भर्खरै :

जडीबुटी–कोटेश्वरको जाम कहिले हुने समाधान ?

काठमाडांै, २८ भदौ । भक्तपुरबाट काठमाडौंमा नियमित जाने जोकोहीको लागि लोकन्थलीदेखि कोेटेश्वरको सडक जाम आफ्नो दिनचर्याको हिस्सा बनिसकेको छ । सो स्थानमा नियमित रुपमा हुने गरेको जामका कारण धेरै सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । सामान्यतः लोकन्थलीदेखि, नभए कौशलटारदेखि हुने जामका कारण काठमाडांैमा पढ्न जाने विद्यार्थी, कार्यालयमा जाने कर्मचारी, व्यापारी र सर्वसाधारणको दैनिक आधा घण्टादेखि दुई घण्टासम्म खेर जाने गरेको छ । काम पर्दा काठमाडौं जाने सर्वसाधारण पनि जडीबुटीको जामका कारण सकेसम्म काठमाडौं जाने काम टार्न बाध्य छन् । अरनिको राजमार्गअन्तर्गत तीनकुने–कोटेश्वर–सूर्यविनायकको सडक छ लेनको भनिए पनि भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोकलगायतका जिल्लावासीको आवागमन त्यहाँको जामका कारण पनि कष्टकर बन्ने गरेको छ । काठमाडांैमा कोही विशिष्ट पाहुना वा उच्चपदस्थहरूको ‘सवारी’ चल्दा जाम गठ्ठाघरसम्म पनि लम्बिने गरेको तीतो अनुभव छ ।
काठमाडांै उपत्यकामा बढ्दो जनसङ्ख्या विशेषतः भक्तपुरमा पछिल्लो समय बढेको जनसङ्ख्या, यातायातका साधनको सङ्ख्यामा अचाक्ली वृद्धि र अव्यवस्थित सडक व्यवस्थापनका कारण सर्वसाधारण यो समस्याको चेपुवामा परेका हुन् । अरनिको राजमार्ग भएर काठमाडांै जाने–आउने पूर्वका रुटहरू धेरै भइसकेका कारण पनि यो सडकमा यातायातका साधन निकै बढेको हो ।
कोटेश्वरको निस्सासिंदो सडक जामको समस्या आजको मात्र होइन । पहिले सडक साँघुरो भएर यो समस्या थियो भने आजभोलि सडक हिजोभन्दा चौडा भए पनि यातायातका साधनको सङ्ख्या वृद्धि र व्यवस्थापनको कमजोरीका कारण समस्या ज्यूँका त्यूँ छ । कोटेश्वर र जडीबुटीको जामबारे पत्रपत्रिकाले झण्डै नियमितजसो लेखिरहेका हुन्छन् । यो विषयमा संसदमा पनि उठिसकेको छ । तर सरकारले त्यसको कुनै सुनुवाइ गरेको छैन । सम्बन्धित मन्त्रालय र सरकारी कार्यालयहरूसमक्ष यो समस्या तेर्सिंदा ‘तीनकुनेदेखि जडीबुटीसम्मको आकाशे पुल’ जस्ता तत्काल पूरा नहुने विकल्प देखाएर पन्छिने गरेका छन् । मन्त्री र सरकारी अधिकारीका कुरा सुन्दा मीठोजस्तो लागे पनि दैनिक घण्टौं जाममा बस्नु परेको समस्या भने समाधान हुने कहिले हो कहिले !
लाखौं जनताले दैनिक भोग्नुपरेको समस्या समाधानमा भने सरकारले तदारुकता देखाउन सकेको छैन । वर्षौदेखिको यो समस्या समाधानको लागि सरकारी स्तरबाट अझसम्म पनि कुनै ठोस र व्यवहारिक विकल्प दिन सकेको छैन । वैकल्पिक सडकको उचित बन्दोबस्तसमेत हुन नसक्दा पनि जामको समस्या जटिल बन्दै गएको हो । तत्कालको लागि
पेप्सीकोलाबाट गुहेश्वरी पुग्ने बाटो, लोकन्थलीबाट बालकुमारी पुग्ने र बोडेबाट मूलपानी हुँदै चावहिल जाने बाटो व्यवस्थित गर्न सरकारले तत्काल कदम चाल्नुपर्दछ ।
जडीबुटीको मनोहरा पुलबाट पूर्वको चोकमा दुवैतिरका सर्भिस ट्रयाकसमेत खोलिदिंदा सबभन्दा ठूलो जाम त्यही हुने गरेको छ । जथाभावी, बिनायोजना अव्यवस्थित रुपमा खोला छेउ बस्ती विस्तार गर्न दिने र त्यहींबाट बाटो राजमार्गमा जोड्न दिंदा पनि जामको समस्या भयावह बनेको हो । ट्राफिक व्यवस्थापनको लागि ती साना र सहायक बाटा बाधक बनेका छन् । जनसङ्ख्या वृद्धिसँगै खोला छेउ अनियमित निर्माण कार्य भएकोले पनि राजधानीको ट्राफिक व्यवस्थापनमा जटिलता थपिंदै गएको हो ।
मनपरी घर बनाउने, प्लटिङ गर्ने अनि राजमार्गसँग सिधै बाटो जोड्दै जाँदा पनि कोटेश्वरको जाम ‘चन्द्रमाबाट पनि देखिने’ जति लामो बन्दै गएको हो ।
जडिबुटी–कोटेश्वरको जाम कम गर्ने तत्कालिक केही उपायलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
– तत्काल भएका वैकल्पिक बाटोको उचित व्यवस्थापन गरिनुपर्दछ ।
– जथाभावी वरपर खोलिएका सहायक बाटा बन्द गरिनुपर्दछ ।
– कार्यालय समयमा मालबाहक गाडीलाई बन्द गरिनुपर्दछ ।
– सबै सरकारी र केन्द्रीय कार्यालयहरू काठमाडांैमात्र सीमित नराखी विकेन्द्रीकरण गरिंदै जानुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *