भर्खरै :

‘दक्षता देश र जनताको सेवाको लागि हुनुपर्छ’

भक्तपुर, २८ भदौ । ‘‘थोरै मान्छे इमानदार हुँदैमा समाजमा आमूल परिवर्तन नहुने भएकोले व्यापक जनतालाई सङ्गठित गर्नु आवश्यक छ । नेपाल मजदुर किसान पार्टीले अङ्गालेका सिद्धान्त र विचारलाई आत्मसात गरी जनतालाई सचेत र सङ्गठित गर्न नेपाल कर्मचारी समाजका सदस्यहरू लाग्नुपर्छ ।’’
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपाल कर्मचारी समाजको केन्द्रीय समितिको बिहीबार भक्तपुरमा बसेको बैठकमा उक्त विचार राख्नुभएको हो ।
‘‘अध्ययनमा निरन्तरता दिंदै हरेक विषयमा दख्खल हुनुपर्छ । पैसा कमाउनको लागि होइन, देश र जनताको सेवा गर्ने उद्देश्यका साथ दक्षता हासिल गर्नुपर्छ ।’’ अध्यक्ष रोहितले भन्नुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी राख्नुपर्ने आवश्यकता औंल्याउँदै इराक, लिविया र सिरियामा साम्राज्यवादी संरा अमेरिका र नाटो सम्बद्ध देशद्वारा गरिएको आक्रमणको उहाँले विरोध एवं भत्र्सना गर्नुभयो ।
चीन र भारतबीच शत्रुता बढाएर पश्चिमी साम्राज्यवादी देशहरू तेस्रो विश्व युद्ध एसियामा थुपार्न चाहेको अध्यक्ष रोहितले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसारको परिस्थिति बदलिइसकेको छ । संरा अमेरिका आर्थिक र सैनिक रूपले झन्झन कमजोर हुँदैछ । बीचमा कुनै लडाइँ नभएमा २५ वर्षमा चीनले विश्वलाई अगुवाइ गर्नेछ । संसारका जनतालाई समृद्ध बनाउने चिनियाँ जनताको सपना हो ।’’
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाले २०१९ सालदेखि नै भ्रष्टाचारको विरूद्ध आन्दोलन गरिरहेको बताउनुभयो ।
पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया गर्नुपर्नेमा आवश्यकता औंल्याउँदै उहाँले कर्मचारी समाजका सदस्यहरू देश र जनताको सेवामा समर्पित हुनुपर्छ भन्नुभयो ।
सङ्घीय संसदका गतिविधि र नेमकिपाको भूमिकाबारे जानकारी गराउँदै सचिव सुवालले भन्नुभयो, ‘‘प्रम ओलीको बोली भाषणमा मात्र सीमित छ, दुईतिहाइ बहुमतसहितको ओली सरकारले देश र जनताको हितमा केही गर्न सकेको छैन ।’’
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा प्रमुख सुनिल प्रजापतिले देशको मुख्य मुख्य पद विदेशी पैसा खाने मान्छेको नेतृत्वमा पुगेको हुँदा जनताले दुःख पाइरहेको बताउनुभयो ।
जनप्रतिनिधिको विकल्पको रूपमा एनजीओ÷आईएनजीओले काम गरिरहेको हुँदा हामी सचेत हुनैपर्छ, देशको स्वतन्त्रता र सार्वभौमिकतामा आँच आउने काम हामीले गर्नुहुन्न, उहाँले भन्नुभयो ।
सरकारमा रहेका पार्टीहरूले करको दुरूपयोग गरिरहेको र कर छल्नेहरूले नै सबभन्दा बढी करको विरोध गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो । नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा नेमकिपाले प्रमुख प्रतिपक्षको भूमिका निभाइरहेको चर्चा गर्दैै नेमकिपाले चुनावमा व्यक्त गरेको प्रतिबद्धताहरू पूरा गर्न सधैं लागिपर्ने बताउनुभयो । बैठक समाजका अध्यक्ष गौतमप्रसाद लासिवाको अध्यक्षतामा भएको बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *