भर्खरै :

शिक्षा दिवस ः शिक्षकको जागिर ‘खाइदिने’

भक्तपुर, २४ भदौ । शनिबार परेको अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको दिनमै नगरपालिकाले ‘शिक्षकको जागिर खाइदिने धम्की’ दिएको खुलासा भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले शनिबार मनाइएको दिवसको अवसरमा आफ्नै कार्यालय परिसरमा गरेको कार्यक्रममा उपस्थित नहुने शिक्षकको जागिर खाइदिने धम्की दिइएको खुलेको हो ।
कार्यक्रममा उपस्थित हुनका लागि विद्यालयका प्रधानाध्यापकमार्फत सम्पूर्ण शिक्षकलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन नगरपालिकाका प्रमुख बासुदेव थापाले वडा अध्यक्षहरूमार्फत सर्कुलर गरेका थिए ।
स्थानीय तहमा आएको माध्यमिक तहको शिक्षाको अधिकारलाई सदुपयोग गर्दै नगरपालिकाले समाजवादउन्मुख ‘समृद्ध राष्ट्र निर्माणका आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ नाराका साथ ¥यालीका साथ मनाइएको ३९ औं राष्ट्रिय शिक्षा तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सफलरुपमा सम्पन्न गर्न शिक्षकलाई युनिफर्ममा आउन निर्देशन दिइएको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने ।
विद्यार्थीहरूको पनि उल्लेख्य सहभागितामा प्लेकार्डसहित उपस्थित गराइएको उक्त कार्यक्रममा सहभागी नभएका शिक्षकको बिदा काटिनेमात्र नभएर कार्यक्रमस्थलमै पनि छड्के हाजिरी गर्ने भनी वडाध्यक्षहरूबाट मौखिकरुपमा जानकारी गराइएको शिक्षकहरूको भनाइ छ ।
शिक्षकहरूका अनुसार शनिबार परेको सो कार्यक्रममा उपस्थिति न्यून हुने चिन्ताले सोअनुसार धम्क्याइएको थियो ।
विद्यालयहरूको शैक्षिक स्थिति सुधार गर्नुको साटो शिक्षकलाई तर्साउने काम हुनु राम्रो नभएको र स्थानीय तहमा आएको शिक्षाको अधिकारको नाममा नगरपालिकाले शिक्षकलाई पेल्ने नीति बनाउनु दुःखद् विषय भएको शिक्षकहरूको टिप्पणी छ ।
शनिबार बिदाको दिन हो, बिदामा परेको कार्यक्रम भएकोले कार्यक्रममा शिक्षक उपस्थित नहुने आशङ्काले नगरपालिका र वडाध्यक्षहरूले धम्की दिइएको आङ्कलन शिक्षकहरूको छ ।
शिक्षा दिवसबारे र शिक्षकलाई दिइएको भनिएको धम्कीको विषयमा बुझ्न मेयरलाई पटकपटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *