हेटौंडा, ३१ भदौ । प्रदेश नं. ३ को प्रदेशसभा नियमावली संशोधन समितिको आइतबार बिहानको लागि तय गरिएको बैठक सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेकांका सदस्यहरूको अनुपस्थितिका कारण हुन सकेन ।
ती दुई वटै दलका सदस्यहरू काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजित एक कार्यक्रममा भाग लिन गएकाले बैठक स्थगित भएको हो ।
बैठकमा गम्भीर आपति जनाउँदै नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले सत्ताधारी दलको लापर्वाही र अकर्मण्यताको कारण जनताले सास्ती बेहोर्नुपरेको तथा प्रदेशसभाले गति पाउन नसकी असफलतातर्फ अगाडि बढिरहेको छ भन्नुभयो । सत्ताधारी दलको आन्तरिक कलह र असक्षमताको कारण प्रदेशसभाले आफ्नो उपस्थिति र औचित्य पुष्टि गर्न नसकेको जनताको गुनासो छ, सांसद गोसाईले भन्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दल गम्भीर बन्नुपर्ने अवस्थामा ध्यान विभाजित हुनु राम्रो सङ्केत होइन ।”
समितिका अध्यक्ष रामेश्वर फुयाँलले कमजोरी भएको स्वीकार्दै भन्नुभयो– “दुई–दुई पटकसम्म समयावाधि थप गरियो । तस्रो पटक म्याद थप्नुपर्ने स्थिति चाहीं ल्याउँदिनँ । उहाँले शीघ्र बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सञ्चालन गर्न अप्ठ्यारा आइपरेको कारण देखाउँदै नियमावली संशोधनको निम्ति समिति गठन गरिएको थियो । समितिमा नेकपा, नकां, नेमकिपा र विवेकशीलका सदस्य छन् भने राप्रपाका आमन्त्रित सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *