भर्खरै :

दुईतिहाइको सरकारको चमत्कार खोइ ?

–सुरज सिंह
आइतबार राजधानी काठमाडौंमा भएको विरोध जुलुसमा प्रदर्शनकारीले नारा लगाए ओली सरकारको चमत्कार महँगी र बलात्कार । महँगी र बलात्कार ओली सरकारकै कारणमात्र बढ्यो भन्नु तर्कसङ्गत नभए पनि तिनलाई नियन्त्रण गर्न नसक्नुमा ओली सरकार पूर्णतया जिम्मेवार छ ।
प्रम केपी ओलीकै बोली सापटी लिएर भन्ने हो भने वर्तमान सरकार कमजोर सरकार होइन । पूर्ण बहुमत मात्र होइन दुईतिहाइ बहुमतको सरकार हो । प्रधानमन्त्री र सरकारले आफूलाई जति बलियो भनी दाबी गरेको थियो, त्यसअनुसार देश र जनताको हितमा कुनै कदम भने चाल्न सकेको छैन । प्रम ओली र मन्त्रीहरूले सुरुसुरुमा त दुईतिहाइ बहुमत प्राप्त सरकारले केही समयभित्रै चमत्कारै गरिछाड्ने उद्घोष गरेका थिए । तर तस्करी, महिलामाथिको बलात्कार, हत्या, अपहरणजस्ता अपराध नियन्त्रणमा सरकार व्यवहारमा कमजोर देखा परेको छ । अपपराधीहरू अपराध गरेर भाग्ने तर प्रहरी प्रशासन तिनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन असक्षम बनिरहेका छन् । कालोबजारी र कृत्तिम मूल्यवृद्धिलाई सरकारले तुलुतुलु हेरेर बस्दा हरेक वस्तु महँगिएको छ । सामान्य तलब र ज्याला मजदुरीमा बाँच्ने कामदार जनता राम्ररी बाँच्न पनि नसकिने अवस्था सिर्जना भएको छ । अपराध र महँगी नियन्त्रणमा दुईतिहाइ बहुमत प्राप्त सरकारको चमत्कार खोई ? अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारलाई कुन कारण वा कुन अदृश्य शक्तिले रोक्दैछ ? दुईतिहाइ बहुमत प्राप्त सरकारको आलोचना र विरोध गर्ने अवसर प्रतिपक्षलाई सरकारकै कारण किन मिल्दैछ ? कहीं सत्तारुढ नेकपाका मन्त्री तथा नेता–कार्यकर्ताहरू प्रम तथा अध्यक्ष ओलीले भनेझैं माहुरी बनेर घार बनाउने र मह थुपार्ने काममा व्यस्त भएर त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *