भर्खरै :

निर्मलालाई न्यायको पक्षमा देशव्यापी प्रदर्शन

काठमाडौं, ३० भदौ । झण्डै पचास दिनअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार देशका विभिन्न सहरमा प्रदर्शन भयो । राजधानी काठमाडौंलगायत देशका उन्नाइस जिल्लाका चौबीस स्थानमा निर्मला पन्तलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको थियो ।
काठमाडौंमा भएको विरोध प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भई बानेश्वर पुगेको थियो । सामाजिक सञ्जालको खबरको आधारमा भेला भएका सयौं सर्वसाधारणले सरकारसमक्ष निर्मलाको हत्या अझैसम्म किन पत्ता लागेन भनी प्रश्न गरेका थिए । उनीहरूले देशमा कानुनी शासन कमजोर भएको भन्दै सरकार अपराधीसामु कमजोर भएको बताएका थिए ।
प्रदर्शनमा सहभागी अधिकांश युवा र महिलाहरू थिए । उनीहरूले हातैले लेखेका विभिन्न प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनमा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । मृतक निर्मलाका आमा र बुवा पनि सो प्रदर्शनमा सहभागी बनेका थिए । उनीहरूको उपस्थितिसँगै प्रदर्शनमा सहभागीहरूले सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए । उनीहरूले बलात्कारी तथा जघन्य अपराधका दोषीलाई फासी दिने कानुनी बन्दोबस्तको समेत माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *