भर्खरै :

जनतामाझ नेमकिपाका सांसद : जनताको सेवा गर्नु नेमकिपाको प्रमुख उद्देश्य

काठमाडौं, २९ भदौ । “जनताको सेवा गर्नु नेमकिपाको प्रमुख उद्देश्य हो । अन्याय र अत्याचारको विरोधमा नेमकिपाले कहिल्यै सम्झौता गर्दैन ।”
उक्त भनाइ नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेमकिपा काठमाडौं जिल्ला समितिको आयोजनामा शुक्रबार कीर्तिपुरमा भएको ‘जनतामाझ नेमकिपाका सांसद’ कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘नेमकिपाले जनताको समस्या उठाउँदा नाजवाफ हुने मन्त्रीले देशको हितमा काम गर्नसक्दैन । हालै सम्पन्न बिमस्टेक सम्मेलन भारतको इसारामा भएको हो । भारतीय विस्तारवादको विरोधमा नेमकिपाले निरन्तर आवाज उठाउँदै जानेछ ।’
संसदमा एकैदिन ७ वटा विधेयक पेश भएको जानकारी गराउँदै उहाँले विनाअध्ययन र छलफल विधेयक पारित गर्न नहुने बताउनुभयो ।
संसदीय व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टा दिनुपर्नेमा १२ घण्टामात्र दिएकोमा सांसद सुवालले विरोध गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रदेशसभामा खेलेको भूमिका अवगत गराउँदै जनताको प्रतिनिधिले जनताको आवाज बोल्नैपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रदेशसभामा समाजवाद र समृद्धिको कुरा जनता झुक्याउने चालमात्र हो । सरकार यदि कम्युनिष्टको हो भने शिक्षा–स्वास्थ्य निःशुल्क गर्न सक्नुपर्छ, उत्पादनका साधन र सेवा राष्ट्रियकरण गर्नसक्नुपर्छ । तर सरकारले भाषणबाहेक केही गर्न सकेको छैन ।’’
नाकाबन्दीको बेलामा भारतीय विस्तारवादको विरुद्धमा संसदमा आवाज उठाउने पार्टी नेमकिपामात्रै भएको उहाँले बताउनुभयो ।
प्रदेश नं. ३ का सांसद एवं नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजुले प्रदेशसभाबारे जानकारी दिंदै अन्य दलका सांसदहरुको ध्यान मुख्यमन्त्री बन्ने, ठेक्कापट्टा लिनेमा मात्र भएको बताउनुभयो ।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु सत्तामा बसेकाहरुको अकर्मण्यता हो, उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा हरिकुमार महर्जन र राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *