भर्खरै :

नेपालमा कृषिको विकासको ऐतिहासिक झलक

न्हुछेरत्न बुद्धाचार्य
“चुँडालेर मासु खसालेर आँसु कृषकहरूले खन्छन् खेत
चामलसित दसैं–तिहारमा बल्लतल्ल गर्छन् भेट”
– ‘केवलपुरे किसान’
प्राचीनकालदेखि नेपालको मुख्य पेशा कृषि थियो । गोपाल वंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो । गोपालहरू गौचरनका साथै खेतीपाती पनि गर्दथे । यिनीहरूले खेतीको निम्ति रुख काटेर जङ्गल सफा पारेका थिए । गोपाल वंशको समयमा प्रारम्भ भएको कृषि प्रणाली किरात तथा लिच्छविकालमा पनि विकसित हुँदै गएको थियो ।
नेपालको कृषि प्रणालीको इतिहासमा तल उल्लेखित एक ऐतिहासिक घटना महत्वपूर्ण थियो ।
प्राचीनकालमा कपिलवस्तु र रामग्रामका बासिन्दाहरू रोहिणी नदीको बाँध बाँधेर आ–आफ्नो खेतीमा सिंचाइ गर्ने गर्दथे । एक पटक रोहिणी नदीको पानीको बाँडफाँडको कुरालाई लिएर कपिलवस्तु र रामग्रामका बासिन्दाको बीचमा विवाद चल्यो । यस विवादले युद्धको रुप लिन थालेको थियो ।
त्यसै बखत गौतमबुद्ध आएर यस युद्धलाई रोकेर दुवैको बीचमा सम्झौता गराइदिए भन्ने कुरा ‘धम्मपद अट्टकथा’ नामक बौद्ध ग्रन्थमा लेखिएको पाइन्छ ।
लिच्छविकालमा काठमाडौं उपत्यकामा कृषि व्यवसायको लागि आवश्यक कुलो र सिंचाइ उपलब्ध गराउन बागमती, विष्णुमती, मनोहरा आदि ठूला साना नदीमा बाँध बाँधिन्थ्यो । कृषिको व्यवस्था मिलाउन, नदी, पहाड, जङ्गल, पुल, सिमलको बरको रुख लगाएर साँध राख्थे । धान पशु र द्रव्यद्वारा सरकारले कृषकको सहायता गथ्र्यो । बाली तयार भएपछि सुविस्ताअनुसार कृषकहरूले सापट फिर्ता दिन्थे । कृषकहरू रह्रोष्टपुष्ट रहेमा राजकोष बढ्ने हुनाले उनीहरूको स्वास्थ्य राम्रो बनाउन तथा व्यायामको निमित सरकारको तर्फबाट धन मिल्दथ्यो । यस्तो रकमबाट व्यायामशाला र व्यायामशालाको सामान व्यायामीहरूको लागि खाद्यको निम्ति खर्च गरिन्थ्यो ।
कृषकहरूको बिग्रेको स्वास्थ्य सुधारका निम्ति औषधालयहरूको स्थापना गरिन्थ्यो ।
लिच्छविकालीन अभिलेखले उल्लेख गरेअनुसार त्यस समयमा धान, गहुँ, दाल, फलपूmल आदिको खेती गरिन्थ्यो । पाटन भीमसेन स्थानको शिवदेष अंशुवर्माको संयुक्त अभिलेखमा लसून र प्याजमा लागेको कर (पलाण्डुकर) माफ गरिएको कुरा लेखिएको छ । यसबाट त्यसबखत अन्य तरकारीहरूको पनि उत्पादन हुन्थ्यो भन्ने कुरा थाहा पाइन्छ । कृषि उत्पादनको आधारमा भूमिको श्रेणी निर्धारण हुन्थ्यो । भूमिको नाप देखाउन भूमि पिण्डकर मानिका शब्दको प्रयोग गरिएको थियो । आज प्रचलित ‘माना’ शब्द यसै मानिकाको अपभं्रश मानिन्छ ।
कृषि उत्पादनमा वृद्धि गर्न कुलोको व्यवस्था गरिएको थियो । त्यसबखत कुलोलाई तिलमक भनिन्थ्यो । कुलोको प्रयोग गर्दा विवाद उठेमा पाञ्चालीले छिने गर्दथ्यो ।
पाटन बुङमतीको अभिलेखमा अंशुवर्माले “कुखुरा, सँुगुर, माछाहरूको हेरचाहले खुसी भएका हामीबाट महाधिकरण पस्न नपाउने गरी तिमीहरूलाई निगाह गरिएको छ ” भन्ने वाक्य लेख्न लगाएका थिए । यसबाट उनी पशुपालन तथा कृषि उत्पादनबाट खुसी हुनेरहेछन् भन्ने थाहा पाइन्छ ।
लिच्छविकालमा कृषि व्यवसाय महत्वपूर्ण भएको हुनाले कृषि उत्पादन वृद्धिका निम्ति सिंचाइ सुविधामा सर्वत कृषकहरूले वर्षाका निम्ति पूजा प्रार्थना, आराधना आदि गरिएको उदाहरण गोपाल राजवंशावलीमा उल्लिखित छन् ।
नेपालमा खासगरी काठमाडौं उपत्यकामा प्राचीनकालदेखि नै मुख्य बालीको रुपमा धानको उत्पादन हुन्थ्यो । लिच्छविकालको अभिलेखमा धान्य तथा तेण्डल (धान चामल)को प्रशस्त उल्लेख गरिएको छ । त्यसबेलाका अभिलेखहरूमा गोहले गो युद्धजस्ता शब्दहरूको प्रयोग भएको हुनाले तिनताका खेत जोत्नका निम्ति गोरुको प्रयोग हुने कुरामा धेरै हदसम्म विश्वास गर्न सकिन्छ ।
यस समयमा खेत, पाखो र जङ्गल गरी तीन भागमा बाँडिएको थियो । खेतीयोग्य जमिन तीन वर्गको स्वामित्वमा रहन्थ्यो, पहिलो राजदरवारका व्यक्तिहरूको स्वामित्वमा, दोस्रो सङ्घ संस्थाहरूको स्वामित्वमा र तेस्रो जनसाधारणहरूको स्वामित्वमा हुन्थ्यो ।
यस्तै लिच्छविकालको मीन नारायणको शिलालेखमा उल्लेख गरिएको छ कि एउटा नहर बनाउने काम सम्पन्न नभएमा गाउँका ठूलाले त्यो काम पूरा गर्ने अभिभारा कृषकहरूलाई दिएको हुन्थ्यो ।
अंशुवर्माले कृषिको विकासका निम्ति भूमिको विभाजन गरेका थिए । यसै विभाजनका आधारमा भूमिकर बुझाउनुपर्दथ्यो । लिच्छविकालका शिलालेखहरूमा यति भूमिको यति कुत भनी लेखिएको छ । कृषिमा लाग्ने करलाई ‘भाग’ भनिन्थ्यो ।
प्राचीन धार्मिक ग्रन्थ कटनाक संहिता नामक ग्रन्थमा चौबिसवटा गोरु प्रयोग गर्न सकिने हलो बनाएको कुरा लेखिएको छ ।
मध्यकालीन अर्थ व्यवस्थामा कृषि मेरुदण्डको रुपमा रहेको थियो । बहुसङ्ख्यक जनताको आयस्रोत तथा जीविकोपार्जन र राज्यको स्वामित्व बढी भए पनि सामान्य अवस्थामा भने जन– स्वामित्व कायमै थियो ।
काठमाडौं उपत्यकामा त्यतिबेला कृषि पेशा निकै फस्टाएको थियो । यहाँको मलिलो माटोमा त्यसबेला धान, गहुँ, तोरी आदि उब्जनी हुन्थ्यो । कृषिको निम्ति चाहिने पानीको व्यवस्था मिलाउन कुलो तथा बाँधको बन्दोबस्त पनि गरिएको थियो । कुलोको निर्माण गर्न जन सहभागिताको उपयोग पनि गरिन्थ्यो । यस सम्बन्धमा केही नियमहरू बनेका थिए । यसअनुसार राजकुलोको पानीले धान रोप्नु परेमा आधा दामको दरले पैसा तिर्नुपर्ने, कुलो बनाउन सहयोग नगर्नेले दण्ड तिर्नुपर्ने, खेतमा पानी लाउँदा ठूलो र सानो भनी पालो मिच्न नपाइने नियम थियो । कुलोसम्बन्धी हेरविचार गर्ने अधिकारीलाई ढलपा भनिन्थ्यो ।
खेतको नापका निम्ति कर्ष इत्यादिका शब्दहरूको प्रयोग गरिएको पाइन्छ । त्यसबेला चार कर्षको एक रोपनी भनिन्थ्यो । साधारण अभिलेखहरूबाहेक सम्बन्धित ऐतिहासिक ताडपत्र, तमसुकहरूसमेत हजारौँ सङ्ख्यामा प्राप्त भएका छन् । बाली तथा पशुपालन विषयमा भने मल्लकालका घरपौहरूबाट पनि केही जानकारी पाइने छ । मल्लकालमा पाटनका कुनू शर्माले पनि उपत्यकामा थरी थरीका फलफूलको प्रशस्त मात्रामा उब्जनी हुन्छ भन्ने उल्लेख गरेका छन् ।
मध्यकालमा नेपालका श्रमिक कृषकहरूलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ । जस्तोः एक धार्मिक ग्रन्थ ‘ रुद्रसूक्त ’मा वैदिक आदर्शको एक उदाहरण पाइन्छ ।
“चर्मकारेम्भ्यो नम ः रथकारेम्भ्यो नमः कुलालेभ्यो नम ः स्तेनाना पतये नम ः” (हामीलाई सार्की सिकर्मी तथा कुमालेलाई मात्र नमस्कार गर्न सिकाउँदैन परन्तु निमुखा श्रमिकहरूलाई पनि नमस्कार गर्न सिकाउँछ । )
रुद्रसूक्तमा यसप्रकार श्रमको जुन मूल्याड्ढन गरिएको छ त्यो श्रमिकहरूलाई अत्यधिक महत्व दिएको एक प्रमाण हो ।
मध्यकालमा जयस्थिति मल्लले जग्गाको निम्ति छुट्टै व्यवस्था गरेका थिए । यिनले जग्गालाई उब्जनीको आधारमा अब्बल, दोयम, सिम र चाहार गरी चार वर्गमा वर्गीकरण गरेका थिए । यस्तै रामशाहले कृषियोग्य भूमिको विस्तार गर्न उत्पादन योग्य बनाएमा तीन वर्षसम्म जग्गा धनीका अधिकार कायम रहने नियम बनाएका थिए ।
यसभन्दा अघि धान, गहुँ, जौ, भटमास, दालजस्ता खाद्यवस्तुको उत्पादनमा जोड दिइन्थ्यो । पृथ्वीनारायण शाहले कपासजस्तो नगदे बालीको उत्पादन बढाउन प्रोत्साहित गरेका थिए । कपासको उत्पादनबाट कपडा उद्योगको विकास गर्न सकिन्छ भन्ने उनको धारणा थियो ।
यस्तै सन् १७९३ मा नेपाल भ्रमण गर्ने विलियम कर्क पेट्रिकले यहाँ सिंचाइको समस्या नभएको र माटो उच्च गुणको भएको र कम श्रमले धेरै असल जातको अन्न उब्जनी हुने जसका निम्ति त्यति धेरै श्रम शक्तिको खर्च गर्नु नपर्ने कुराको चर्चा गरेका छन् ।
उनले भूमिको उत्पादकत्वका सन्दर्भमा चर्चा गर्दा करीब चार बिगाहा जति जग्गामा १०० मुरीसम्म अन्न उपत्यकामा फल्ने कुरा उल्लेख गरेका छन् । कर्क पेट्रिकले काठमाडौं उपत्यका तथा आसपासमा हुने कृषि उत्पादन विषयमा चर्चा गर्दा धान, गहुँ, तेलहरूको उत्पादन हुने गरेको आफ्नो यात्रामा वर्णन गरेका छन् ।
यसरी हाम्रो कृषि प्रणालीको विकास प्राचीनकालदेखि नै विकास हँुदै आएको छ । नेपालका कृषकहरू लगनशील, स्वाभिमानी, जागरुक भएको कृषिको ऐतिहासिक वर्णनले प्रमाणित गर्छ ।
सन्दर्भ सामग्री
१.An Account of The Kingdom of Nepal – Kirkpatrick
२. नेपालको सामाजिक आर्थिक तथा प्रशासनिक इतिहास – प्रा.रामप्रसाद उपाध्याय
३.काठमाडौं उपत्यकाको मध्यकालिक इतिहास – रमेश ढुङ्गेल, ऐश्वर्यलाल प्रधानाङ्ग
४. नेपालको प्राचीन र मध्यकालीन इतिहास– प्रा. रामप्रसाद उपाध्याय
५.‘ नेपाल’ पत्रिका – त्रि.वि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *