भर्खरै :

पन्त हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

काठमाडौं, ३१ भदौ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीको संयोजकत्वमा बनाइएको समितिलाई अधिकारसम्पन्न बनाएर प्रहरी नायव महानिरीक्षकलाई संयोजक बनाइएको बताउनुभयो । प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा बनेको समितिले शनिबार मात्र गृह मन्त्रालयले निलम्बन गरेको प्रहरीले अनुसन्धानमा खेलेको भूमिका, अपराधबारे कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले खेलेको भूमिकालगायत बारेमा छानबिन गर्नेछ ।
पन्तको हत्यामा संलग्न दोषीलाई अविलम्ब सार्वजनिक गरी कडा कारबाही गर्न मानवअधिकारवादी, निर्मला पन्तका छिमेकी तथा सांसदहरूले माग गरेका छन् ।
यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँहरूले देशमा महिलामाथिको हिंसा बढ्दै गएकामा चिन्ता प्रकट गर्दै दोषीलाई पत्ता लगाउन नसक्नु गम्भीर भएको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आयोगले तत्कालै धनगढीस्थित क्षेत्रीय कार्यालयलाई परिचालन गरेको तथा निर्मलाका बुबाको सुरक्षाका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई आग्रह गरेको तथा आयोगका प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा काठमाडौंबाट एक टोली त्यहाँ पठाइएको जानकारी दिनुभयो ।
उहाँले विसं २०७४ मा एक हजार ८३ बलात्कार तथा हत्याको घटना प्रहरीमा दर्ता भएको बताउँदै ‘नेपालमा मानवअधिकारको अवस्था खस्केको हँुदा प्रहरीमाथि नै प्रश्न उब्जेको’ विचार राख्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *