भर्खरै :

यसरी ठगिइन् एक जना महिला

परिवारको आर्थिक अवस्था कमजोर भएको कारण ३–४ वर्ष कुवेत बसेर आफ्नो श्रम बेच्न बाध्य एक पीडित महिला हुन् रत्ननगर नपा ९ निवासी तुल्सी महतो। ३८ वर्षको वसन्तमा पाइला टेकेकी उनी २०७५ फागुनमा नेपाल फर्किन् । त्यसपछि परिवारसँग सरसल्लाह गरेर नेपालमै व्यवसाय गर्न उनी होटल वा लज सञ्चालन गर्ने भनेर विभिन्न ठाउँमा नपुगेकी होइनन् । एक दिन मोबाइलमा अपरिचित नम्बरको घण्टी बज्छ । एक चिनेकै व्यक्तिले नम्बर दिएको भनेर कुरा अघि बढ्छ । सुवास थापा भनिने व्यक्तिले उनीसँग भलाकुसारी अगाडि बढाउँछ र एकदिन भेटघाट हुन्छ । विदेशमा गएर दुःख पाएकी उनले नेपालमै व्यवसाय गर्न सहयोग गर्ने विश्वास बाक्लो हुँदै जान्छ । भेटघाटको एक दुई महिना भएपछि एक दिन मोबाइलमा कुरिनटार वरिपरि एउटा होटल भेटिएको छ, कुरा मिलाइसकेकोले बैना रु. ५–६ लाख लिएर आउनू भनेपछि तुल्सी महतो एक्लै गइन् । भदौ १० गते २ लाख ७० हजार नगदसहित उनी केबलकार चोकतिर पुगिन् । त्यहीे पैसा सुवास थापा भनिने व्यक्तिले उनलाई लठ्ठ पारेर लुटेर लगेपछि तुल्सी महतो छाँगाबाट खसेझैं हुन्छिन् । यो घटना इच्छाकामना गापा–४, केबलकारस्थित राना रेष्टुरेण्ट एण्ड गेष्ट हाउसमा घटेको हो ।
होटल किन्न भनेर लगेको पैसा सुवास थापा भनिने व्यक्तिले लुटेर लगेपछि उनले रत्ननगरको घरपरिवारमा रोई कराई खबर गरिन् । घर परिवारसँगको सल्लाहअनुसार भदौ ११ गते जिल्ला प्रहरी कार्यालय, भरतपुरमा सुवास थापा पक्राउ गरी लुटी लगेको नगद दिलाई पाऊँ भनी उनले निवेदन दिइन् । प्रहरीले सोही दिन सुवास थापा भन्नेले प्रयोग गर्ने गरेको एनसेल नम्बर ९८१५२५७५३२ को सीडीआरलगायतका अपरेसनल डाटा आवश्यक परेको भनी जिल्ला अदालतबाट आदेश लिई कारबाही तथा खोजीनीति अगाडि बढिरहेको छ । तर अभियुक्त सुवास थापा भनिने व्यक्ति अझै पक्राउ परेको छैन । पीडित तुल्सीले जिल्ला प्रहरी कार्यालय, भरतपुरमा सम्पर्क गरिरहेकी छिन् । न्याय पाउने आशामा उनी छिन् ।
विदेश जानुभन्दा पहिले खेती किसान र ज्यामी काम गरेर उनले घर परिवारलाई पाल्दैआएकी थिइन् । पहिले हँसिली, फुर्तिली र कर्मठ देखिने उनी आजकल चिन्तित, निराश देखिन्छन् । उनी त प्रतिनिधि पात्रमात्र हुन् । समाजमा धेरै पीडित महिलाहरू छन् । समृद्ध नेपाल बनाउन चाहेको दुईतिहाइ बहुमत प्राप्त केपी ओलीको सरकारको यतातर्फ ध्यान कहिले पुग्ने हो ?
–खेमनारायण शर्मा, रत्ननगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *