भर्खरै :

ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनको चुनौती

प्रकाश
विश्वका विभिन्न भागमा कम्युनिष्ट र वामपन्थी आन्दोलनहरू कमजोर हुँदै पछाडि धकेलिएको बेला ल्याटिन अमेरिका वामपन्थी आन्दोलनको उर्वर भूमिको रूपमा देखापरेको थियो । सन् १९८० को अन्तिम र १९९० को सुरुमा पूर्वी युरोप र सोभियत सङ्घमा समाजवादको अस्थायी हार र पँुजीवादको पुनःस्थापनाले विश्वभरकै कम्युनिष्ट र वामपन्थी आन्दोलनमा निराशा ल्याएको थियो । दुई ध्रुवीय विश्व संरा अमेरिकाकेन्द्रित एक धु्रवीय विश्वमा परिणत हुने छनक देखिएको थियो । संसारको कुनै पनि देशमा समाजवादी क्रान्ति त परको कुरा कुनै प्रगतिशील सरकारसम्म पनि चल्न सक्दैन भन्ने भ्रम फैलाइएको थियो ।
साम्राज्यवादी र पुँजीवादीहरूको उक्त भ्रमजाललाई च्यात्ने तथा समाजवाद अजेय छ भन्ने सन्देश त्यतिखेर समाजवादी देशहरू क्युवा र प्रजग कोरियाले दिइरहे । तुलनात्मकरूपमा सानो–सानो भूगोल, सानो अर्थतन्त्र र सीमित स्रोत साधनयुक्त दुवै समाजवादी देशहरूमाथि संरा अमेरिकाको कठोर नाकाबन्दी थियो । जुन अमानवीय नाकाबन्दी आजपर्यन्त कायमै छ । त्यति नै बेला ल्याटिन अमेरिकी देशहरूमा भने विभिन्न नाममा वामपन्थी आन्दोलन अघि बढिरहेको थियो । निकारागुआमा सान्डानिष्टा राष्ट्रिय मुक्ति मोर्चाले सन् १९८० को दशकमै समोजा तानाशाही विरुद्ध क्रान्ति गरेको थियो भने सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपतिमा निर्वाचित भएपछि भनेजुयलामा वामपन्थी, साम्राज्यवाद र नवउदारवादविरोधी सरकार बन्यो । त्यसपछि उरुग्वे, ब्राजिल, अर्जेन्टिना, चिली, बोलिभिया, इक्वेडर, पाराग्वे, एल साल्भाडोरलगायत दक्षिण र मध्य अमेरिकी देशहरूमा निर्वाचनमार्फत वामपन्थी पार्टीहरू सत्तामा पुगे । ती सरकारहरूले पुँजीवादी व्यवस्थाकै संरचनाभित्रबाट विभिन्न नामले प्रगतिशील प्रक्रिया अगाडि बढाए । झण्डै सिङ्गो ल्याटिन अमेरिका नै साम्राज्यवाद र नवउदारवादविरोधी मोर्चामा परिणत भयो । आफ्नो करेसाबारीको रूपमा रहेको ल्याटिन अमेरिका वामपन्थीहरूको हातमा गएको देखेर अमेरिकी पुँजीपति वर्ग र प्रतिक्रियावादीहरूको दिनको चैन र रातको निद्रा हरायो । उनीहरूले ती ल्याटिन अमेरिकी देशका आफ्ना परम्परागत मित्रका रूपमा रहेका दक्षिणपन्थी, पुँजीवादी र नवउदारवादी शक्तिहरूलाई अनेक माध्यमले आर्थिक, राजनीतिक र रणनीतिक सहयोग गर्दै प्रगतिशील सरकारविरुद्ध षड्यन्त्र गर्न र आन्दोलनका नाममा उपद्रो मच्चाउन लगाए । तिनीहरूलाई राष्ट्रपतीय र संसदीय निर्वाचन लड्न तथा जित्नका लागि अर्बाैं डलर सहायता गरे । फलस्वरुप हिजो वामपन्थी सरकार रहेका देशहरू अर्जेन्टिना, चिली र एलसाल्भाडोरमा अहिले दक्षिणपन्थी राष्ट्रपतिहरू छन् । ब्राजिलको संसदमा दक्षिणपन्थी र नवउदारवादीहरूको दुईतिहाइ बहुमत पुगेपछि सन् २०१६ मा जननिर्वाचित राष्ट्रपति डिल्मा रुसेफमाथि महाअभियोग लगाई पदबाट अपदस्थ गरी दक्षिणपन्थी सरकार बनाइयो । वामपन्थी सरकार रहेका भेनेजुयला, बोलिभिया र निकारागुआमाथि घोषित र अघोषित आर्थिक नाकाबन्दी लगाई आर्थिक विश्रृङ्खलता सिर्जना गर्न खोजिएको छ । एक दुईवटा देशमा कानुनी र गैरकानुनी तरिकाले सत्ता पुनःकब्जा गरेपछि दक्षिणपन्थीहरू र अमेरिकी तथा युरोपेली साम्राज्यवादीहरू ल्याटिन अमेरिकाभर दक्षिणपन्थी लहर ल्याउन उद्यत छन् । तर ल्याटिन अमेरिका र क्यारिवियाली क्षेत्रका वामपन्थी शक्तिहरूले उक्त दक्षिणपन्थी आक्रमणसित जुझ्न वैचारिक र साङ्गठनिक गतिविधिलाई तीव्रता दिंदै जनपरिचालन गरिरहेका छन् ।
राजनीतिक नेताहरू, सामाजिक अभियन्ताहरू, बौद्धिक व्यक्तित्वहरू र विभिन्न सामाजिक आन्दोलनका प्रतिनिधिहरू विगत केही वर्षमा उत्पन्न भएका प्रतिकूलताहरूले र दक्षिणपन्थी शक्तिहरूको सहसम्बन्ध मूल्याड्ढन गर्दै प्रगतिशील आन्दोलन र उम्मेदवारहरूको विजयका लागि कार्य योजना निर्माण र कार्यान्वयनमा जुटेका छन् ।
भेनेजुयलामा एकीकृत भेनेजुयाली समाजवादी पार्टीका नेता तथा बोलिभारियाली क्रान्तिका नेता ह्युगो चाभेजका उत्तराधिकारी निकोलस माडुरोको पुनर्विजय, बोलिभियामा समाजवादी आन्दोलनका नेता ते मोरालेसको पुनर्विजय र हालै मेक्सिकोमा वामपन्थी नेता एन्ड्रेज म्यानुयल लोपेज ओब्राडरको विजय वामपन्थी आन्दोलनका लागि सकारात्मक खबर हुन् ।
यसरी वामपन्थी राष्ट्रपतिहरू निर्वाचित भइसकेपछि पनि अमेरिकी साम्राज्यवाद र दक्षिणपन्थीहरूले उपद्रव, हिंसात्मक विद्रोह र विध्वंसको आँधी ल्याउने कुचेष्टा गर्न छाडेका छैनन् ।
“त्यो प्रतिगामी आँधी आयो र १९९० को दशकमा खुलेको शान्ति र प्रगतितर्फको ढोका थुनेर गयो । अब पुनः उक्त ढोका कसरी खोल्ने भन्ने प्रश्न ब्राजिलका वामपन्थीहरूका अगाडि खडा छ ।” ब्राजिलको मजदुर पार्टीका सदस्य तथा सङ्घीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिला सङ्कायका प्राध्यापक भाल्टर पोमारले हालै आफ्नो एक निबन्ध ‘कसरी अगाडि बढ्ने ?’ मा लेखेका छन् ।
पोमारको विचारमा निर्वाचनमा दक्षिणपन्थीहरूलाई चुनौती दिन वामपन्थीहरूलाई बलियो उम्मेदवारहरू आवश्यक छन् तर त्यति मात्र पर्याप्त होइन । वामपन्थीहरूको एकता देखावटी नभई वास्तविक तथा प्रतिगामी संसदद्वारा जननिर्वाचित राष्ट्रपतिहरूको उदय र पतनलाई नियन्त्रण गर्ने विरुद्ध राजनीतिक योजना र सर्तकता पनि आवश्यक छ । वामपन्थी सरकारहरूको शासन गर्ने तरिकामा परिवर्तन ल्याउन जरुरी छ र कामदार वर्गको बीचमा गुमाएको विश्वासलाई पुनः स्थापित गर्न आवश्यक छ ।
ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनको चुनौती विश्लेषण गर्दै टेलिसुरको ब्लगमा राजनीतिक विश्लेषक कातु अर्काेनाडा लेख्छन्– “ल्याटिन अमेरिकी वामपन्थीहरूका अगाडि रहेको सबभन्दा ठूलो चुनौती भनेको आर्थिक क्षेत्रमा पुँजीवादको विकल्प निर्माण गर्नु हो । अहिले आवश्यक योजना भनेको अर्थतन्त्रको जनतान्त्रिकरण हो, पूर्णतया आर्थिक स्वतन्त्रता सिर्जना गरिनुपर्छ, जहाँ देश र जनताको प्रगतिशील हितलाई नोक्सान पु¥याउन खोजेमात्र राज्यले नियन्त्रण गर्ने व्यवस्था होस् । त्यसभन्दा बढी सांस्कृतिक क्षेत्रमा वैकल्पिक शक्ति निर्माण गर्नु महत्वपूर्ण छ, सांस्कृतिक क्षेत्रमा रहेको पुँजीवादी प्रभुत्वलाई चुनौती दिन जरुरी छ । ताकि नयाँ समाजवादी मानिसको जन्म होस्, नकि झूटो मध्यमवर्गीय आशा बोकेका भ्रमित उपभोक्ता नागरिकहरू ।”
त्यसैगरी निबन्धकार, पत्रकार, समाजशास्त्री, विश्वविद्यालयका प्राध्यापक एवं राजनीतिक विश्लेषक ओल्मेडो बेलुचे ‘रेबेलियन’ अनलाइनमा प्रकाशित आफ्नो एक लेखमा लेख्छन् –“राष्ट्रिय बैङ्किङ्ग र आर्थिक प्रणालीको राष्ट्रियकरणविना, वैदेशिक व्यापारमा राज्यको नियन्त्रणविना र ठूल्ठूला उद्योग प्रतिष्ठानको राष्ट्रियकरणविना वा भनौं वास्तविक समाजवादी कदमहरूविना ल्याटिन अमेरिकाका वामपन्थी सरकारहरू यथार्थमा पुँजीवादीहरूको र साम्राज्यवादीहरूको दयामा मात्र टिक्ने छन् र तिनीहरूले नचाहेपछि आर्थिक आक्रमण व्यहोर्नुपर्नेछ । जस्तो भेनेजुयलामाथि निरन्तर आक्रमण भइरहेको छ ।”
बेलुचे निर्वाचनबाट आएका वामपन्थी सरकारहरूको सीमितताबारे चर्चा गर्दै अगाडि भन्छन् –“वामपन्थी सरकारहरूले अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित राष्ट्रिय दक्षिणपन्थी शक्तिहरूद्वारा सिर्जित समस्याको सामना गर्नुपरेको त छँदैछ, त्यसमाथि पुँजीवादी संस्थाहरूको औपचारिकता र तिनले थोपरेको निर्णय मान्नुपर्छ भन्ने नेताहरूको संशोधनवादी धारणा पनि वामपन्थी सरकारका चुनौती हुन् ।”
बहुसङ्ख्यक राजनीतिक विश्लेषकहरू दक्षिण अमेरिका र क्यारिवियाली देशहरूको वामपन्थी आन्दोलन र प्रगतिशील प्रक्रिया सङ्कटमा रहेको मान्छन् तर सङ्टले आन्दोलनको अन्त्य हुनेछैन बरु नयाँ र सुद्धृढ उपायका साथ अगाडि बढ्नेछ । केही देशहरूमा निर्वाचनमा पराजित भएर र केही देशमा न्यायपालिकाको अवाञ्छित हस्तक्षेपका कारण वामपन्थी सरकार हारे तापनि प्रगतिशील युगको सुरुआतको आधारका रूपमा रहेका क्रान्तिकारी सरकारहरू अझै अडिग छन् । क्युवाली क्रान्ति र भेनेजुयाली बोलिर्भािरयाली क्रान्ति, बोलिभियाली समाजवाद र निकारागुआको सान्डानिष्टा समाजवादी प्रक्रियाले निरन्तर जनताको सेवा गर्दैछ । गत जुलाईमा क्युवाको राजधानी हवानामा सम्पन्न ल्याटिन अमेरिकी र क्यारिवियाली देशका १ सत्न्दा बढी वामपन्थी पार्टीहरूको सम्मेलन ‘साउपाउलो फोरम’ को २४ औं सम्मेलनको घोषणामा निष्कर्षस्वरुप भनिएको थियो – ‘‘यस क्षेत्रका राजनीतिक शक्तिहरूको यस भेलामा वामपन्थीहरूले सरकारको स्थान जितेको देशमा आफ्नो वैध प्रभुत्व पुनः कायम गर्न र जनताको शक्ति निर्माण गर्न दिगो कदम चाल्नुपर्ने प्रस्ताव गर्दछ । राजनीतिकरूपमा सचेत र सङ्गठित जनता नै सधैं अमेरिकामा दक्षिणपन्थीहरूको पुनरागमनलाई रोक्ने जुझारु लडाकु रहँदै आएका छन् ।’’
समाचार स्रोत ः ग्रान्मा, टेलिपुर, भेनेजुयला एनालिसिस, रेवेलियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *