भर्खरै :

सङ्घर्षशील जनताले जयराम बासुकलालाई सम्झिरहनेछन्

जमिला
‘आँखामा राख्दा पनि नबिझाउने मान्छे’, आज पनि का. जयराम बासुकलालाई नजिकबाट चिन्ने र देख्नेहरूले यसरी नै सम्झन्छन् । उहाँको सरलता र गम्भीरता नै उहाँको व्यक्तित्व थियो । जनस्तरमा पुगी जनताको समस्या समाधान गर्नु, जनताको सेवा गर्नु उहाँको परिचय थियो । अत्यन्त शिष्ट बोली र भद्र व्यवहारले उहाँ जनताबीच प्रिय बन्नुभयो । आफ्नो पद र कामप्रति घमण्डको लेस पनि नहुनुले नै उहाँलाई एउटा उचाइमा पु¥यायो । जति बाँच्नुभयो, पार्टीको अथक कार्यकर्ता तथा जनसेवक भई बाँच्नुभयो । पार्टीप्रतिको इमानदारिता, बफादारिता र समर्पणले उहाँलाई एक सच्चा कार्यकर्ता बनायो । पार्टीको अनुशासनमा बसेर अथकरुपमा ताथलीको मुहार फेर्न हिँड्नुभयो, समाज परिवर्तनको संघर्षमा होमिनुभयो । प्रतिक्रियावादीभन्दा पनि प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर देश र जनताको निम्ति सेवा गर्ने नेमकिपाको दृष्टिकोणअनुरुप गाउँ पञ्चायत र गाविसको पटक –पटक नेतृत्व गर्नुभयो । पार्टीको विचार र सिद्धान्तको रातो झण्डा फहराउनुभयो । उहाँको जीवन नयाँ पुस्ताको निम्तिसमेत अनुकरणीय छ ।
जयराम बासुकलालाई नयाँ पुस्तासँग परिचित गराउन बेलामौकामा थुप्रै संस्मरणात्मक लेखहरू प्रकाशित भइसकेकाछन् । उहाँको स्मरणमा प्रकाशित स्मारिकाले उहाँको जीवन र योगदानको चर्चा गर्छ । ‘सम्झनामा का.जयराम’ मा उहाँसँग जोडिएका घटना–परिघटना, जीवनशैली, कार्यशैली र सङ्घर्षका श्रृङ्खलाहरूको शब्दचित्र कोरिएको छ ।
कर्तव्यनिष्ठ, लगनशील, निःस्वार्थी र कहिल्यै नथाक्ने असल कार्यकर्ता बासुकलाको निधन ५३ वर्षको अल्पायुमै हुँदा पक्कै पार्टीले क्षति व्यहोर्नुप¥यो । वर्गसङ्घर्ष सहज नभएको त्यो समयमा पनि वर्गीय चेतना छर्न उहाँ विभिन्न जातजाति, दलित समुदायबीच पुग्नुहुन्थ्यो । शत्रुकै अखडाभित्र गएर विचार पु¥याउन प्रयत्न गर्नुहुन्थ्यो र विकास पु¥याउनुहुन्थ्यो । ताथलीका जनताले असाध्यै माया गरेका र श्रद्धा गरेका एक सच्चा कार्यकर्ता हुनुहुन्थ्यो जयराम बासुकला । पुस्तकले अहंकारको छायासमेत नभएको उहाँको जीवन विशेषताको चर्चा गरेको छ ।
विसं २०२२ देखि पार्टीको सम्पर्कमा आई २०३१ बाट सक्रिय बन्नुभएका एकजना जुझारु राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो उहाँ । असल कार्यकर्ता जयरामको स्मरण गर्नुहुँदै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) भन्नुहुन्छ– ‘‘का. जयराम बासुकला पदको निम्ति कहिल्यै लालायित देखिनँ र गाउँको नेतृत्व पदमा बस्दा कहिल्यै आफ्नो र आफ्नो परिवारको बारेमा कुरा गरेको पनि थाहा छैन ।’’
ताथलीको विकास निर्माणका सम्बाहक नै हुनुहुन्थ्यो बासुकला । विद्यालय स्थापना गरी ताथलीमा शिक्षाको जग बसाल्नुभएका उहाँ भक्तपुरको शैक्षिक आन्दोलनका एक अभियन्ताका रुपमा पनि रहनुभएको नेमकिपाका सचिव प्रेम सुवालले पुस्तकमा चर्चा गर्नुभएको छ ।
उहाँ बाटोघाटो निर्माण, खानेपानी, भूमिगत नहर, विद्युत, टेलिफोन, आलुखेती, कृषि विकासलगायतका विकास निर्माणका कार्यमा डटेर लाग्नुहुँदाको जीवन परिच्छेदहरू पुस्तकमा भेटिन्छन् । उहाँको विषयमा वरिष्ठ पत्रकार भैरब रिसाल बोल्नुहुन्छ– ‘‘उनी बिजुलीमा जन्मेका हैनन्, अँध्यारोमा जन्मेका व्यक्ति । बिजुलीको उज्यालोमा जन्मने अर्कै हुन्छ । अँध्यारोमा जन्मेको मान्छेले उज्यालो फैलाउनु भनेको ठूलो कुरो हो ।’’
भौतिक विकास निर्माणसँगै निःस्वार्थरुपले जनताको सेवा गर्नुपर्छ भन्ने भावनाको विकासमा जोड दिनुहुँदै का.रोहित भन्नुहुन्छ– ‘‘राजनैतिक कार्यकर्ताहरूले विकास निर्माणको कार्य सँगसँगै जनताको सैद्धान्तिक र राजनीतिक स्तरलाई पनि विकास गर्नेबारे ध्यान पु¥याउनु आवश्यक छ ।’’ का. रोहितले उहाँबाट सिक्नुपर्ने गुणहरूको चर्चासँगै उहाँले गर्न नभ्याउनुभएका थुप्रै कामहरूको स्मरण गराउनुभएको छ ।
उहाँको जेलजीवनका आयामहरू पनि पुस्तकमा प्रस्तुत छन् । २०४५ सालको भक्तपुर काण्डको षड्यन्त्रमा १५ महिना जेलमा पर्नुभयो । जेल जीवनको अनुभवबाट उहाँ झन् खारिनुभयो ।
नेक्राविसङ्घका पूर्व अध्यक्ष निरज लवजू भन्नुहुन्छ – “ जयराम ठीक थिए, तर अब समय बदलियो’ यस्तै आशयका कुरा गर्नेहरूले जयरामको अवमूल्यन गर्न खोजिरहेको लाग्छ । मलाई लाग्छ इमानदारी र सिद्धान्तनिष्ठताको समय कहिल्यै बदलिँदैन । आज भौतिक नापतौलमा केही भारी देखिएको तराजुलाई देखेर इमानदारीको बद्ख्याँई गर्न हिँडेका मानिसमा इमानदार जीवन बाँच्नुको मूल्यबोध छैन । आफ्नो स्वार्थमाथि निमेष पनि धक्का लागेपछि ‘जयराम त ठीक थिए’ भन्दै किनारा लाग्नेहरूले जयरामलाई व्यक्तिका रुपमा मात्र बुझे, सिद्धान्त र विचारको रुपमा बुझ्न सकेनन् ।”
जीवनको कुनै न कुनै कालखण्डमा का.जयराम बासुकलासँग सहकार्य गरेका जो कोहिले उहाँको विचार र सौम्य व्यवहारबाट सिक्नुपर्ने अनुभव गर्छन् । यस पुस्तकले पनि उहाँका मननीय विचारहरू, योगदानहरूसँग नयाँ पुस्तालाई परिचित बनाएको छ । जस्तै समस्यामा पनि विचलित नहुने, समाज र जनताको लागि आँधीहुरीसँग पनि जुझ्न तयार रहनुपर्ने सन्देश उहाँको जीवनबाट
मिल्छ । समाजको निम्ति सिन्को नभाँच्नेहरू पानीको फोकाझैं विलीन हुन्छन् तर समाजको निम्ति पसिना बगाउने, अन्यायविरुद्ध लड्ने जनसेवकहरूलाई इतिहासले सदा याद गर्नेछ । जयराम बासुकला जनताको इतिहासले स्मरण गर्ने एक उदाहरणीय नाम हो । संघर्षशील जनताले जयराम बासुकलाको सम्झना गर्नेछन् ।
पुस्तकमा २४ वटा संस्मरणात्मक लेख छन् । दुई कविता र केही अन्य लेख पुस्तकमा समावेश गरिएको छ । जयराम स्मृति अक्षय कोष समितिद्वारा प्रकाशित यस पुस्तक पठनीय र संग्रहणीय छ । पुस्तकको गाता र अन्य तस्बिरहरूले उहाँलाई थप चिन्न र बुझ्न सजिलो बनाउँछ । आगामी प्रकाशनमा यस पुस्तकमा भएका कमीकमजोरीहरू हट्ने विश्वास गर्न सकिन्छ । यस महत्वपूर्ण पुस्तकका निम्ति प्रकाशकप्रति साधुवाद, जयराम बासुकलाप्रति हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *