यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
–दानबहादुर कपाली
शिक्षकहरू नदेखिने क्रान्तिकारी हुन् । सच्चा र जिम्मेवार शिक्षकहरू पाठ्यपुस्तकमा मात्र केन्द्रित हुँदैनन् । शिक्षकले आफ्ना विद्यार्थीहरूलाई चरित्र निर्माण गर्ने नैतिक शिक्षा दिन्छन् । देशभक्त नागरिक बनाउन देश र जनताप्रति समर्पित बनाउने व्यवहारिक शिक्षा दिन्छन् । जानी या नजानी गलत बाटोमा लागेका, लाग्न खोजेका विद्यार्थीहरूलाई शिष्ट, अनुशासित, मर्यादित, चरित्रवान र नैतिकवान बनाउन मार्ग निर्देश गर्छन् र कुलतबाट जोगाउन सयममै खबरदारी गर्छन् । भ्रष्टाचार नगर्न, घूस नखान, अनियमितता नगर्न ज्ञान दिने शिक्षकहरूकै मार्ग निर्देशबाट कति विद्यार्थीहरू सचिएका छन्, देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक देश र जनताको सेवामा जुटिरहेका छन् ।
अवकाश प्राप्त शिक्षकहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै छ । कति ती शिक्षकहरू आफ्नै घरधन्दामा व्यस्त छन्, कति शिक्षा क्षेत्रमै त कति देश र जनताको सेवामा लागेका छन् । कति व्यापार व्यवसायमा त कति साहित्य लेखनमा जुटेका छन् । प्रत्येक दिन पुस्तकालय पुगेर पत्रिका र ग्रन्थहरू अध्ययन गरेर खुराक बढाउने काम र पुस्तक परिचय लेखेर आफ्नो दिमाग तिखार्ने अवकास प्राप्त शिक्षकहरू पनि छन् । बगिरहेको पानी बासी हुँदैन भनेझैं मान्छेको दिमागलाई क्रियाशील बनाइरहनुपर्छ । दिमागमा खिया लाग्यो भने मतिभ्रष्ट हुनसक्छ । मति भ्रष्ट नै नभए पनि बुद्धिले काम गर्दैन र उनीहरू समाजबाट अलगिएको जस्ता हुन्छन् ।
शिक्षकहरू समाजका प्रबुद्ध वर्ग मानिन्छन् । कुलत, कुसंस्कार र अन्धविश्वासविरुद्ध शिक्षकहरू जुटेनन् भने समाज अघि बढ्न सक्दैन । आदर्शाेन्मुख समाज स्थापना गर्न सकिंदैन । असल, चरित्रवान, इमानदार, देशभक्त नागरिक बनाउने काममा शिक्षकहरूको महत्वपूर्ण योगदान हुन्छ । शिक्षकहरू परिवर्तनका वाहक हुन् । शिक्षकहरूको साथ र सक्रियताले नै समाजमा परिवर्तन चाँडै हुन्छ । शिक्षकहरू वर्षाैसम्म विद्यार्थीमाझ भिज्छन् र शिक्षा दिन्छन् । उनीहरू समाजका उत्प्रेरक हुन् । विद्यार्थीमाझ भिजिरहेका ती शिक्षकहरू देश र जनताको सेवामा लागे जनता सचेत र जागरुक हुन्छन् । अतः अवकाश प्राप्त शिक्षकहरू कुनै न कुनै क्षेत्रमा लागिरहनुपर्छ, लागिरहेमा समाजको मुहार फेर्न सहयोग पुग्छ ।
Leave a Reply