भर्खरै :

अफगान द्वन्द्व सिरियाभन्दा बढी घातक–विश्लेषक

काबुल, २९ भदौ (एएफपी) । विश्लेषकले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्धभन्दा पनि बढी घातक हुनसक्ने बताएका छन् ।
सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्नसक्ने र यो सिरियाभन्दा पनि बढी हुनसक्ने उनीहरूको भनाइ छ । सिरियामा जारी युद्धलाई विश्वकै एक खतरनाक द्वन्द्वका रुपमा हेरिन्छ । अमेरिकी नेतृत्वमा हस्तक्षेप भएयता १७ वर्षदेखि अफगानिस्तानको द्वन्द्व साम्य हुनुको साटो अझ डरलाग्दो र घातक भइरहेको छ ।
युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसमा कार्यरत अफगान विज्ञ जोनी वाल्सले भन्नुभयो, उता सिरियामा शान्ति स्थापनाका लागि भएका प्रयास, यता अफगानिस्तानमा बढ्दो हिंसात्मक घटना र नागरिक हताहतका दृश्य हेर्दा सन् २०१८ मा विश्वमा अफगानिस्तान नै सबैभन्दा बढी हिंसा हुने देश हुन सक्दछ ।
यहाँ हरेक वर्ष हिंसाका घटनामा वृद्धि भइरहेको छ । अफगानिस्तानको परिस्थिति निरन्तर खस्कँदो आवस्थामा छ, उहाँले भन्नुभयो ।
सिरियामा अफगानिस्तानको भन्दा करिब एक दशकपछि द्वन्द्व सुरु भएको थियो । सिरियामा यसवर्ष करिब १५ हजार नागरिकको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
तर अफगानिस्तानमा यस वर्ष ज्यान गुमाउने नागरिकको सङ्ख्या २० हजार कट्ने देखिएको इन्टरनेसनल क्राइसिस ग्रुपका एकजना परामर्शदाता ग्रामी स्मीथले जानकारी दिनुभयो ।
अफगानिस्तानको गृहमन्त्रालयका उपप्रवक्ता नसरत राहिमीको अनुमानमा हरेक साता ३०० देखि ४०० दुश्मन लडाकू मारिने गरेको बताउनुभयो । तर उहाँले नागरिकको मृत्यु र सरकारी फौजको विवरण उपलब्ध गराउन चाहनु भएन ।
अफगानिस्तानमा जारी द्वन्द्वमा सन् २०१४ यता मृत्यु हुनेको सङ्ख्या एकाएक बढेको पाइएको छ । यस वर्षको अक्टोबर २० मा संसदीय चुनाव गर्ने तथा तालिबानसँग वार्ता गर्ने प्रस्ताव आएलगत्तै हिंसात्मक घटनामा वृद्धि भएको छ ।
पछिल्ला विवरणमा तालिबानले धेरै ठूलो भू–भागमा कब्जा जमाउन सफल भएको पाइएको छ । सामान्यतया कमजोर ठानिएको इस्लामिक स्टेट्सले समेत आक्रमणका सिलसिला जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *