भर्खरै :

‘के मुख्यमन्त्रीहरूले सङ्घीय सरकारविरुद्ध विद्रोह गरेका हुन् ?’

हेटौंडा, २ असोज । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सभासद् सुरेन्द्रराज गोसाईले देशका सातै प्रदेशका मुख्यमन्त्रीहरूले पर्याप्त अधिकार नपाएको भनी सङ्घीय सरकारसमक्ष गुनासो गरेर के मुख्यमन्त्रीहरूले सङ्घीय सरकारविरुद्ध विद्रोह गरेका हुन् भनी प्रश्न उठाउनुभएको छ । मङ्गलबार प्रदेश नं ३ को प्रदेशसभामा बोल्दै उहाँले हिजो संविधान निर्माणको बखत चुप लागेर बस्ने अनि अहिले सम्पूर्ण अधिकार प्रदेशलाई चाहियो भनेर गुनासो गर्नुको कुनै तुक नभएको बताउनुभयो ।
प्रदेशसभामा सदस्य गोसाईले भन्नुभयो, ‘‘नेपाल सरकारको निसान छापबारे विवाद चुलिएको छ र प्रयोगमा ल्याइरहेको नेपालको नक्सा र निसान छाप गलत भएको जानकारहरू बताउँदै छन् । नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइएको विज्ञहरू बताउँछन् । निसान छापको नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नै गायब पारिएकोबारे व्यापक विरोध भइरहेको छ ।
नेपालको नापी नक्सामै नेपाली भू–भाग कालापानीमा भारतीय सेनाको व्यारेक राखिएको झण्डै साठी वर्ष भइसकेको छ । हामी त्यसको निरन्तर विरोधमा छौं । आज आएर कालापानी, लिपुलेक आदि क्षेत्र नै भारतलाई सुम्पन खोजिनु या गाभ्ने बाटो खोलिदिनु देशद्रोही काम हो । भारतीय विस्तारवादलाई रिझाएर सत्तामा टाँसिबस्ने सत्ताधारीहरूको परम्परागत रोगको हामी कडा शब्दमा विरोध गर्छौं र देशको सार्वभौमिकता तथा जनताको स्वाभिमानसँग सम्बन्धित विषयमा संवेदनशील भई उच्च सतर्कता अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं ।’’
उहाँले सत्तासीन दलका नेताहरूबाटै सरकारलाई अकर्मण्य घोषणा गर्नु, संविधान घोषणाको तीन वर्ष बितिसक्दा पनि सङ्क्रमणकाल जारी रहेको भनी पटक्कै अप्ठ्यारो नमानी भन्नु लज्जाको विषय भएको बताउनुभयो ।
मङ्गलबार नै प्रदेश सभामा बोल्दै नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना साँय्जूले कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना भएको झण्डै दुई महिना बितिसक्दा पनि आजसम्म सरकारले दोषी पत्ता लगाउन नसकेकोप्रति खेद प्रकट गर्नुभयो ।
‘‘प्रहरीबाटै प्रमाण नष्ट गरी दोषी उम्काउने काम भइराखेको व्यापक चर्चा छ । सरकार निरीह भई बस्छ । अपराधी पत्ता लगाई कारबाही गर्न माग गर्दै सडकमा उत्रेका जनतामाथि उल्टै सरकार गोली प्रहार गर्छ । निर्दोष जनता मारिन्छन्, घाइते बनाइन्छन् । के यही हो प्रजातन्त्र र गणतन्त्रको सामाजिक न्याय र सुरक्षा ? के यही हो सरकारको जनउत्तरदायित्व ?’, उहाँले भन्नुभयो ।
प्रदेशसभा सदस्य साँय्जूले कञ्चनपुर घटनामा निष्पक्ष छानबिन नहुँदासम्म र वास्तविक अपराधी पत्ता लगाई कारबाही नहुञ्जेल वर्तमान सरकारलाई जनताले विश्वास गर्न नसक्ने बताउनुभयो ।
निर्मला पन्तको हत्याकाण्ड प्रतिनिधिमूलक घटनामात्र भएको चर्चा गर्दै उहाँले हरेक दिन जस्तो कयौं निर्मलाहरूले दुःखद् स्थिति भोग्न बाध्य भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *