भर्खरै :

प्रदेशसभा सांसदलाई ईसीडी शिक्षिकाको ज्ञापनपत्र

भक्तपुर, २५ भदौ । पूर्वप्रावि तहमा कार्यरत शिक्षिकाहरुको समस्यालाई लिएर हालै शिक्षामन्त्रीलाई बुझाएको ज्ञापनपत्रको बोधार्थ एक कार्यक्रमका साथ ३ नं. प्रदेशसभाका सांसदद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजूलाई बुझाइएको छ ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिको अगुवाइमा भएको उक्त कार्यक्रममा ज्ञापनपत्र ग्रहण गर्दै सांसदद्वयले ज्ञापनपत्रको भावना आत्मसात गर्दै समस्या प्रदेशसभामा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
सांसद गोसाईले भन्नुभयो– ‘‘पूर्व प्रावि तहका शिक्षिकालाई मासिक रु. ६ हजारमा काम गराइराख्नु यो कम्युनिष्ट सरकारको नालायकीपन हो । यसमा पूर्णतः सरकार नै जिम्मेवार छ ।’
आफूहरुले प्रदेशसभामा देशभर प्रत्येक वडामा शिशुशाला र बालोद्यान हुनुपर्छ भनी सरकारको ध्यानाकर्षण गर्दै आएको जानकारी दिंदै जनताको समस्या समाजवादी व्यवस्था स्थापना भएपछि मात्र समाधान हुने हुँदा समाजवादी विचारधाराबारे पनि शिक्षिकाहरु चनाखो हुनुपर्ने सुझाव दिनुभयो ।
अर्का प्रदेशसभाका सांसद सृजना सैंजूले आफूहरु संसदवादी धारविरुद्ध क्रान्तिकारी संसदवादमा लागिरहेको चर्चा गर्दै राजनीति सामुहिक स्वार्थका लागि गर्नुपर्नेमा अहिले पुँजीवादी व्यवस्था भएकोले सामूहिकभन्दा व्यक्तिवादी भावना प्रबल भइरहेकोले जनताको समस्या समाधान नभएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सामूहिक भावनालाई ट्रेड युनियनवादी भासबाट जोगाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो भने ईसीडी एकाइ अध्यक्ष सीतालक्ष्मी छुस्याकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *