाएर गोष्ठी आरम्भ गर्नुभयो भने गोष्ठीको सम्पूर्ण संयोजन शिक्षक चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । गोष्ठीमा गजलकार एवं पत्रकार हरिसुन्दर छुकांले मोतीराम गजलकारमात्र नभई नेपालमा प्रेस युग भित्याउने एक सफल साहित्यिक पत्रकार पनि भएको चर्चा गर्दै आफ्ना गजलहरू सुनाउनुभएको थियो ।
सङ्गीतकार एवं गायक कमल रिजालले हार्मोनियममा गजलहरू प्रस्तुत गर्दा वाद्यवादक श्यामसुन्दर कायष्ठले तबलामा साथ दिनुभएको थियो भने विद्यार्थीहरूले गितार र खैजडीमा साथ दिएका थिए ।
गोष्ठीमा पूर्व विद्यार्थी सेरफ मोक्तानसहित विद्यार्थीहरू सत्यमोहन शंकर, जीतबहादुर तामाङ, सागर चौलागाइँ, अमन श्रेष्ठ, सुनिता लवजू, डोल्मा लामा, आर्यन दोङ, नीता दथेपुथे, मित्र तामाङ, रविना लामा, युमिला राईलगायतले आफ्ना गजल एवं मुक्तकहरू प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *