भर्खरै :

लुलाको पक्षमा नोम चोम्स्की

साओ पाउलो, ३० भदौ । संरा अमेरिकी विश्लेषक नोम चोम्स्कीले ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई त्यहाँ हुन लागेको राष्ट्रपति निर्वाचनमा उम्मेदवार हुने अधिकार भएको बताएका छन् ।
साओ पाउलोमा पर्सु अब्रामो फाउन्डेसनको आयोजनामा भएको अन्तर्राष्ट्रिय सेमिनारमा शुक्रबार बोल्दै उनले भने, ‘‘धेरैको चासो छ । हामी सबै ब्राजिलको प्रजातन्त्रमा देखा परिरहेका ठूला चुनौतीबारे सोचिरहेका छौं । म यतिबेला त्यो व्यक्ति (लुला) को अभाव महसुस गरिरहेको छु जो ब्राजिलको चुनावमा उम्मेदवार बन्ने अधिकार राख्दछन् ।’’
सेमिनारमा स्पेनका पूर्वप्रधानमन्त्री जोसे रोड्रिग्युज जापाटिरो, फ्रान्सका पूर्वप्रधानमन्त्री डोमिनिकी डी भिल्लेपिन र इटालीका पूर्वप्रधानमन्त्री मास्सिमो डी एलिमालगायत उपस्थित थिए । लुला सरकारका विदेशमन्त्री सेल्सो अमोरिमको पहलमा सो सेमिनारको आयोजना गरिएको थियो ।
लुलाको स्मरण गर्दै चोम्स्कीले बीस वर्षअघि आयोजित एक सेमिनारमा भेट्दादेखि नै लुलाबाट आफू प्रभावित रहेको बताए ।
चोम्स्कीले लुला र सेल्सो अमोरिमको नेतृत्वमा हुँदा ब्राजिल संसारकै सबभन्दा सम्मानित देश भएको बताए । उनले लुलाको मजदुर पार्टीलाई अगाडिका चुनौतीलाई कम आङ्कलन नगर्न आग्रह गर्दैै भने, ‘‘तर त्यस्ता चुनौती सामना गर्न साहस कम गर्नुहुन्न ।’’
ब्राजिलका पूर्वराष्ट्रपति लुला हाल जेलमा छन् र उनलाई त्यहाँको अदालतले आगामी चुनावमा उम्मेदवार बन्न निषेध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *