भर्खरै :

जन्मको आधारमा नागरिकताले सार्वभौमिकतामा खतरा

भक्तपुर, ३ असोज । वागीश्वरी कलेज तथा माविको आयोजनामा संविधान दिवसको उपलक्ष्यमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले विदेशमा स्थायी बसोबास गरी बसेका नेपाली र जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने कानुनले देशको सार्वभौमिकतामा खतरा हुने सङ्केत गर्नुभयो ।
सङ्घीय संसदमा दुईतिहाइ मत पाएको वर्तमान नेकपाको सरकारले संविधानतः समाजवादी ऐनकानुन निर्माण गरी देशलाई समाजवादउन्मुख दिशातिर अगाडि बढाउनुपर्नेमा त्यसको विपरीत विभिन्न विकास निर्माणका कार्यहरू विदेशी कम्पनीलाई सुम्पिनु, निजी विश्वविद्यालयलाई स्वीकृति प्रदान गर्नुले नक्कली कम्युनिष्ट भएको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘‘नेकपाका नेतृत्व चीन भ्रमण गर्नुपूर्व भारतको भ्रमण गर्नु भारतीय दलालीको शिलशिला हो ।’’
भक्तपुर नगरपालिकाले यो आर्थिक वर्षमा हाल दुर्लभ मानिएका विषयहरू भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति पढ्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने साथै एमडी गरेका डाक्टरहरूको अभावलाई पूर्ति गर्नका लागि ५ वर्ष ख्वप अस्पतालमा काम गर्नुपर्ने शर्तसहित एमडी पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी उहाँले दिनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष एवं विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले संविधानतः आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनिए तापनि राज्यले शिक्षामा बजेट घटाउँदै लग्नुले सिद्धान्त र व्यवहार बेमेल भएको बताउनुभयो ।
देश कोल्टे फेर्न लागिएको वर्तमान समयमा परिवर्तनका संवाहक मानिने शिक्षक शिक्षिकाहरूले देशको राजनीतिक परिवर्तनबारे सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।
विद्यालयका कानुन शिक्षकहरू पुरुषोत्तम ग्वाछा र विकल प्रजापतिले देशमा लागू भएको नयाँ कानुनबारे जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *