भर्खरै :

आज ठिमीमा जिब्रो छेड्ने जात्रा

–सागर गुरागाईं
मध्यपुर ठिमी, ८ असोज । हरेक वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ मनाइने जिब्रो छेड्ने जात्रा मङ्गलबार मनाइँदै छ । यो वर्ष स्थानीय बालकराम श्रेष्ठले जिब्रो छेड्दै छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ चोडे निवासी ४० वर्षका श्रेष्ठले जिब्रो छेडाएर ऐतिहासिक संस्कृति जोगाउने बताए । जिब्रो छेड्ने जात्रा २०६३ सालपछि रोकिएको थियो । गत वर्षदेखि मात्रै सो परम्परागत जात्रा पुनः सञ्चालनमा आएको थियो । गत वर्ष मठिनपा –४ बालकुमारी निवासी २९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर लोपोन्मुख जात्रालाई निरन्तरता दिएका थिए ।
जात्राको चार दिन अघिदेखि नै जिब्रो छेडाउने व्यक्तिले आफ्नो टोलका बासिन्दाहरूलाई सम्पूर्ण परिकारको भोज बनाएर खुवाउनुपर्ने भएकोले यो जात्रा खर्चिलो मानिन्छ । गत वर्षदेखि मध्यपुर ठिमी नगरपालिकाले स्थानीयस्तरमा सञ्चालित जात्रा, नाच, पर्व संरक्षण र निरन्तरताका लागि रकम विनियोजन गर्दै आएको छ । अहिले आर्थिक एवम् भौतिक सहयोग स्थानीय बासिन्दा, सङ्घसंस्था र खलः, पुुचः आदिमार्फत पनि सङ्कलन भइरहेको स्थानीय बासिन्दा रुपेश श्रेष्ठले जानकारी दिए । यो जात्रामा एकैपटक २७ जनाले जिब्रो छेडाएको इतिहास रहेको बताइएको छ ।
मथिनपा ५ दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिहरूले बालेको लामो तीनवटा बत्ती अघि–पछि राखेर जिब्रो छेडाउने व्यक्तिले चन्द्राकारको मसालजस्तो महाद्वीप बोकेर नगर परिक्रमा गर्ने प्रचलन छ ।
त्यसपछि बालकुमारी मन्दिरमा पुगेर सियो निकालेर मन्दिरकै खम्बामा राख्ने अनि जिब्रो छेडाएर प्वाल परेको भागमा बालकुमारी मन्दिरको माटो लगाएर घाउ निको पार्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *