भर्खरै :

नेपाली समाज र बढ्दो महिला हिंसा

धनकुमारी सुनार
व्याप्त पितृसत्तात्मक पारिवारिक र सामाजिक बनोट र सोही लयका मूल्य, मान्यता र संरचनाले गर्दा महिलालाई भोग्या वस्तु, कमजोर र दोस्रो दर्जामा हेर्ने, बुझ्ने र प्रमाणित गर्ने मानसिकता देखिन्छ । विश्वव्यापी मान्यताअनुरुप अन्यायपूर्ण क्रियाकलाप मानिएका र निषेध गरिएका ‘हिंसात्मक’ क्रियाकलापलाई नेपाली समाजका बहुसङ्ख्यक मानिसहरूले महिलामाथि हुने हिंसालाई सामान्य परिघटना मान्दछ । महिलाले सबैभन्दा बढी असुरक्षित र हिंसा घरभित्र भोग्दछन् । तथ्याङ्कहरूले देखाएअनुसार महिलामाथि हुने हिंसामध्ये घरेलु हिंसा ८० प्रतिशतभन्दा माथि छ । पछिल्लो समय दोस्रोमा यौनजन्य हिंसा पर्दछ । मानसिक, आर्थिक र राजनीतिक रुपमा हुने हिंसा सँगैसँगै धर्म, संस्कृति र परम्पराको नाउँमा हुने छाउपडी, दाइजो प्रथा, मानव बेचबिखन, देउकी प्रथा, बोक्सी आरोप, कुमारी प्रथा, बहुविवाह, भ्रुण हत्या, बहुपति प्रथा, जबरजस्ती यौन पेशामा लगाउने, वैवाहिक बलात्कार, बालविवाहलगायत दर्जनभन्दा बढी हिंसाको मारमा विभिन्न भेग, जात र संस्कृतिका महिला तथा बालिकाहरू प्रभावित भइरहेका छन् ।
पितृसत्तात्मक र सामन्ती पारिवारिक र समाजको असमान शक्ति सन्तुलनका कारण महिलाहरू बहिष्कृत, आर्थिक स्रोत उपभोगमा नियन्त्रण, यौनिकतामा नियन्त्रण, कानुनी र नीतगत संरचनागत अवरोधहरू भोगिरहेका छन् । त्यसैगरी हिन्दू धर्मशास्त्रमा रहेका महिला द्वेषी कठोर निर्देशन सीमा र उपदेशहरूले महिलालाई स्वतन्त्र र मर्यादित जीवन बाँच्न दिएनन् । रामायण, महाभारत, स्वस्थानी व्रत कथा, गरुण पुुराण, मनुस्मृतिलगायतका सबै धर्म ग्रन्थले महिलालाई अस्तित्वविहीन मानवको रुपमा परिकल्पना गरेको र महिलामाथि हुने हिंसा चाहे त्यो बालविवाह होस् या बहुुविवाह, अनमेलविवाह होस् या बलात्कार सबै व्यभिचारलाई धर्मशास्त्रले मान्यता दिएको छ ।
महिलालाई पुुरुषको भोग्या, दासी र वंश परम्परा धान्ने यन्त्रको रुपमा मात्र मान्यता दिएको हुुनाले नेपाली समाजमा राजनैतिक परिवर्तनको बाबजुद पनि महिलालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आउन नसकेको हो । हिन्दू सामन्तवाद र यसले निर्देशित गरेका सयौं ग्रन्थहरूले महिलामाथि हुने हिंसालाई स्वाभाविक मान्दछ । जस्तैः स्वस्थानी व्रत कथाले बलात्कार, बहुविवाह, अनमेलविवाह र बालविवाहलाई पूूर्णरुपमा धार्मिक मान्यता दिएको छ । कथामा जालन्धरकी पत्नीलाई विष्णुले जालझेल गरी बलात्कार गरेको कुरालाई सहज तरिकाले प्रस्तुुत गरिएको छ । यसलाई धर्मको रुपमा स्थापित गर्ने कार्य गरिएको छ ।
पछिल्लो समय नेपाली समाजमा क्रुरताको हदसम्म किशोरी र महिलामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दो रुपमा सतहमा देखिएको छ । यसले महिला र किशोरीहरूको सुरक्षा, स्वतन्त्रता अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न लागेको छ । नेपालमा पटक–पटकको राजनीतिक परिवर्तनले पनि नेपाली महिलालाई हेर्ने, बुझ्ने र गरिने व्यवहारमा परिवर्तन आउन नसक्नुमा मूलतः महिलामाथि गरिने हिंसात्मक गतिविधि र व्यवहारलाई ‘स्वाभाविक’ सामाजिक मान्यताका रुपमा ग्रहण गरिनु मूल कारण हो । लि·को महात्म्य स्थापित गर्नु, यौन आक्रमण गर्नु, महिलाको यौनिकतामा नियन्त्रण गर्नु भनेको पुरुषत्वको विजय हो भन्ने धार्मिक र सांस्कृतिक मान्यताले गर्दा आम महिला र खासगरी किशोरीहरूमाथि पछि झन् झन् हिंसाका गतिविधिहरू थपिने क्रम जारी छ ।
महिला हिंसाको अवस्था
नेपाली समाजमा महिलामाथि धर्म, संस्कृति, परम्परा, प्रथा र प्रचलनका नाउँमा हुने हिंसाको कथा लामो छ । ४८ प्रतिशत नेपाली महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा व्यहोरेका हुन्छन् । (एसिया फाउन्डेशन, २०१०) तथ्याङ्कहरूले देखाएअनुसार हरेक वर्ष महिला हिंसा बढ्दै गइरहेको छ । प्रत्येक दिन औसतमा ४ वटा बलात्कारका घटना हुने गरेको देखिन्छ । विगत १० वर्षमा २५६ प्रतिशतले यौनजन्य हिंसा बढेको ६ र ७ वर्षको अवधिमा ७ हजार केस दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार २०७०÷७१ यताका तीन आर्थिक वर्षमा मात्र बलात्कारका घटना ३ हजार ५ वटा दर्ता भएका छन् । आ.व २०७४ ÷०७५ मा बलात्कार घटना १०६१ दर्ता भएका छन् । यसमध्ये ३१३ जना बालिका १६ वर्षमुनिका छन् ।
बलात्कारमा पर्नेमध्येमा पनि बालिका, दलित समुदायका महिला र बालिका, आर्थिक रुपले विपन्न महिला र बालिकाहरू बढी प्रभावित भएको देखिन्छ । बलात्कारजन्य हिंसामा समाजको आर्थिक, सामाजिक पक्ष बलियो प्रभाव देखिन्छ । जागरण मिडिया सेन्टरले हालसालै गरेको एक अध्ययनअनुसार बलात्कृतमध्ये १९ प्रतिशत दलित समुदायका महिला र किशोरी छन् जुन जनसङ्ख्याको अनुपातमा साढे दुईगुना बढी छ भने बलात्कृत दलित समुदायका बालिकाहरूको सङ्ख्या २२ प्रतिशत ६ जुन ७ गुणाले बढी हो । आदिवासी जनजाति महिला ३४ प्रतिशत छन् भने ब्राह्मण ९ प्रतिशत र क्षेत्री महिला १८ प्रतिशत बलात्कारजन्य हिंसामा परेको देखिन्छ । नेपाली समाजमा रहेका जात व्यवस्था र बढ्दो बलात्कारबीचको सम्बन्धले के देखाउँछ भने समाजमा जातीय रुपमा बहिष्कृत, आर्थिक रुपमा गरिबीमा परेका महिला र किशोरीहरू बलात्कारजन्य हिंसाबाट प्रभावित छन् ।
महिला हिंसाका घटना अविकसित देशहरूमा मात्रै छैन । विकसित भनिएका देशहरूमा पनि गम्भीररुपमै देखिन्छ । जर्मनीको सङ्घीय अपराध निरोधक कार्यालय बीकेईद्वारा जारी गरिएको एक तथ्याङ्कअनुसार सन् २०१६ मा भएको घरेलु हिंसाका कारण १०,५९५ जना महिला घाइते, ४६ जना गम्भीररुपमा घाइते भएका थिए भने २,२३१ महिलामाथि बलात्कार र ३०० जनामाथि बलात्कारको प्रयास भएको थियो । (सत्याग्रह नामक वेबसाइटमा उल्लेख गरिएको) साथै यही वेबसाइटको रिपोर्ट हेर्दा जर्मनीमा घरेलु हिंसा भएका महिलाहरूले प्रहरीमा उजुरी दिने प्रवृत्ति निकै कमैमात्र भएको पाइन्छ । https://satyagrah.scroll .in/article/ 111648/developed-countries-fare-worse-than-india-when-it-comes -to-sexual-violence
यसैगरी अमेरिकी वेबसाइट सीबीएस न्यूजका अनुसार सन् २००८ मा अमेरिकामा ९० हजारको हाराहारीमा महिलाहरू बलात्कृत भएका घटना सार्वजनिक भएको छ । अर्को रोचक तथ्याङ्कअनुसार ७० हजारभन्दा बढी महिलाहरूले आफू बलात्कृत भएको घटनाको पुलिसमा रिपोर्ट नै गरेनन् भने २२ हजार ५८४ मात्रै बलात्कारीहरू गिरफ्तार भए । यसरी हेर्दा अमेरिकाजस्तो विकसित भनिएको देशमा पनि बलात्कारको घटना ज्यादै नै बढी भएको देखिन्छ भने बलात्कारी समातिने क्रम एकदमै कम भएको देखिन्छ । यो तथ्याङ्क अमेरिकाको एफबी आईको जस्टिस डिपार्टमेन्टको स्रोतबाट लिइएको भनेर खुलाइएको छ । https://www.cbsnews .com/news/exclusive-rape-in-america-justice-denied/
छिमेकी मुलुक भारतमा बलात्कारजन्य हिंसा अत्यन्त डरलाग्दो देखिन्छ । हरेक दिन १०६ वटा बलात्कारका घटना हुने गरेको देखिन्छ भने बलात्कारीमध्ये ९४.६ प्रतिशत नातागोता र परिचित पर्दछन् । https://www.the quint.com/news/india /india-rape-data-106-rapes-per-day-4-in-10-victims-minors । सन् २०१२ डिसेम्बरमा दिल्लीमा भएको निर्भया बलात्कार हत्याकाण्डपछि भएको कानुनी सुधारपछि बलात्कारीलाई कठोर जेलसजाय र मृत्युदण्डको व्यवस्था छ । सामूहिक बलात्कारको केसमा जन्मकैदसहित पीडितलाई क्षतिपूर्तिको व्यवस्था, स्वास्थ्य उपचारको व्यवस्था पीडकबाट भराउने व्यवस्थासहित पीडितलाई पुनस्र्थापनाको व्यवस्था कानुनले गरेको छ ।
(नेपाल वैकल्पिक अध्ययन समाजको आयोजनामा आइतबार सम्पन्न महिला हिंसा र राज्यको चरित्र विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रको अंश प्रस्तुत गरिएको छ–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *