भर्खरै :

भेदभाव र छुवाछूत अन्त्य गर्न सांस्कृतिक स्तर उकास्न आवश्यक

काठमाडौं, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जातीय भेदभाव तथा छुवाछूत अन्त्यको लागि सांस्कृतिक स्तर उठाउनुपर्नेमा जोड दिनुभयो ।
राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारबाट बसेको बैठकमा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) विधेयक, २०७५ को दफावार छलफलमा उहाँले विद्यालय पाठ्यक्रममा राखेर त्यस किसिमको अन्धविश्वास र कुप्रथाविरुद्ध समाजलाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद सुवालले व्यक्तित्व विकासमा समान अवसर र आर्थिक समानताले पनि भेदभाव र छुवाछूत अन्त्य गर्न मद्दत गर्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिकामार्फत अनुगमन गर्ने गराउने आवश्यकता औंल्याउनुभयो ।
यसअघि समितिमा वैयक्तिक गोपनीयता विधेयकबारे सरकारमा दफावार छलफल भएको थियो । छलफलमा सार्वजनिक पद धारण गरेकाहरूको वैयक्तिक गोपनीयतामा प्रश्न उठाउन मिल्ने सहमति गरियो ।
समितिको अर्काे बैठक भदौ २८ गते बिहान ८ बजे हुनेछ ।
शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद सुवालले अनिवार्य निःशुल्क शिक्षा विधेयकमा संशोधन प्रस्तुत गर्दै माविसम्म शिक्षा अनिवार्य र निःशुल्क विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राहदानीसम्बन्धी विधेयकको दफावार छलफलमा सांसद सुवालले राज्यको प्रतिनिधित्व गरेर विदेश जानुपर्ने विशिष्ट व्यक्तिहरूलाई कूटनीतिक राहदानी र विशेष व्यक्तिहरूलाई विशेष राहदानी उपलब्ध गराउनुपर्ने र विदेशको कार्यक्रम समाप्त गरी स्वदेश फिर्ता भएपछि त्यस्तो कूटनीतिक र विशेष राहदानी सरकारलाई नै बुझाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
मौलिक हकसम्बन्धी विधेयकहरू संसदको समितिहरूमा छलफल चालू छ । भदौ २७ गते दिउँसो १२ बजे शिक्षा तथा स्वास्थ्य समितिको बैठक र दिउँसो ३ बजे कृषि समितिको बैठक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *