रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
नीरज
प्रशान्त झा नेपालको बौद्धिक वृत्तमा अपरिचित नाम होइन । नेपालले पछिल्लो दसक भोगेको राजनीतिक परिवर्तनबारे लेखिएको पुस्तक ‘ब्याटल्स अफ द न्यु रिपब्लिकः अ कन्टेम्पोररी हिस्ट्री अफ नेपाल’ का लेखकको रुपमा झाको परिचय स्थापित छ । अङ्ग्रेजी भाषामा लेखिएको सो पुस्तकको नेपाली भाषामा अनुवाद भई ‘गणतन्त्रको सङ्घर्ष नेपालको समकालीन इतिहास’ प्रकाशित भएपश्चात् झाको परिचयले अझ उडान लियो । बेलाबेलामा उनी नेपालका पत्रपत्रिकामा पनि लेखिरहेका हुन्छन् । भारतमा प्रकाशित हुने द हिन्दुस्तान टाइम्सका त उनी नियमित स्तम्भकार नै हुन् । तिनै प्रशान्त झाले लेखेको अर्को पुस्तक ‘हाउ द बीजेपी विन्स’ (भाजपाले कसरी चुनाव जित्यो) बारे सङ्क्षिप्त चर्चा गरौं ।
भारतको इतिहास धेरै ‘चमत्कारहरू’ले भरिएको इतिहास हो । साथै धेरै थरीका अन्तर्विरोध र विरोधाभासले भरिएको इतिहास हो । भारतको आजको अवस्था आफैंमा त्यस्तै चमत्कार, अन्तर्विरोध र विरोधाभासको समय पनि हो । त्यसो त लोकतन्त्र आफैंमा चमत्कारिक राजनीतिक बन्दोबस्त हो जहाँ कतिबेला कस्तो परिणाम आउने हो, अड्कल गर्नै मुस्किल हुने गर्दछ । ‘संसारकै सबभन्दा ठूलो लोकतन्त्र’ दाबी गर्ने भारतमा यस्तो नहुनु त अर्को चमत्कार मात्र हुनसक्दछ । प्रशान्तले आफ्नो पुस्तकमा सतहमा उभिएर भन्नुपर्दा यही चमत्कार, अन्तर्विरोध र विरोधभास उजागर गर्न खोजेका छन् ।
पुस्तक मूलतः सन् २०१४ यता भारतको केन्द्रदेखि प्रान्त स्तरमा भएका चुनावमा कुनै बेलाको सानो, सीमित प्रान्तमा केन्द्रित, निश्चित वर्ग र समुदायको पार्टीको रुपमा परिचित भारतीय जनता पार्टीले कसरी प्रधानमन्त्री पदमा मात्र नभई कुनै बेला २ प्रतिशतमात्र मत पाएका प्रान्तमा समेत मुख्यमन्त्री पद जित्यो भन्ने प्रश्नको वरपर घुमेको छ । भारतीय राजनीतिमा भाजपा उचाइमा पुग्नुका कारण के–के हुन् भन्ने प्रश्नको उत्तर दिन लेखकले मिहिनेत गरेका छन् ।
कुनै बेला गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को प्रधानमन्त्री चुनावमा चमत्कारिक विजय हासिल गरे । सन् १९८४ यता भारतीय लोकसभा चुनावमा कुनै पनि एउटा दलले स्पष्ट बहुमत ल्याउन सकेको थिएन । तर ०१४ को चुनावमा कूल ५४३ स्थानमध्ये भाजपाले उम्मेदवारी दिएका ४२८ स्थानमध्ये २८२ स्थानमा विजय हासिल ग¥यो । देशव्यापी रुपमा भाजपाले ३१.१ प्रतिशत मत हासिल ग¥यो भने विजयी स्थानको आधारमा उसले कूल ४० प्रतिशत मत हासिल ग¥यो । झाको विश्लेषणमा यो चुनाव र त्यसपछि भएका सबै प्रान्तीय चुनावमा भाजपाले हासिल गरेको विजयका मूलतः तीन कारण छन्ः पहिलो–नरेन्द्र मोदीप्रति आकर्षण, दोस्रो–हिन्दुवादी राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) ले खुलेर गरेको मद्दत र तेस्रो–भाजपाका वर्तमान अध्यक्ष अमित साहको चुनावी रणनीति ।
यी तीन विषयमध्ये दुई वटा विषयहरू–नरेन्द्र मोदीको आकर्षण अर्थात् मोदी हावा र अमित साहको चुनावी रणनीति (चुनावी विद्यालय) बारे त झाले अरु पनि पुस्तक लेख्न भ्याइसकेका छन् ।
मोदीको आकर्षणको हुरी भाजपालाई यो उचाइमा पु¥याएका केही कारणमध्येको एउटा कारण भएको लेखकको तर्क देखिन्छ । मोदीले आफ्ना मन्तव्यमा एकातिर आफ्नो पार्टीको पुरानो आधार पनि नगुम्ने अनि अर्कोतिर नयाँ जनआधार पनि हासिल हुने प्रकारका ‘ओछ्यान नबिगारी कोल्टे फेर्ने’ अनेकन चलाखी गरेका छन् । उनी भाजपाको मूल जनआधार सहरिया हिन्दू मध्यम तथा उच्च वर्गलाई पनि नचिढाउने र अर्कोतिर आफू ‘चायवाला’ भएको भन्दै गरिब र दलितको मत पनि आफूतिर तान्ने बठ्याइँ गरेका थिए । त्यही कारण मोदी सरकारले गरेका कतिपय जनविरोधी निर्णयका कारण जनताले दुःख पाएर पनि मोदीलाई दोष लगाउन नचाहेको झाको बुझाइ छ । जीएसटी करप्रणालीका कारण भारतका धेरै व्यापारी र नोटबन्दीका कारण धेरै गरिब तथा निम्न मध्यम वर्ग समस्यामा पर्दा पनि मोदीले राम्रैका लागि गरेका हुन् भन्ने भावना पालेर बसेको चर्चा यसमा गरिएको छ । तर मोदीका ती नीतिको विरोधमा जनस्तरमा व्यापक सडक आन्दोलनका गतिविधि भने भएका थिए ।
झाले पुस्तकमा मूलतः उत्तर प्रदेशको सन् २०१७ को चुनावमा भाजपाले हासिल गरेको सफलताको चर्चामा अलि बढी पृष्ठ खर्चेका छन् । उत्तर प्रदेश भारतभरिकै सबभन्दा बढी जनसङ्ख्या भएको प्रान्त भएका कारण पनि त्यहाँको चुनावलाई महत्वका साथ चर्चा गरिएको हुनसक्छ । दोस्रो कारण, उत्तर प्रदेशको चुनावमा भाजपाको चुनावी रणनीतिले पाएको सफलताको कारण पनि हो । उनले त्यो सफलताको जस मूलतः अमित साह र सुनिल भन्साललाई दिन खोजेका छन् ।
चुनावपूर्व उत्तर प्रदेशको समाजबारे गरिएको सर्वेक्षण, सोअनुसारको चुनावी रणनीति, उच्च प्रविधिको मसिनो प्रयोग, विपक्षलाई कमजोर र हतोत्साहित बनाउन विपक्ष दलका नेताहरू आफूतिर तान्ने प्रयास, मुसलमानलाई एक्ल्याउँदै दलित, विपन्न वर्ग(ओबीसी) र हिन्दू धर्मका सबै मतदातालाई आफ्नो पक्षमा ल्याउने चुनावी रणनीतिले भाजपालाई उत्तर प्रदेशमा अभूतपूर्व विजय दिलाएको थियो । हिन्दूवादी पार्टीको रुपमा भाजपाको स्थापित छविका कारण उसले मुसलमान जनताबाट नआउने मतको लागि मिहिनेत गर्नुको सट्टा अरु विपक्षी दल पक्षका अन्य जाति, विपन्न जाति र दलितमाथि आफ्नो बढी मिहिनेत केन्द्रित बनाउने रणनीतिक अख्यितार गरेको देखिन्छ । उत्तर प्रदेशमा समाजवादी पार्टीको सरकारले मुसलमानलाई मात्र धेरै सुविधा र सहुलियत दिएको भन्दै भाजपाले त्यहाँ अरु तमाम गैरमुसलमानलाई आफूतिर आकर्षित गर्दा लामो समयदेखि यूपी हाक्दै आएका नेताहरूले चुनावमा हात धुनुप¥यो । भाजपाले बलियो विजय हासिल ग¥यो ।
साथै अमित साहको कुशल सङ्गठन परिचालन शैली र बुथ तहसम्म फैलाएको सङ्गठन सञ्जालले पनि चुनावी सफलताको लागि मद्दत हुन गएको झाको विश्लेषण छ ।
उत्तर प्रदेशको रणनीतिलाई नै अङ्गालेर बिहारमा चुनाव लड्दा भाजपाले त्यत्ति सफलता हासिल गर्न सकेन । उत्तर प्रदेशमा समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी र काङ्ग्रेस आईको अन्तर्विरोधको फाइदा उठाएर भाजपाले चुनाव जित्यो भने बिहारमा लालु यादव, नितिशकुमारजस्ता चलाख राजनीतिक खेलाडीसामु भाजपाले सफलता हासिल गर्न सकेन ।
झाले पुस्तकमा जम्मु कास्मिर, आसामजस्ता भारतीय जनता पार्टीको कमजोर साङ्गठनिक जनाधार भएका प्रान्तमा उसले मोदीको हावा र चुनावी रणनीतिको भरमा कसरी सफलता हासिल गरेको थियो भन्ने कुराको विस्तारमा चर्चा गरेका छन् । भाजपालाई उत्तरी भारत, विशेषतः हिन्दी भाषा बोलिने प्रान्तहरू बिहार र उत्तर प्रदेशमा केन्द्रित पार्टी भनिंदै आएको थियो । तर पछिल्ला आधा दसकमा उसले भारतभरि प्राप्त गरेको चुनावी विजयले अब भाजपा मात्र उत्तरी भारतको पार्टी नभएको पुष्टि गरेको झाको भनाइ छ । आसामजस्तो अघिल्लो चुनावमा जम्मा दुई प्रतिशत मत हासिल गरेको प्रान्तमा समेत भाजपा मुख्यमन्त्री जित्ने हैसियतमा उक्लियो ।
पुस्तकको अर्को पाटो भनेको भाजपासँग आरएसएससँगको सम्बन्धको चर्चा हो । आरएसएसले आफूलाई राजनीतिक सङ्गठनभन्दा एउटा सांस्कृतिक सङ्गठनको रुपमा परिचय दिने गर्दछ । तर सन् २०१४ र २०१७ को चुनावमा आरएसएस भाजपाको पक्षमा विगतको तुलनामा अझ खुलेरै लागेको थियो । वैचारिक रुपमा आरएसएस हिन्दुवादी सङ्गठन हो । भारतमा भएका धेरै गैरहिन्दूविरोधी दङ्गाफसादमा यो सङ्गठनको प्रत्यक्ष र परोक्ष संलग्नता पुष्टि भएको कुरा हो । भारतमा आज पनि सरकारको आडमा भइरहेका साम्प्रदायिक दङ्गा, मुसलमानहरूमाथिको दमन, गौरक्षाको नाममा भइरहेको हमला, वामपन्थी तथा प्रगतिशील कार्यकर्ता र जनतामाथिको अत्याचारमा यो सङ्गठनको भूमिका हुने गरेको छ । मोदी, अमित साहलगायत भाजपामा आज सक्रिय अधिकांश नेता–कार्यकर्ता आरएसएसकै विद्यालयमा तयार भएका हुन् । चुनावमा भाजपाको सफलताको निम्ति आरएसएसले आफ्ना कार्यकर्ताको व्यापक परिचालन गरेको थियो । फलतः आज मोदी सरकार आरएसएसबाट हुने कतिपय दङ्गाफसादमा देखेनदेखेजस्तै बस्न बाध्य भएको हो ।
झाको यो पुस्तकले आजको भारतीय राजनीति बुझ्न उपयोगी छ । भारतीय लोकतन्त्रमा चुनावको अर्थ के हो भन्ने बुझ्न यो पुस्तक काम लाग्नेछ । भारतमा चुनाव विचारको प्रतिस्पर्धाभन्दा पनि धर्म, जाति, सम्प्रदायको प्रतिस्पर्धा हुने गरेको छ । चुनाव भनेकै पैसाको प्रतिस्पर्धा बन्दा चुनाव प्रजातान्त्रिक राजनीतिक प्रणाली वा जनमत बुझ्ने राजनीतिक प्रक्रियाभन्दा पनि पैसा हुनेहरूबीच शक्तिको लागि हुने प्रतिस्पर्धाको रुपमा विकास भएको छ । भारतका हरेक निर्वाचन यस्तै पैसाको प्रतिस्पर्धा भएको झाको यो पुस्तकबाट निष्कर्ष निकाल्नसक्छौं ।
पुस्तक पढ्दै गर्दा कतिपय सन्दर्भमा भारतको परिवेश पढिरहेको हो वा नेपाली परिवेश पढिरहेको भन्ने अलमल हुन्छ । नेपालमा पछिल्लो समय शासक दलहरूले चुनाव जित्नको लागि प्रयोग गर्ने तरिका, जालझेल र धनको प्रतिस्पर्धा भारतसँग मिल्ने गरेको छ । यो भारतले नेपालबाट सिक्यो वा नेपालले भारतबाट सिक्यो, छलफलको विषय बन्न सक्दछ ।
चुनाव जुन प्रजातान्त्रिक आदर्शमा स्थापित राजनीतिक प्रक्रिया हो, पुँजीवादी देशमा अब त्यो रहेन, रहने गर्दैन भन्ने कुराको बोध यो पुस्तकबाट हुने गर्दछ । सरल अङ्गेजी भाषामा झाले लामो समयको प्रत्यक्ष अनुभव र अध्ययनबाट तयार गरिएको यो पुस्तक भारतीय राजनीति र लोकतन्त्रबारे बुझ्न उपयोगी पुस्तक हो । आगामी सन् २०१९ मा भारतमा अर्को लोकसभा निर्वाचन हुँदैछ । त्यसअघि यो पुस्तकको अध्ययनले आगामी निर्वाचनको विश्लेषण गर्न सहयोगी हुनेछ ।
Leave a Reply