भर्खरै :

पत्रकारिता, काउन्सिल र परिष्कार

नेपालको पत्रकारिताको विकासबारे नेपाल प्रेस काउन्सिलले पत्रकारहरूको माझमा नेपाली भाषा, अनुवाद र समाचार लेखनमा समेत बरोबर छलफल एवं विचार विमर्श र गोष्ठी वा अन्तरक्रिया गरेको भए नेपाल प्रेस काउन्सिल र पत्रकारहरूको बीचमा सौहार्दता विकास हुने थियो । प्रेस काउन्सिल शासक अनि पत्रिका र पत्रकार शाशितको भावना आउन दिनुको अर्थ पीत पत्रकारिताको निम्ति ढोका खोल्नु हो । व्यावसायिकताले समाजको हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमितता र नकारात्मक परिवेश तथा प्रवृत्ति मौलायो भने त्यो रोग पत्रकारितामा समेत सर्नु स्वाभाविक हो । व्यावसायिकताको अर्थ शुभ–लाभ हो भने आस्थाको पत्रकारिताको अर्थ, सिद्धान्त, नैतिकता र निश्चित उद्देश्यको लम्काई हो, त्यसमा शुभलाभ होइन बरु त्याग, बलिदान र योगदानको भावना खचाखच भरिएको हुन्छ ।
पत्रकारितामा हिजोआज ‘हुबहु’ ‘माहोल’, ‘रौनक’, ‘धज्जी’ ‘हर्कत’ जस्ता विदेशी भाषालाई नेपाली भाषामा प्रवेश दिने सोख र प्रवृत्ति देखा परेको छ । फ्रान्सेली भाषा र फ्रान्सेली जनताको भाषाबारे आफ्नै अनुभव छ । बेलायती भाषा अर्थात् अङ्ग्रेजी भाषा र साहित्यको प्रभावले फ्रान्समा बेलायतको राजनैतिक प्रभाव प्रवलरुपमा देखाप¥यो भने जर्र्मेनियाली भाषाको प्रभावले फ्रान्समा विस्मार्कको हमला भयो । यसकारण नेपाली भाषाको मौलिकता र विदेशी साहित्यको प्रभावलाई सन्तुलनमा राख्नु आवश्यक छ, भावुकताबाट नेपाली भाषा र साहित्यलाई जोगाउन महत्वको विषय हो ।
समाचारपत्रहरूको सम्पादकहरूले आफ्नो पत्रिकामा आएका रचनाहरूका भाषा र अर्थलाई उजिल्याउन र प्रस्ट गर्न कष्ट गर्ने गरेका छन् र त्यस्ता नयाँ लेखकहरूको ‘झमेलामा फस्नु’ भन्दा आफ्नै मौलिक रचना रच्नु सजिलो मान्ने केही नयाँ सम्पादकहरू पनि नभएका होइनन् । नयाँ पुस्तालाई अगाडि बढाउन नचाहने र पछि आफ्नै प्रतिद्वन्द्वी हुने सम्भावना देख्ने व्यक्तिवादी सम्पादकहरू आस्थाका पत्रकारितामा कमै देखिएलान्, तर व्यावसायिक पत्रकारितामा त ‘शुभ–लाभ’ को प्रतिस्पर्धा हुने नै छ ।
अनुवादको क्षेत्रमा पनि यो कुरा लागू हुन्छ । अनुवाद आफै गा¥हो विषय हो भने अझ त्यसमा मेहनत खर्च गर्नु कतिपय सम्पादकले आफ्नो पराजय आफैले स्वीकार्ने सङ्कीर्ण विचार पनि राखेको सुनिन्छ । नयाँ पुस्ताका लागि महत्वपूर्ण पुस्तकलाई नेपाली भाषा साहित्यको भण्डारमा नयाँ कृतिको निम्ति योगदान गर्नुभन्दा पाण्डुलिपी र अनुवाद गर्नुपर्ने पुस्तकलाई हेर्दै नहेरी एक प्रकारले सङ्कीर्ण हुँदै वैचारिकरुपले पनि कर्तव्यबाट विमुख हुने गरेको देखिन्छ । यस अर्थमा आस्थाको पत्रकारितामा पनि व्यक्तिवादी प्रवृत्ति देखा परेमा आस्थाका पत्रकारिताले पनि अन्ततः व्यावसायिक पत्रकारिताको अगाडि आत्म–समर्पण गरेको साबित हुनेछ ।
साँच्चै भनौँ भने प्रेस काउन्सिल शासकहरूको दलगत प्रभावबाट निर्लिप्त हुनुपर्ने हो किनभने देशका अन्य प्राज्ञिक क्षेत्रहरू जस्तै प्रज्ञा प्रतिष्ठान, साझा पुस्तक भण्डार, विश्वविद्यालय आदि पनि शासक दलहरूको भागबण्डाको सिकार भएका छन् । प्रेस स्वतन्त्रताको अर्थ शासक दलको उद्देश्यअनुसार कलम चलाउने बन्दोबस्त होइन, शासक दलका नेताहरूको ताबेदारी र ज्यू–हजूरी होइन, बरु सरकारी नीतिको सैद्धान्तिक एवं व्यावहारिकरुपले विरोध, समर्थन वा सल्लाह सुझाव दिने र परिमार्जनको निम्ति घच्घच्याउनु हो । पत्रकारिता पनि प्राज्ञिक क्षेत्र भएको हुँदा प्रेस काउन्सिललाई प्रहरीको रुपमा उभ्याउनु र अनेक कारण देखाएर पत्रिकाको स्तरलाई मूल्याङ्कनको रुपमा पक्षपात वा दरबन्दी आँखाले हेर्नु हुन्न बरु बरोबर अन्तरक्रिया आयोजना गरेर पत्रकारिताको स्तरलाई उँचो उठाउने र व्यापकता दिने साझा उद्देश्यलाई अगाडि बढाउनु समयको मागको रुपमा लिनु समीचीन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *