यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
संसारको इतिहासमा कम्युनिष्ट पार्टीको आवश्यकता किन प¥यो ? विश्व इतिहासमा कम्युनिष्ट पार्टीको उदय हुनुअघि पनि राजनीतिक पार्टीहरू थिए । ती राजनीतिक पार्टीले मानव समाजको के आवश्यकता पूरा गर्न सकेनन् र कम्युनिष्ट पार्टीको आवश्यकता प¥यो ?
सामन्तवादी व्यवस्थाको गर्भबाटै सर्वहारा वर्गको गर्भाधान भयो । सामन्तवादी बन्दोबस्तविरुद्ध पुँजीपति वर्गले थालेको क्रान्तिमा सर्वहारा वर्गले पनि सहयोगी भूमिका निभायो । तर राजनीतिक चेतना, सङ्गठन, नेतृत्व, आत्मविश्वास र अनुभवको कमीले पुँजीवादी क्रान्तिमा सर्वहारा वर्गको भूमिका सहयोगीमै सीमित रह्यो । सामन्ती सत्तालाई इतिहासमा थन्काएर बनेको पुँजीवादी सत्ताले कालान्तरमा आफ्नो सहयोगी वर्गमाथि नै दमनको हतियार चलायो । पुँजीवादी बन्दोबस्तमा सर्वहारा वर्ग र पुँजीपति वर्गबीच मुख्य अन्तर्विरोध चर्कियो । पुँजीपति वर्गको शोषणबाट मुक्त हुन र मानव समाजको गतिलाई अझ अघि बढाउन सर्वहारा वर्ग आफैं एउटा राजनीतिक शक्ति बन्नुपर्ने ऐतिहासिक आवश्यकता पूरा गर्न नै श्रमजीवी जनताको अलग राजनीतिक पार्टीको आवश्यकता प¥यो । त्यही आवश्यकता पूरा गर्न संसारमा कम्युनिष्ट पार्टीको स्थापना भएको हो । सामन्ती बन्दोबस्तमा जसरी उदयीमान पुँजीपति वर्ग क्रान्तिकारी वर्ग थियो, त्यसरी नै पुँजीवादी बन्दोबस्तमा सर्वहारा वर्ग क्रान्तिकारी वर्ग बन्यो ।
यो ऐतिहासिक विकासक्रमले प्रष्टतः कम्युनिष्ट पार्टी भनेको कामदार, श्रमजीवी, सर्वहारा वर्गको राजनीतिक शक्ति भएको देखापर्दछ । आफैं शोषणको लामो रसातल भोगेर आएको वर्ग भएकोले श्रमजीवी वर्गको नेतृत्वमा स्थापना हुने व्यवस्था स्वभावतः शोषणविरोधी हुनुपर्दछ । मानिसले मानिसमाथि गर्ने शोषण समाप्त भएको राजनीतिक बन्दोबस्तको स्थापना नै कम्युनिष्ट पार्टीको मुख्य लक्ष्य हो ।
यो कस्सीमा नेपालमा अहिले सत्तासीन ‘कम्युनिष्ट’ भनिएको पार्टीलाई घोट्दा हामीले के पाउनेछौं ? के वास्तवमै सत्तासीन पार्टी नेपालका कामदार र सर्वहारा जनताको राजनीतिक शक्ति हो ? के यसले बोकेका वर्गीय चरित्र कामदार वर्गीय चरित्र हो ? इतिहास र वर्तमानको सामान्य जानकारीमात्र भएको जो कोहीले पनि यी प्रश्नको जवाफ नकारात्मक नै दिनेछन् । अर्थात् नेकपा न कम्युनिष्ट पार्टी हो न यसले कामदार वर्गीय चरित्र नै बोकेको छ । विश्वको राजनीतिक धाराको तुलना गर्ने हो भने यो उदार समाजवादी पार्टीमात्र हो । उदार समाजवादी धारा पुँजीवादी बन्दोबस्तकै एउटा खोल्सो हो । तर यो कम्युनिष्ट पार्टीले पक्षधरता लिने वैज्ञानिक समाजवादी धारा कदापि होइन ।
नेकपाको वर्गीय चरित्र त्यो पार्टीको स्थानीयदेखि केन्द्रसम्म कुन वर्गको प्रभाव सबभन्दा बलियो छ भन्ने आधारमा विश्लेषण गरिनुपर्दछ । आज नेपालका सबैजसो पुँजीपति, ठूला ठेकेदार, भ्रष्टाचारी, उच्च सरकारी अधिकारी, विदेशी पुँजीका दलाल नेकपाभित्र एकाकार भइसकेका छन् । सरकारले कामदार जनताको हित र न्यायपूर्ण समाज स्थापनामा भन्दा पनि पुँजीपति वर्गकै हित हुने गरी निर्णय गरिरहेको छ । तसर्थ यो सरकार व्यापक कामदार नेपाली जनताको पक्षमा छैन ।
आज नेकपाभित्रको गुटबन्दी र गिरोह अनि तिनका अन्तर्विरोध वास्तवमा त्यहाँभित्र रहेका पुँजीपति वर्गबीचको शक्तिको सङ्घर्ष हो । पुँजीपति वर्गको कुन खेमा सत्तामा टिकिरहने भन्ने कुराको प्रतिस्पर्धा हो । हिजो नेपाली काङ्ग्रेस, एमाले र माओवादीभित्र रहेका पुँजीपति वर्गबीच त्यस्तो प्रतिस्पर्धा हुनेगथ्र्यो भने आज त्यो प्रतिस्पर्धा नेकपाभित्र गएर खुम्चिएको मात्र हो । यो अन्तर्विरोधमा जुनसुकै खेमाले जिते पनि वा हारे पनि व्यापक कामदार नेपालीको हित कदापि पनि हुनेछैन ।
Leave a Reply