यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुरेन्द्रराज गोसाई
काठमाडौंमा हालैमात्र सम्पन्न प्रदेश मुख्यमन्त्रीहरूको सम्मेलन चर्चाको विषय बन्यो । प्रदेश मुख्यमन्त्रीहरूले पर्याप्त अधिकार नपाएको र सरकारबाट आवश्यक सहयोग नमिलेको गुनासो गरेको सुनियो । जनता सोध्दै छन्– के मुख्यमन्त्रीहरू केन्द्रीय सरकारविरुद्ध उत्रेका हुन् या आफ्नै पार्टीविरुद्ध विद्रोह गर्दै छन् ? हिजो संविधान निर्माण गर्ने क्रममा तिनीहरू के हेरिबसेका थिए ? के सम्पूर्ण अधिकार प्रदेशलाई चाहियो भन्न खोजिएको हो ? अधिकार चाहियो भन्नुको अर्थ के जमिन जोत्नेलाई दिने अधिकार मागिएको हो ? प्रदेशमा भएका सम्पूर्ण कलकारखाना राज्यको स्वामित्वमा ल्याउनुप¥यो भनिएको हो ? ख्वप विश्वविद्यालय स्वीकृत गर्ने अधिकार खोजिएको हो ? अथवा हरेक प्रदेश संयुक्त राष्ट्रसङ्घको सदस्य बन्ने स्वतन्त्रता खोजिएको हो ? सचेत जनता भनिरहेका छन् – थप अधिकार माग्नेहरूले दिइएका या भएका अधिकारको सदुपयोग कति गरे, काम के कति भए ?
अधिकार केन्द्रमा माग्न जाने कि प्रदेशसभालाई प्रभावशाली तथा बलियो बनाई अधिकार स्थापित गर्ने ? मुख्यमन्त्रीहरूमा हिजोका अञ्चलाधीशहरूकै मानसिकता पलाउनुमा पृष्ठमूमि दोषी कि प्रवृत्ति ?
नेपाल सरकारको निसान छापबारे विवाद चुलिएको छ र प्रयोगमा ल्याइरहेको नेपालको नक्सा र निसान छाप गलत भएको जानकारहरू बताउँदै छन् । नेपालको आकार ३१० वर्ग किमि खुम्च्याइएको विज्ञहरू बताउँछन् । निसान छापको नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नै गायव पारिएको बारे व्यापक विरोध भइरहेको छ । नेपालको नापी नक्सामै नेपाली भू–भाग कालापानीमा भारतीय सेनाको ब्यारेक राखिएको झण्डै साठी वर्ष भइसकेको छ । हामी त्यसको निरन्तर विरोधमा छौँ । आज आएर कालापानी, लिपुलेक आदि क्षेत्र नै भारतलाई सुम्पन खोजिनु या गाभ्ने बाटो खोलिदिनु देशद्रोही काम हो । भारतीय विस्तारवादलाई रिझाएर सत्तामा टाँसिबस्ने सत्ताधारीहरूको परम्परागत रोगको हामी कडा शब्दमा विरोध गर्छौं र देशको सार्वभौमिकता तथा जनताको स्वाभिमानसँग सम्बन्धित विषयमा संवेदनशील भई उच्च सतर्कता अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौँ । नेपालको नापी विभागले तयार पारेका आधिकारिक नक्सा प्रचार नगर्ने, प्रयोग नगर्ने तर भारतीय विस्तारवादद्वारा नियोजितरुपमा प्रकाशित नेपालको नक्कली नक्सा बिक्री एवं वितरण गर्न लगाउने, प्रयोग गर्न लगाउने देशद्रोही धोखेबाज पत्ता लगाई ती देशघातीहरूमाथि कडा कारबाही होस् भनी माग गर्दछु । यथाशीघ्र नेपालको सक्कली नक्सा व्यापक प्रयोगमा ल्याउन र सर्वसुलभ बनाउन माग गर्दछु ।
आज हामी कस्तो सङ्घीयताको अभ्यास गर्दै छौं ? कस्तो प्रदेश बनाउँदै छौं ? कसरी प्रदेश सञ्चालन गर्दै छौं ? मुख्यमन्त्री आपैm केन्द्रमा सहयोग नपाएको भन्दै गुनासो र आक्रोश पोख्न गइरहन्छन् । सत्ताधारी दलका नेता स्वयम् सरकार अकर्मण्य घोषणा गर्छ, संविधान घोषणाको तीन वर्ष बितिरहँदा पनि सङ्क्रमणकाल जारी रहेको पटक्कै अप्ठ्यारो नमानी गर्वका साथ घोषणा गर्छ, बनेको कानुन लागू हुँदैन, आफ्नै नाउँ र ठाउँ टुङ्गो लगाउन स्वतन्त्र छैन या सक्दैन, कर्मचारीतन्त्र प्रदेशलाई ‘अपहेलना केन्द्र’ ठान्छ, केही टिप्पणीकारहरू प्रदेशलाई ‘दाइ जिविस (जिसस)’ भन्दै छन् । ‘मङ्गले आफ्नै ढङ्गले । भन्ने उखान आज प्रदेशको सन्दर्भमा चरितार्थ भइरहेको छ । दुई–तिहाइको मातले होस् गुमाइरहेको शासक दलले तारिफमा फसेर भुँडी फुटेको भ्यागुतो र तारिफमै फसेर मुखमा रोटी राखी गीत गाउन खोज्ने कागको दुर्गति भोग्न नपरोस् । सङ्घीयताको त्यो रोटी खोसिएमा त्यसको जिम्मेवार शासक दल, मन्त्रीहरूमात्र होइन शासक दलका सांसदहरू पनि हुनेछन् ।
रामचन्द्रका गुरु वशिष्ठले रामचन्द्रलाई वनवास पठाउने निर्णय हुँदा चुप लागिबस्ने ऋषिहरूलाई सोधेका थिए – ‘‘त्यो मुख के खीर खाने बेलामात्र खोल्ने हो ?’’ आशा छ, हाम्रो शासक दलका सांसदहरू ती ऋषिहरू होइनन् जो खीर खाने बेलामात्र मुख खोल्छन् ।
(असोज २ गते सम्पन्न प्रदेश नं. ३ को प्रदेशसभाको बैठकमा सांसद सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार–सं.)
Leave a Reply