भर्खरै :

मर्दैन सत्य

युसुप दुवाल
मेरो गुरु भन्नुहुन्थ्यो
म सानो हुँदामा
राम्रोसँग पढ्नू
राम्रोसँग लेख्नू
ज्ञानी गुणी जानी
ठूलो मान्छे बन्नू ।
जब,
म चौध–पन्ध्र पुगेँ
मेरो दाइ भन्नुहुन्थ्यो
इमानदार हुनु
असल मान्छे बन्नू
धनी, गरिब छुट्याउनू
शोषित–पीडितको सेवा गर्नू
यो नै मानव धर्म हो
यो नै तिम्रो कर्म हो ।
आजबाट,
तिम्रो नाम इमानदारिता,
तिम्रो काम इमानदारिता,
शैक्षिक प्रमाणपत्र इमानदारिता,
नैतिक प्रमाणपत्र इमानदारिता,
चारित्रिक प्रमाणपत्र इमानदारिता ।
जो, जसले, सबैले
चाहेको बेला पढ्न सकून् ।
यो तिम्रो अमूल्य उपनाम
खुला किताबको पाना हो
पारदर्शिताको द्योतक हो
सत्य, तथ्य निर्भिकता
इमानदारिता तिम्रो पर्याय हो ।
म प्रफुल्ल मुद्रामा
इमानदारिताको पगरी
शिरोधार्य गर्दै
म अविरल बगिरहेँ
इन्द्रावतीसरि निर्मल
दायाँ–बायाँ बगर
साक्षी छ किनारा
अविच्छिन्न जोडिरहेँ
एक तमासले
बेपर्वाह सुरमा
विशाल समुद्र छुन
बग्रेल्ती बग्रेठाबग्रेठी पन्छाउँदै
उत्सर्ग अठोटका साथ
इमानदारी पथमा ।
तर,
समय सधैं एकनास नहुँदो रै’ छ
समयले कोल्टे फेरिएको छ
मायावी हेराइहरूको मोहमा
दृष्टिकोण बदलिएको छ
अनुकूलतामा चलायमान छ
वास्तविक धरातलबाट
टाढा उभिएर
धरातलीय जोखना जोख्छन् ।
सर्पले काँचुली फेरिए जस्तै
छेपारोले र· बदलिए जस्तै
मान्छेले पहिचान भुलेको छ ।
आजकल सोध्छन्
इमानदारिताको खिल्ली उदाउँदै
इमानदारिता कुन जन्तुको नाम हो !
इमानदारिता तरवारको धारमा झुण्डिएको
पाखण्डीको उपमा जस्तै उपहास भएको छ
समयसँगै बदलिन नखोज्दा
नौटड्ढी शब्दजालको दुश्चक्रबाट
छेउको कुनामा जकडिएको छ ।
त्यसैले,
आज मसँग
दाइ पनि छैन
भाइ पनि छैन
मेरो कुनै गुनासो छैन
मसँग
योग्यताको जन्त्र छैन
धनमानको अस्त्र छैन
बेमौसमी बाजा बजाएर
आँगनमा नाच्न इमानदारिताले दिएन ।
डा. नर्मन बेथुनको सत्य वचन–
“मार या नमार त्यो सत्यलाई व्यर्थै,
जागी उठ्नेछ त्यो फेरि उस्तै ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *