भर्खरै :

हाम्रो जीवन खानको लागि बाँच्न होइन, बरु बाँच्नको लागि खान हुनुपर्दछ

काठमाण्डौ, १ असोज । नेपाल क्रान्तिकारी डकर्मी सङ्घको आयोजनामा सोमबार भएको सातौं बृहत् डकर्मी भेलाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले उद्घाटन गर्नुभयो ।
भेलामा बोल्दै अध्यक्ष बिजुक्छेंले डकर्मी मजदुरहरूले कुनै पनि निर्माण कार्य गर्दा सामाजिक भावनाबाट अभिप्रेरित हुनुपर्ने विचार राख्नुभयो । उहाँले डकर्मीले घर निर्माण गर्दा नक्सा पास भए नभएको विचार गरेर र पास भएको नक्साको आधारमा बनाउनुपर्ने बताउनुभयो ।
पैसा कमाउनुलाई नै जीवनको सफलता सम्झन नहुने भनाई राख्दै उहाँले कमाएको पैसा खर्च गर्न नजान्दा कति धनी मानिस विभिन्न दीर्घरोगबाट पीडित भएर बाँच्नुपरेको प्रस· चर्चा गर्नुभयो ।
‘हाम्रो जीवन खानको लागि बाँच्न होइन, बरु बाँच्नको लागि खान हुनुपर्दछ ।’, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेंले आ–आफ्नो भाषा संस्कृति संरक्षण गर्न जनता स्वंय अग्रसर नभएको भए नेपालका धेरै भाषा अस्तित्व गुमाइसक्ने बताउनुभयो ।
‘नेपालका ३२ वटा भाषा लोप भइसकेका छन्, १८ भाषा लोप हुने क्रममा छन् । नेपालका हरेक भाषा नेपाल र नेपाली जनताको सम्पत्ति हो । त्यसकारण आ–आफ्नो ठाउँका स्थानीय भाषाका पुस्तक प्रकाशन गरी विद्यालयमा ती भाषा पढाउन स्थानीय तहले विचार गर्न जरुरी छ ।’, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
डकर्मीहरूले कुनै पनि मठमन्दिर बनाउँदा त्यहाँको पुरानो नामबारे ज्येष्ठ नागरिकसँग सल्लाह गरी त्यहीअनुसारको नाम राख्नुपर्ने विचार राख्नुभयो । कुनै पनि ठाउँको नाम त्यो स्थानको विशेषता र इतिहाससँग जोडिएको हुने हुनाले नाम परिवर्तन गर्न नहुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले हरेक घर नभएका नागरिकलाई घर बनाइदिनु राज्यको दायित्व भएको बताउनुभयो । संसदमा प्रस्तुत विधेयकअनुसार एक पटकलाई दलितलाई जग्गा दिने प्रावधान रहेको चर्चा गर्दै उहाँले दलितलाई मात्र नभई हलिया, कमलरी, कमैया, गरीब जनतालाई पनि जग्गा दिनुपर्ने धारणा राख्नुभयो ।
तराईका कमैया, हलिया अझै पनि मोहियानी हकबाट वञ्चित भएको भन्दै उहाँले शासक दलका नेतामा गरिब कमैया, हलिया र श्रमजीवी जनतालाई जग्गा दिनुपर्छ भन्ने चिन्तन नै नभएको बताउनुभयो ।
उहाँ हरेक नागरिकलाई धुँवा धुलो रहित स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार भएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डकर्मी र ठेकेदार इमान्दार नहुँदा घर, पुल र सडक भत्कने र त्यसबाट जनतालाई दुःख हुने बताउनुभयो । काठमाण्डौ उपत्यकाका सम्पदा पुरानो शैलीमा बनाउने विषयमा उपत्यकाका पाँचै पुराना नगरपालिकाबीच सहमति भएको बताउँदै स्थानीय डकर्मीले आफ्नो स्थानका वास्तु र शिल्प जान्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा नेक्रामजदुरसङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले डकर्मी मजदुरहरूले समयअनुसार नयाँ प्रविधिको ज्ञान पनि हासिल गर्नुपर्ने विचार राख्दै समाजवादी व्यवस्था स्थापनाको सङ्घर्षमा मजदुरहरूकै महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले डकर्मी मजदुरहरू राजनीतिक र वैचारिक रुपमा सचेत र संगठित हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा चिकित्सक समाज नेपालका अध्यक्ष रत्नसुन्दर लासिवा, नेक्रामजदुरसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल, सिकर्मी सङ्घका रामसुन्दर सुवाल, आयोजक समितिका सचिव रमेश दुमरु, कोषाध्यक्ष विश्वनाथ प्रजापति, समस्या समाधान उपसमितिका कृष्णप्रसाद गोसाई, सूर्यनारायण फाँजू, जगतराम न्हिसुतू, विक्रम कासिछ्वालगायतले पनि बोल्नुभएको थियो ।
वृहत् डकर्मी भेला नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *