भर्खरै :

इतिहासले बिर्सेका क्रान्तिकारी योगमाया

योगेन्द्रमान बिजुक्छें
‘धर्म सम्झी विचार गरी इन्साफ गरेन
पैसा भए बरेहालाई दण्ड परेन ।’
योगवाणी
विगत १० वर्षदेखि विश्व च्याम्पियन रहेका सेरेना विलियम्स् हालै संयुक्त राज्य अमेरिकामा सम्पन्न खुला महिला टेनिस प्रतियोगिताको फाइनल खेलमा जापानी खेलाडी नाओमीसँग पराजित भइन् । सेरेनाले खेल चलिरहेकै बेला नियम उल्लङ्घन गरेको भनी अम्पायरले उनलाई सजायको रुपमा उनको प्वाइन्ट काटेको कारणले पराजित हुनु परेको भन्दै उनले अम्पायरलाई ‘चोर’ ‘फटाहा’ भनी गाली गरिन् । पछि उनले आफू महिला भएकोले पुरुष अम्पायरबाट दण्डित हुनु परेको र यदि आफ्नो ठाउँमा कोही पुरुष खेलाडी भएको भए उनले यस्तो सजाय भोग्न नपर्ने आरोप लगाइन् । तत्पश्चात् सेरेनाको भनाइलाई धेरै अमेरिकी महिलाहरूले सहमतिसमेत जनाएको मिडियामा आए । एक्काइसौं शताब्दीको तेस्रो दसकमा पाइला हाल्न लागेको यस समयमा पनि अमेरिकाजस्तो महिला र पुरुषमा भेदभाव नभएको, सभ्य मानिएको देशमा समेत महिलामाथि हुने विभेद जिउँदै रहेको तथ्य बाहिर आयो । यस घटनाको आधारमा सांस्कृतिक चेतना तल्लोस्तरमा रहेका देशहरूमा महिलामाथिका विभेदहरू कस्तो होला भनी अनुमान लगाउन गा¥हो छैन ।
संसारमा सायदै यस्तो देश होला जहाँ महिलाहरूले आफ्नो हक, अधिकार, स्वतन्त्रता, समानता र सम्मानको लागि सङ्घर्ष गर्न नपरेको होस् । साउदी अरबका महिलाहरूले भर्खरै केही महिना अगाडि सवारी साधन चलाउने अधिकार पाए । जबकि आजभन्दा एक सय दश वर्ष पहिल्यै व्यावसायिक आधुनिक कारको उत्पादन भई संसारका धेरै देशका सडकहरूमा गुडिसकेका थिए । सन् १७८९ मा सम्पन्न विश्व प्रसिद्ध फ्रान्सेली राज्य क्रान्तिको सफलतापश्चात् गरिएको स्वतन्त्रताको घोषणापत्रमा उल्लेखित ‘‘Rights of Man’’ अथवा ‘मानिसको अधिकार …’ भन्ने त्यस पदावलीको ‘मानिस’ शब्दले आइमाई र बाल बच्चालाई जनाउँदैनथ्यो । त्यसले १८ वर्ष पुगिसकेको पुरुषलाई मात्र इङ्गित गर्दथ्यो । कति सङ्कीर्ण थियो त्यतिबेलाको पुरुषको मानसिकता र त्यस शब्दको परिधि ।
अरु देशको त कुरै छोडांै, प्रजातन्त्रको जननी मानिने बेलायतमा १८ वर्ष पुगेका महिलाहरूलाई निर्वाचनमा मत हाल्न पाउने अधिकार दिइएको मात्र ५० वर्ष भयो ।
नेपालमा महिलाहरूको सामाजिक र आर्थिक हैसियतको कुरा गर्दा एकाध उच्च र कुलीन परिवारका महिलाहरूबाहेक अधिकांशको अवस्था दयनीय नै छ भन्दा अतिसयोक्ति नहोला । हिजोआज महिलामाथि भइरहेको घरेलु हिंसा, बालिका बलात्कार अनि हत्यासम्मका जघन्य अपराधको अटुट सृङ्खलाले कहालिलाग्दो दृश्य देखाइरहेको छ । हामी सहजै अनुमान लगाउन सक्छौंं, आजभन्दा करिब एक सय पचास वर्ष अगाडि नेपालमा महिलाको सामाजिक र आर्थिक अवस्था कस्तो थियो होला । २०७४ सालको मदन पुरस्कारबाट पुरस्कृत कृति ‘योगमाया’ ले हामी पाठकलाई राणाकालीन पूर्वी नेपालको पहाडी समाजको चित्र पस्केको छ । बाल विवाहलाई सामान्य रुपमा लिइने समाज, विधवा र नारी जातलाई तल्लो दर्जाको रुपमा व्यवहार गर्ने समय, धर्मको नाममा निर्दाेष महिलालाई जवरजस्ती सती पठाउने समय, दलितलाई पशुसरह व्यवहार गर्ने अवस्था, छुवाछूत प्रथा तथा जातभातलाई प्राथमिकता दिने समाज, मानवलाई बेचबिखनसम्म गर्ने दासप्रथा जीवित अवस्था, बाहुन जातले मात्र वेद पढ्न पाउने र शिक्षा लिन पाउने समय तथा साहूले निमुखासँग चर्को ब्याज उठाउने सामन्ती परम्पराले जर्जर समाज थियो त्यो । समाजलाई यथास्थितिमा राखेर निमुखा जनतालाई शोषण गर्न पल्केका रुढिवादी चिन्तनले ग्रस्त सामन्तीहरूसँग एक्लो नारी योगमायाले सय वर्षभन्दा अगाडि गरेको निर्भिक साहसिक सत्यकथा हो ‘योगमाया’ ।
पुस्तकमा प्रस्तुत योगमायाका जीवनका घटनालाई मनन गर्दा उनी भारतका सन्त परम्परा र आर्य समाजबाट निकै प्रभावित देखिन्छन् । कुनै औपचारिक शिक्षा नपाएका भए पनि योगमाया आसामको सत्सङ्गत र तात्कालीन समाजको रुढसँग विद्रोह गर्ने स्वभावले उनमा विस्तारै परिपक्व र यथास्थितिको विरोधमा असहाय, दुःखी र पीडितका पक्षमा काम गर्नु नै साँचो धर्म हो भने भावना पलाएको देखिन्छ । सत्सङ्गतले नै उनमा सांसारिक जीवनप्रति मोह भ· भई समाजको लागि त्यो पनि आफू जन्मे हुर्केको थातथलोमा गएर सेवा गर्नुपर्छ भन्ने भावनाले उनी सिम्ले भोजपुर फर्की आफ्नो माइतीमा भाइ र बुहारीको आश्रय लिन्छिन् । योगमायाको नयाँ विचार र गाउँघरका ठालू सामन्तहरूका पुरातन सोचको विरोधमा निर्भिक शास्त्रार्थले उनका अनुयायीको सङ्ख्या विस्तारै बढ्दै जान्छ र गाउघरका दुःखी, असहाय, पीडितहरूका उनी आशाका केन्द्र बन्न पुग्छिन् । भगवानको भक्तिभाव र भजनकिर्तनका साथै समाजको कुरीति र विसङ्गतिलाई चित्रण गरी दुई वा चार पङ्क्तिको वाणीको रचना र त्यसको उच्चारणले भक्त र सहयोगीहरूलाई मन्त्रमुग्ध पार्थिन् ।
आश्रममा भक्तहरूको भीड र उनीप्रतिको आस्था बढ्दै जाँदा यसलाई अझ व्यवस्थित गर्न वेद र पुराणको प्रवचनमा सिपालु आफ्नी बुहारीका भाइ पण्डित प्रेमनारायणलाई आसामबाट झिकाई आफ्नो अभियानमा सामेल गराएको तथ्यले उनी एक कुशल सङ्गठनकर्ता पनि हुन् भनी प्रमाणित हुन्छ । समाजमा विद्यमान सबैखाले भेदभाव, कुरीति र धर्मको नाममा शोषण अन्त्य हुने शोषणरहित एक आदर्श समाजको परिकल्पना थियो योगमायाको । योगमायाले यस आदर्श समाजलाई ‘धर्मराज्य’ को संज्ञा दिएकी थिइन् । आफ्नो आश्रमको पहलले मात्र धर्मराज्य स्थापना सम्भव नहुने देखेर उनी राणा शासकमार्फत कानुन नै बनाउन दबाब दिने अभियानमा निरन्तर लागिरहिन् । उनका विरोधी यथास्थितिवादीहरूले उनको इहलीला नै समाप्त पार्ने पटक–पटक प्रयास गरे पनि योगमाया आफ्नो अभियानमा अडिग रहनुले उनी साँच्चिकै क्रान्तिकारी सामाजिक अभियन्ता हुन् भनी पुष्टि हुन्छ । आफ्नो लक्ष्यमा अडिग रहनु र धर्मराज्य प्राप्तिको लागि अन्य दुःखकष्टमात्र होइन, बरु आफ्ना सयौं अनुयायीलाई उनीसँगै आफ्नो प्राणको आहुति दिन दुई पटकसम्म तयार गर्नसक्नुले योगमाया एक त्यागी, तपस्वी र सत्यको प्रतिमूर्ति पनि हुन् भन्दा अतिसयोक्ति नहोला ।
आख्यानै भए पनि पुस्तकले योगमायासम्बन्धी उजागर गरेका नयाँ तथ्यहरूले इतिहासकार तथा सत्ताधारीहरूसामु केही अहम् प्रश्नहरू तेस्र्याइदिएको छ । निरङ्कुश राणा शासकका विरोधमा उभिएका व्यक्ति, सहिद र सङ्गठनहरूका बारेमा हाम्रो इतिहासमा धेरै चर्चा र व्याख्या छन् तर ती चर्चामा योगमाया किन अटाइनन् ? के उनी एक नारी भएकाले ? वा उनी विद्रोही भएकाले ?
यो कृति कल्पनाशीलताको उपजमात्र होइन बरु स्थलगत अनुसन्धानमा आधारित अनुसन्धानात्मक कृति पनि हो । दुई तीन दसक पहिलेसम्म यदाकदा मिथक पात्रको रुपमा चित्रित योगमाया आज नेपालको इतिहास र साहित्यिक क्षेत्रमा वास्तविकता भइसकेको छ । योगमायाको बारेमा केही खोज र अनुसन्धान गरी कृति प्रकाशित गर्ने नेपालीहरूको पङ्क्तिमा डा.मातृका तिमिल्सिना, पत्रकार लेखनाथ भण्डारी तथा लेखक उत्तमप्रसाद पन्त अग्रपङ्क्तिमा देखिन्छन् भने स्थलगत अध्ययन गर्ने विदेशी शोधकर्तामा अरबी मूलकी अमेरिकी मानवशास्त्री बारबरा निम्री अजिज तथा बेलायती प्राच्यविद् विद्वान माइकल हट देखिन्छन् । उहाँहरूले योगमायाको बारेमा गरेको अध्ययन अनुसन्धामा टेकेरै उपन्यासका लेखिका नीलम कार्की निहारिकाले थप अनुसन्धान गरी पुस्तक तयार पारेको देखिन्छ ।
इतिहासको पन्नाबाट करिब हराइसकेका पात्रलाई खोज अनुसन्धान गरी नेपाली साहित्य, इतिहास र राजनीतिमा एक नयाँ अध्याय थपी ठूलो गुण लगाएकोमा पुस्तकका लेखिका नीलम कार्की तथा अन्य शोधकर्ताहरूलाई साधुवाद ! तर नेपालका अनुसन्धानकर्ताहरूको लागि योगमायाको कथाले ठूलो चुनौती छाडेर गएको छ किनकि बारबरा निम्रीसँगको संवादमा पारिजातले भनेझंै ‘यस देशको इतिहासमा यस्तै महत्वपूर्ण कुराहरू पोखराले सेती लुकाएजस्तै लुकाइदिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *