भर्खरै :

तःमुँज्याको तयारीमा किसान तथा महिला अग्रसरता

भक्तपुर, ५ असोज । ३८ औं नेपालभाषा साहित्य तःमुँज्या आयोजक समितिको आयोजनामा भनपा १०, कमलविनायकमा रहेका किसान र महिलाहरूको भेला बिहीबार भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सृजना सैंजूले महिलाहरूको प्रगति परिवार र समाजको प्रगति भएको बताउँदै समाजका हरेक काममा महिलाको सहभागिता आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
काम गर्दै जाँदा सिकिंदै जाने भएकोले काम गर्नबाट कोही टाढिन नहुने विचार व्यक्त गर्दै उहाँले कामबाट भाग्नेहरू समाजमा पछाडि पर्ने धारणा व्यक्त गर्नुभयो । कुनै पनि काम हतारमा गर्दा बिग्रिने सम्भावना रहन्छ भन्दै उहाँले छलफल गर्दै अगाडि बढेमा सफलता हुने भनाइ राख्नुभयो ।
भेलामा आयोजक समितिका अध्यक्ष नरेश खत्रीले तःमुज्या सफल पार्नु प्रगतिशील विचार राख्ने सबै प्रकारका पेशाकर्मीहरूको समेत दायित्व भएको बताउँदै यसले भाषिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्दै आइरहेको विचार राख्नुभयो ।
तःमुँज्या शोषित पीडित वर्गको दबु भएको उहाँको कथन थियो ।
आयोजक समितिका उपाध्यक्ष कृष्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो । भेलाबाट समितिका सदस्य रामसुन्दर राजचलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *