भर्खरै :

बहु प्राविधिकमा अभिमुखीकरण

भक्तपुर, ३१ भदौ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा ओभरसियर अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थान सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरु अध्ययनशीलका साथै व्यवहारिक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यार्थीहरुलाई प्राविधिक शिक्षा बेरोजगारी समस्या हटाउने उद्देश्यअनुसार ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन भइरहेको जानकारी दिंंदै उहाँले भन्नुभयो, ‘‘विद्यार्थीहरुले आफूले सिकेको प्राविधिक ज्ञान देश र जनताको सेवामा उपयोग गर्न सकेमात्र संस्था स्थापनाको उद्देश्य पूरा हुनेछ । दक्ष र सक्षम जनशक्ति विदेश पलायन भएसम्म नेपाल अगाडि बढ्न सक्दैन ।’’
ओभरसियर कार्यक्रमका निमित्त इञ्चार्ज राजु भेलेले संस्थाको नियम र अनुशासनलाई ध्यानमा राखी विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका पुस्तकालय प्रमुख राज्यश्वरी खर्बुजाले विद्यार्थीहरुको आवश्यकता र मागअनुसार पुस्तकालयबाट पुस्तक उपलब्ध हुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा इञ्जिनियर रमेश सुवालले स्वागत गर्नुभएको थियो ।
सर्वसाधारण जनताका छोराछोरीहरुलाई कम शुल्कमा गुणस्तरीय प्राविधिक र नर्सिङ सेवा दिने उद्देश्यले भक्तपुर नगरपालिकाले २०५९ सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान स्थापना गरी सञ्चालन गरिरहेको छ । संस्थानमा ओभरसियर र नर्सिङ विषयको कक्षा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *