भर्खरै :

पाठेघरको मुखको क्यान्सरबारे केही कुराहरु

 देविका दनेखु
क्यान्सर रोग (Cervical Cancer) को नाम सुन्नेबित्तिकै धेरैजसोले निको नहुने डरलाग्दो रोग हो भन्ने बुझ्छन् । तर अहिले स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास र उपचारपद्धतिले यसको उपचार संभव बनाएको छ ।
महिलाहरूमा देखिने प्रमुख क्यान्सरहरूमा पाठेघरको मुख र स्तन क्यान्सर पहिलो स्थानमा पर्छन् । यी दुवै क्यान्सरहरूको रोकथाम गर्न सकिन्छ । यसको लागि हामीले जीवनशैली, खानपान र बानीव्यहोरामा अपेक्षित सुधारोन्मुख परिवर्तन ल्याउनुपर्छ ।
के हो पाठेघरको मुखको क्यान्सर ?
पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लागेमा (निदान भएमा) यो पूर्ण रुपले निको भएका तथ्यहरू विभिन्न अध्ययन र अनुसन्धानले देखाएका छन् । पाठेघरको मुखको क्यान्सर भन्नाले पाठेघरको मुखमा अनावश्यक रुपमा कोषको सङ्ख्या बढ्नु भन्ने बुझिन्छ । यो समयमै निदान भएर उपचार नगरेमा अन्य वरपरका अङ्गहरूमा पनि सर्नसक्छ ।
लक्षणहरू ः
१) यौन सम्पर्क गर्दा रगत देखिने
२) महिनावारी नभएपनि महिनाको बीचबीचमा रगत देखिने
३) सेतो गन्हाउने पानी बग्ने
४) सानो पेट÷तल्लो पेट दुखिरहने
५) ढाड दुख्ने
६) बढी थकाई लाग्ने
७) तौल घट्दैजाने

                        देविका दनेखु
कारणहरू ः
१) असुरक्षित यौन सम्पर्क गरेमा
२) कम उमेरमा विवाह गरेमा वा यौनजन्य क्रियाकलापमा सहभागी भएमा
३) सानै उमेरमा बच्चा जन्माएमा
४) धेरैचोटि गर्भवती भएमा वा बच्चा जन्माएमा
५) पटक–पटक गर्भपतन गरेमा
६) धूम्रपान गरेमा (२–५ गुणा बढी सम्भावना)
७) लामो समय वा ५ वर्षभन्दा बढी गर्भनिरोधक चक्की प्रयोग गरेमा
कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाईरस (एचपीभी) हो । पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्कपछि यसले असर देखाउन सुरु गर्छ । यौन सम्पर्कपछि रगत देखिएमा, गन्हाउने सेतो पानी बग्ने र चिलाउने भएमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ । सुरुवातको लक्षण पनि यही नै हो । यो लक्षण देखिनासाथ प्याप स्मेयर (Pap Smear) को परीक्षण गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सर एकैचोटि देखिँदैन । तर सुरुवातको लक्षण चिन्न वा थाहा पाउन नसकिने भएकोले धेरैजसो महिलाहरू क्यान्सर भइसकेपछि वा क्यान्सरको डरलाग्दो रुप देखिइसकेपछि मात्र अस्पताल पुग्छन् ।
के हो प्याप स्मेयर परीक्षण ?
पाठेघरको मुखको क्यान्सर एकैचोटि हुँदैन । यो पाठेघरको मुखमा धेरै अगाडिदेखि (करिब २० वर्ष) आउने परिवर्तनहरूबाट हुने रोग हो । त्यसकारण, पाठेघरको मुखको पानी जाँच गरेर क्यान्सर हुनसक्ने सम्भावना छ कि छैन भनी रोग लाग्नुभन्दा अगावै गरिने परीक्षणलाई Pap Smear Test भनिन्छ ।
पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा १०–२० वर्ष अगाडि नै अनुमान गर्न सकिन्छ । यदि कसैलाई पाठेघरको क्यान्सर १० वर्षपछि हुने सम्भावना छ भने १० वर्ष अगावै पाठेघरको पानी जाँच गरेर थाहा पाउन सकिन्छ । यो परीक्षण बिनादुखाइ छोटो समयमा तुरुन्त गर्नसकिन्छ । यसले क्यान्सर पत्ता लगाउनुभन्दा पनि क्यान्सर हुनसक्ने कारण पत्ता लगाएर समयमै उपचार गर्न सघाउँछ ।
प्याप स्मेयर परीक्षण कहिले र कसले गर्ने ?
प्याप स्मेयर एउटा भरपर्दो र सजिलो परीक्षण हो । पाठेघरको मुखको क्यान्सरबाट बच्ने यो सबैभन्दा सरल उपाय हो । त्यसैले यो जाँच प्रत्येक विवाहिता महिलाले अनिवार्य रुपमा गर्न जरुरी छ ।
१) २१ देखि ६५ वर्ष उमेर समूहका महिलाहरूले यो परीक्षण कम्तीमा ३ वर्षमा १ चोटि अनिवार्य रुपमा गराउनुपर्दछ । धेरैजसो महिलाहरूमा ५० वर्षको हाराहारीमा रोग पत्ता लागेको देखिन्छ ।
२) यसको परीक्षण २१ वर्षदेखि सुरु गर्नुपर्दछ र प्रारम्भिक चरणमै पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन कम्तीमा ३ वर्षमा १ पटक परीक्षण गराउनु पर्दछ । तर २१ वर्षभन्दा मुनि नै विवाहित भएमा वा यौनकार्यमा संलग्न भएमा यो जाँच २१ वर्षभन्दा पहिलेदेखि नै सुरु गर्नुपर्छ ।
३) हरेक ५ वर्षमा कम्तीमा १ पटक एचआईभी भाईरस र प्याप स्मेयरको परीक्षण गराउनुपर्दछ । अगाडिको प्याप स्मेयर परीक्षणमा कुनै लक्षण देखा परेमा यो जाँच प्रत्येक वर्ष गर्नु आवश्यक हुन्छ ।
४) गर्भाशय वा पाठेघर निकालेका महिलाले यो जाँच गराउन आवश्यक पर्दैन ।
५) कुनै महिलाले पाठेघरको मुखको क्यान्सरविरुद्ध कुनै खोप (HPV Vaccine) लगाएको छ भने पनि चिकित्सकको सुझावपश्चात् यसको जाँच गराउन सकिन्छ ।
६) कुनै महिला क्यान्सरको जोखिममा छिन् वा परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर छ भने उनले पनि यो परीक्षण गराउन आवश्यक छ ।
७) प्याप स्मेयरको परीक्षण महिनावारी भइरहेको समयमा गर्न मिल्दैन । महिनावारी भएको १० देखि २० दिनमा मात्र यो परीक्षण गराउनसकिन्छ । अरु समयमा गरिएका परीक्षणमा रगत मिसिने भएकोले रिपोर्ट गलत हुनसक्छ ।
त्यसैले, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिई रोगबाट बच्ने उपायहरू अपनाउनु धेरै कुराले उपयुक्त र सजिलो छ । पाठेघरको अन्य भागमा कुनै सङ्क्रमण जस्तै गोनारिया (Gonorihoea), क्लामिडिया (Chlamidiya), सिफिलिस (Syhilis) आदिको समयमै निदान र उपचार गराएमा पनि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
(लेखिका निजामती कर्मचारी अस्पतालको हेमाटोलोजी वार्डका ईन्चार्ज हुनुुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *