“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २९ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा प्रभात इङ्गलिस स्कूलको आयोजनामा ‘प्रभात ट्यालेन्ट शो’ कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेंले बालबालिकाको सृजनशीलतालाई बाधा नहुने गरी खेलाउँदै सिकाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बालबालिकाको सर्वाङ्गीण विकासको लागि चाहिने सम्पूर्ण व्यवस्था राज्यले गर्नुपर्छ, ठाउँठाउँमा बाल उद्यानहरू सञ्चालन गर्नुपर्छ, अध्यक्ष रोहितले भन्नुभयो ।
समाजवादी देशहरूमा मे दिवस र स्वतन्त्रता दिवसको अवसरमा बालबालिका पार्कहरूमा रमाउने गर्छन् भन्दै अध्यक्ष रोहितले वास्तविक बाल अधिकार समाजवादी देशमा मात्र हुने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले पुँजीवादी व्यवस्थामा राजा–महाराजाहरू र सरकारमा गएका नेताहरू दरवारमा बस्ने तर समाजवादी व्यवस्थामा केटाकेटीहरू दरवारमा सिक्ने, खेल्ने र रमाउने बताउनुभयो ।
प्रजग कोरियामा केटाकेटीको लागि धेरै दरवारहरू भएको जानकारी गराउँदै उहाँले शिशुहरूको विकास एवं आमाहरुको श्रमशक्ति वृद्धि गर्नको लागि भनपाले २०५६ सालमा टोलटोलमा शिशु स्याहार स्थापना गरी सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काम गरी खाने जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले २०३८ सालमा स्थापित प्रभात इङ्गलिस स्कूल सार्वजनिक शैक्षिक गुठीमा दर्ता भएको विद्यालय हो । यो जनताको विद्यालय भएकोले कार्यरत शिक्षक तथा कर्मचारीहरूले आफ्नै ठानी मेहनतपूर्वक काम गरी विद्यालयको विकासमा सहयोग गर्दै आउनुभएको छ ।’
प्रदेश नं. ३ का सांसद सृजना सैंजूले व्यक्तित्व विकासमा बालबालिकालाई समान अवसर दिनुपर्ने धारणा राख्दै बाल अधिकारको विषयमा राज्यले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिका संयोजक गौतमप्रसाद लासिवा, वडा अध्यक्षद्वय हरिराम सुवाल, हरिप्रसाद बासुकला र प्रिन्सिपल कृष्णबहादुर प्रजापति एवं सहायक प्रिन्सिपल बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूले गीत, नृत्य नाटक प्रस्तुत गरेका थिए ।
Leave a Reply