भर्खरै :

भद्रगोल संरा अमेरिकी राष्ट्रपति कार्यालय र चीन

यु चिनसुई
गएको बुधबार न्युयोर्क टाइम्सको विचार पृष्ठमा प्रकाशित एउटा विचार र रिचार्ड निक्सनलाई शक्तिच्युत गर्न महत्वपूर्ण भूमिका खेल्ने पत्रकार बब उडवार्डको धमाकादार नयाँ पुस्तकले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक दुई गतिलै झापड हानेको छ ।
संरा अमेरिकी राष्ट्रपति कार्यालयका अज्ञात वरिष्ठ अधिकारीको नाममा लेखिएको लेखमा आफू ट्रम्पको आन्तरिक ‘प्रतिरोध’ गर्ने पक्षको हिस्सा भएको बताएका छन् । उनले ट्रम्पको ‘अनैतिकता’ र कमजोर नेतृत्वको खेदो खनेका छन् । ‘फियरः ट्रम्प इन द ह्वाइट हाउस, ड्यु आउट सेप्टेम्बर ११’ नामको पुस्तकमा ट्रम्प सरकारका प्रमुख पात्रहरूसँग सयौं घण्टा लिइएको अन्तर्वार्तामा आधारित भएको बताइएको छ । पुस्तकमा ट्रम्पका कर्मचारीबाट राष्ट्रपतिको कडा विरोध गरिएको चर्चा छ । दुवैले ट्रम्पको नेतृत्वमा ह्वाइट हाउसको अराजक र भद्रगोल अवस्थाको चित्रण गरेका छन् ।
आगामी नोभेम्बरमा आफ्नो रिपब्लिकन पार्टीभित्र मध्यकालीन चुनावमा होमिने तयारीमा रहेका राष्ट्रपतिमाथि दुवै कृतिले कडा झापड हानेका छन् । तर त्यसले राष्ट्रपतिलाई कतिसम्म प्रभाव पार्ला, त्यो कुरा भने यकिनका साथ भन्न सकिन्न । न्युयोर्क टाइम्सको लेख र पुस्तकले ट्रम्प नेतृत्वको ह्वाइट हाउसको भद्रगोल अवस्थाबारे दैनिक अखबारहरूमा आउने गरेका समाचारभन्दा भिन्न कुनै कुरा लेखेका छैनन् ।
सन् २०१७ को जनवरीमा राष्ट्रपति निर्वाचित भए यता ट्रम्पको कार्यशैली र नीतिमाथि अन्त्यहीन आलोचना हुँदै आएको छ । तर त्यस्ता आलोचनाबारे उनले खासै चासो दिने गरेका छैनन् । ह्वाइट हाउस, संरा अमेरिकी नीति र विश्वसँग अमेरिकी सम्बन्धमा ट्रम्प उल्लेखनीय तरिकाबाट पुनःसंरचना गर्न चाहेको घामजत्तिकै प्रस्ट छ । त्यसो गर्दा उनको विरोधमा आउने कुनै पनि आवाजको उनी पर्वाह गर्ने पक्षमा छैनन् । आफूभन्दा अघिका राष्ट्रपतिहरूभन्दा ट्रम्प त्यस मानेमा धेरै भिन्न छन् । उनी आफ्नो लक्ष्यमा सफल होला नहोला, तर उनले ह्वाइट हाउसमा अराजकताको जगजगी फैलाउनु गलत हो । त्यसले संरा अमेरिकाको आन्तरिक अवस्थामा अराजकता निम्त्याउनेछ र देशलाई ओरालो दिशामा धकेल्नेछ ।
हामीले आजभोलि ट्रम्पले विशेषतः आफ्नै मन्त्रिमण्डलभित्र भोगिरहेका घरेलु समस्याबारे सही र सटिक रुपमा बुझ्न जरुरी छ । राष्ट्रपतिले आगामी दिनमा अझै अरु थुप्रै विवादको सामना गर्नुपर्ने कुरा अतिशयोक्तिपूर्ण होइन । विभाजित बनिसकेको संरा अमेरिकी मूलधारको समाजलाई एकढिक्का बनाउन ट्रम्पको लागि सहज छैन । तर उनले सजिलै आफूले तय गरेको नीतिगत लक्ष्य परिवर्तन भने गर्नेछैनन् ।
अहिले चीन र संरा अमेरिका व्यापार युद्धमा छन् । ट्रम्पको नीतिले यो व्यापार युद्ध हुने कुरा हामी आशा गर्न सक्दैनौं । ट्रम्प प्रशासनभित्रको अराजकता र पार्टीगत विभाजनको टीठलाग्दो वास्तविकताबीच चीनसँग सामना गर्ने विषयमा संरा अमेरिकाले केही एकमत बनाएका छन् । संरा अमेरिकामा जोसुकै राष्ट्रपति बनेको अवस्थामा पनि चीनमाथि दबाउने नीति नै अङ्गिकार गर्ने थियो । चीन यसको लािग तयारी हुनुपर्दछ ।
–ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *