भर्खरै :

स्काउटले विद्यार्थी अनुशासित बनाउने

भक्तपुर, ६ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै विद्यालयहरूमा स्काउट गठन गर्न सके अनुशासित विद्यार्थीहरू तयार गर्न मद्दत पुग्ने बताउनुभयो ।
नेपाल स्काउटको भक्तपुर नगर परिषद्को उद्घाटन गर्दै उहाँले स्काउटमा लाग्नेहरूले आफ्नो भन्दा देश र समाजको सेवा गर्ने भावनाले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विपत परेको हरेक ठाउँमा स्काउटको उपस्थिति भएमा जनविश्वास बढ्ने बताउँदै उहाँले २०७२ सालको भूकम्प पछिका उद्धार कार्य भक्तपुर स्काउटले गरेको कामको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो –‘भक्तपुर नगरपालिकाले ‘एक विद्यालय एक सम्पदा’को नीति बनाइ लागू गरेको छ । प्रत्येक महिनाको १ र १५ गते हुने कार्यक्रममा भक्तपुर स्काउटको उपस्थिति छ । भक्तपुर स्काउट धन्यवादको पात्र बनेको छ ।
कर्णप्रिय नारा दिएर काम नगर्नुभन्दा स्काउटमा बस्नेहरूले सिद्धान्तअनुरूप व्यवहार गर्नुपर्नेमा जोड दिंदै समाजको सेवा गर्ने कार्यमा नपा सहकार्य गर्न पनि तयार रहेको बताउनुभयो ।
नेपाल स्काउटको राष्ट्रिय आयुक्त भक्त राजभण्डारीले स्काउट सामाजिक संस्था नभई शैक्षिक अभियान भएको हुँदा नेपाल स्काउट शिक्षा मन्त्रालयअन्तर्गत राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले परोपकार र साझा उद्देश्यको लागि असल नागरिक तयार गर्ने स्काउटको भावना भएको हुँदा सोही भावना र मर्मअनुसार स्काउट चल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल स्काउट भक्तपुर नगर समितिका संयोजक कृष्णसुन्दर प्रजापतिलगायतले बोल्नुभएको उक्त कार्यक्रमको सभापतित्व जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *