यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कृष्णदास श्रेष्ठ
एक महान् विभूति
भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रुपले अङ्कित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा अर्थात् श्रमिक जनगणको मुक्ति र सुखको लागि समपर्ण गरे । उनको जीवन यात्रामा महान् रुसी कवि लर्मोन्तोवको एउटा कविताका निम्न पङ्क्तिहरूमा व्यक्त कथन साँचो र पूरा रुपमा चरितार्थ भएको छ ः
“एउटैमात्र विचार उसको पथप्रदर्शक बन्यो,
एउटै उत्कण्ठाको ज्वालाले अभिप्रेरित ग¥यो ।” (“लेनिन ः एक जीवनी,” अङ्गे्रजी संस्करण, पृष्ठ १० बाट उद्धृत ।)
लेनिनको सैद्धान्तिक तथा व्यावहारिक क्रियाकलापहरूमा निर्देशक रहेको विचार माक्र्स र एंगेलसद्वारा प्रतिपादित महान् सिद्धान्त थियो र त्यसमा उनलाई अभिप्रेरित गर्ने एउटै भावना श्रमिक मानवजातिको सेवा गर्ने भावना थियो ।
क्रान्तिका महान् नेता तथा गुरुको रुपमा लेनिनबारे फ्रान्सका नामी लेखक रोम्याँ रोलैण्डले निम्न विचार व्यक्त गरेका छन् ः
“नेपोलियन उपरान्त युरोपेली इतिहासले यस्तो दृढ सङ्कल्पशक्ति देखेको थिएन, आफ्नो पुरानो वीरतापूर्ण बेला उपरान्त युरोपेली धर्मले यस्तो अदम्य आस्थासहितको विचार–प्रचारक ( बउयकतभि ) देखेको थिएन । तर, सबभन्दा महत्वपूर्ण कुरा के भने मानवीय क्रियाकलापले पहिले कहिले पनि यस्तो नेता र गुरु अगाडि ल्याएको थिएन जो आआफ्नो कुनै पनि व्यक्तिगत स्वार्थको वास्ता राख्दैनथे । उनको उच्चस्तरको बौद्धिक छवि उनको जीवनकालमा समेत मानिसहरूको दिलमा अङ्कित रहयो, यो युगौंसम्म निश्चित रुपले अपरिवर्तनीय रहन्छ । (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ १४० । )
मानव इतिहासमा वास्तवमा लेनिन यस्तो पवित्र र उच्च नाउँ हो, जुन करोडौं करोड श्रमिक जनताको दिलमा ससम्मान र सश्रद्धा अङ्कित रहेको छ । तर अर्कोतर्फ, पुँजीपति वर्ग जनताका शत्रुहरूले उनलाई बदनाम गर्न कुनै कसर बाँकी राखेका थिएनन् । उनकै समयमा उनलाई बडो क्रूर व्यक्तिको रुपमा प्रस्तुत गर्ने उद्देश्यले भयानक प्रचार गरिएको थियो । यसबारे अमेरिकी पत्रकार अल्बर्ट विलियमले लेखेका थिए ः
लेनिनलाई “के थाहा थियो भने भोक, आक्रमण र प्रतिक्रियावादको तर्फबाट खतरा रहेको क्रान्तिलाई सशक्त कठोर कार्यवाहीले मात्र जोगाउन सक्छ । त्यसैले, बोल्सेविकहरूले बिनादयामाया वा बिनाहिचकिचाहट आफ्ना उपायहरूलाई अघि बढाए, जब कि तिनका शत्रुहरूले तिनीहरूमाथि हमला गर्न आक्षेपहरूको शास्त्रागारमा विशेषणको खोजखाज गरे । पुँजीपति वर्गको दृष्टिमा, लेनिन जोर–जरबजस्ती गर्ने निर्दयी व्यक्ति रहे । त्यस अवधिमा तिनीहरूले उनलाई प्रधानमन्त्रीको रुपमा होइन, बरु ‘अत्याचारी लेनिन’, ‘तानाशाह लेनिन’ को रुपमा सङ्केत गर्दथे । दक्षिणपन्थी समाजवादीहरूले के भने भने पुरानो रोमानोव जारको ठाउँमा नयाँ जार, निकोलस लेनिन आएका छन् र खिसी गर्दै उनीहरू कराए ‘हाम्रो नयाँ जार निकोलस तेस्रो जिन्दावाद !’ (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ ६५ । )
शोषक–शासकहरू र सबै खालका प्रतिक्रियावादीहरूले जनताका नेताहरूको विरुद्ध प्रचार गर्नु कुनै नौलो र अस्वाभाविक कुरा होइन । जन–नेता र अग्रगमनका पक्षधर नेताहरूको बदनाम गर्न तिनीहरूले विभिन्न तरिका र उपायहरू प्रयोग गर्ने गरेका छन् । त्यसबेला लेनिनको बदनाम गर्न साम्राज्यवादी र अन्य प्रतिक्रियावादीहरूले कुनै उपाय प्रयोग गर्न छाडेनन् । यहाँसम्म कि १९१७ को फेब्रअरी क्रान्तिपछि लेनिन फिनलैन्डमा भूमिगत रहँदा, पुँजीवादी प्रचार माध्यमहरूले लेनिन स्वीजरलैन्डमा कुनै नामी होटेलमा केटीसँग मज्जाका लागि बसिरहेछन् भनेर व्यापक प्रचार गरेका थिए । सो प्रचार सरासर निन्दा र बदख्वाइँ थियो । जनमुक्ति सङ्घर्षमा देखापरेका कुनै पनि त्यस्ता नेताहरु छैनन् होला, जसमाथि ती तत्वहरुले हिलो छ्यापेका छैनन् र जसको निन्दा र बदख्वाइँ गरेका छैनन् ।
कुनै ठूलो व्यक्तिलाई बदनाम गर्ने मानिसहरूमा रहेको अर्को एउटा प्रवृत्तिको उल्लेख मेक्सिम गोर्कीले गरेका छन् । उनी भन्छन् ः
“यसबाहेक, सामान्यत ः मानिसहरूमा कुनै सामान्य व्यक्तिलाई आफ्नै बुझाइको स्तरमा तल खसाल्ने मात्र होइन, बरु उसलाई आफ्नै खुट्टा ढोगाउन भुइँमा झुकाउन, आफू स्वयंले सिर्जेको र ‘सामान्य जीवन’ भनी नामाकरण गरेको च्यापच्यापे, फोहर हिलोमा तानेर ल्याउन कोसिस गर्ने अदृश्य प्रवृत्ति रहेको छ ।”
अगाडि उनी भन्छन् ः विरलाकोटी (rare) सौन्दर्यका वस्तुहरू बिगार्ने इष्र्यापूर्ण प्रेरणा त्यही स्रोतबाट उत्पन्न हुन्छ, जुन स्रोतबाट विलक्षण गुण भएका व्यक्तिलाई हरहालतमा बदनाम गर्ने इष्र्यालु इच्छा उत्पन्न भएको हुन्छ । कुनै विरलाकोटी र असाधारण कुरा एउटा झमेला रहन्छ, किनकि त्यसले अभ्यस्त नित्यक्रमलाई बिगार्छ र मानिसहरूलाई तिनले चाहेको ढङ्गबाट रहन दिँदैनन् । तिनीहरुले बढी चाहेको कुरा–यदि तिनीहरूले बढी चाहने गरेको कुनै कुरा छ भने – त्यो अवश्य पनि तिनीहरूको सामाजिक बानीबेहोरामा आमूल परिवर्तन होइन, बरु सो बानीबेहोराको बिस्तारमात्र हो ।” (ऐ.ऐ पृष्ठ ३३–३४ ।)
वस्तुगत सामाजिक यार्थता र इतिहासले आफ्नो विकास–प्रक्रियामा सदा आफूलाई आवश्यक पर्ने महान् व्यक्तित्वहरू, सिद्धान्तविद् तथा राजनीतिक नेताहरूलाई सामाजिक जीवनको बीचबाट खोजेर निकाल्छ । सामान्य नियम के छ भने महान् क्रान्तिहरूले महापुरुषहरू, महान् नेताहरू पैदा गर्छन् । त्यसलाई हेरेर कसै–कसैले कस्तो धारणा बनाएका छन् भने महापुरुषहरू इतिहासका निर्माता हुन्, ठूला–ठूला युगान्तकारी घटनाहरूका स्रष्टाहरू ठूला नेताहरू हुन् । तर यो बिलकुल गलत धारणा हो, किनभने वास्तवमा क्रान्तिहरूका, ठूला–ठूला परिवर्तनहरूका प्रेरक शक्ति आम जनता हुन् र कुनै पनि क्रान्तिको भाग्यको निर्धारण जनताद्वारा हुन्छ र त्यसको भाग्य आम जनताको तागत, सङ्घर्ष, अनुशासन र समर्पणमा निर्भर गर्दछ । त्यसो भए पनि, कुन कुरा साँचो हो भने कुनै महान् जनआन्दोलनले, महान् क्रान्तिकारी परिवर्तनले आफूलाई कुनै खास व्यक्तिमा केन्द्रित गर्नसक्छ, कुनै ऐतिहासिक युग एक महान्् व्यक्तित्वमार्फत अभिव्यक्त हुन सक्छ र इतिहासमा सामान्यतः यस्तो भएका पनि छन् । लेनिन एकजना त्यस्तै महान् व्यक्तित्व हुन् जसमा महान् अक्टोबर समाजवादी क्रान्ति र त्यसले सूत्रपात गरेको पुँजीवादबाट समाजवादमा सङ्क्रमणको ऐतिहासिक युगले आफूलाई अभिव्यक्त गरेका छन् । लेनिनसम्बन्धी आफ्नो संस्मरण–लेखमा अमेरिकी पत्रकार अल्बर्ट विलियमले निम्न विचार व्यक्त गरेका छन् ः
“रुसी क्रान्तिको भाग्य आम जनता स्वयम्मा–तिनीहरूको अनुशासन र समर्पण रहन्छ । साँचो भन्ने हो भने, तिनीहरूको लागि भाग्य निकै दयावान् रहेको छ । सर्वसाधारण जनताको लागि त्यसले पथप्रदर्शक तथा व्याख्याताको रुपमा, ठूलो बौद्धिक शक्ति र फलामे सङ्कल्पसहितको एउटा मानिस, विशाल ज्ञान र निडर कार्यबाहीको एउटा मानिस, उच्चतम आदर्शवाद र अत्याधिक दृढ व्यावहारिक चातुर्यको एउटा मानिस प्रदान गरेको छ ।” (ऐ.ऐ पृष्ठ ८१ ।)
लेनिन महान् प्रतिभाशाली व्यक्तित्व थिए, तर त्यसो भए पनि उनी महान् क्रान्तिकारी आन्दोलनका स्वाभाविक उपज थिए, महान् क्रान्तिका मूर्तरुप थिए । फ्रान्सेली लेखक तथा समालोचक जोन– रिचाई ब्लोकले यसबारे सारगर्भित विचार व्यक्त गरेका छन् । उनको भनाइ यस प्रकारको छ ः
“एउटा यस्तो भेटघाट भयो जुन हजार वर्षमा एकपटक मात्र हुनसक्छ – महानतम् बौद्धिक शक्ति र त्यस्ता जनताको बीचमा भएको भेट जसको भावना सो बौद्धिक शक्तिमा मूर्तमान भएको थियो । जनताका आशाहरू, जनताको तागत र रुसका सारा अन्तर्निहित शक्तिहरू सो बौद्धिक शक्तिमा मूर्तमान हुँदै अन्त्यमा गएर ती दुई एक भए । एउटा राष्ट्रको प्रतिभासित एकजना व्यक्तिको प्रतिभाको यस जैविक(organic) मिलनले केही कुराको उपस्थितिको अपेक्षा गर्छ – महान् प्रेम, असीम आस्था, असीमित मनस्वीता (ःMagnarimty), आत्म–बलिदान र आत्म–त्यागको महामानवीय क्षमता । कस्तो महान् प्रेम ? आफूलाई हुर्काएका जनताप्रतिको प्रेम । कस्तो आस्था ? सो जनताको तागतमा आस्था । लेनिनमा ती सबै कुरा थिए । उनको आलोचनात्मक मानसिक शक्तिले–एक शुद्ध तीक्ष्ण हीराले–उक्त गुणहरूलाई कुनै पनि किसिमको साधारणीकरणबाट सुरक्षित राख्यो । उनको अदम्य भौतिक तथा बौद्धिक तागत उनको मनको विशाल तथा ज्यादै बहुपक्षीय तागतको अधीनस्थ रहेको थियो ।” (ऐ.ऐ पृष्ठ २६१ ।)
लेनिनको व्यक्तित्वमा रहेको एउटा प्रमुख विशेषता के थियो भने उनी महान् सिद्धान्तकारका साथै महान् राजनीतिज्ञ पनि थिए । सिद्धान्तविद् र राजनीतिज्ञ दुवै उनको व्यक्तित्वमा अभिन्न रुपमा र बडो उत्कृष्ट किसिमले गाँसिएका थिए र ती दुवैको जम्बर मेल उनको क्रान्तिकारी गतिविधिको एउटा अति महत्वपूर्ण विशेषता थियो । व्यवहारिक क्षेत्रमा दर्शन र राजनीतिक सङ्घर्षको ’ मेलको रुपमा उक्त मेलका अभिव्यक्ति भएको थियो । साँचो भन्ने हो भने, लेनिन सिद्धान्त्त र व्यवहारको भव्य मेलको उत्कृष्ट प्रतिमूर्ति थिए । यस कुरालाई चिलेका महान् कवि पाब्लो नेरुदारले “लेनिनमा समर्पित पङ्क्ति” (Lines of Lenin) शीर्षकको आफ्नो कवितामा यसरी प्रस्तुत गरेका छन् ः
“यस्ता मानिसहरू थिए जोमात्र थिए अनुसन्धाता
प्रत्येकजना किताबजस्तै, गम्भीर, ज्ञानका लागि पूर्ण उत्साहित ।
अरुहरूमा प्रमुख गुण भनको कार्यबाही थियो
तर लेनिनसित ती दुवै प्रतिभा थिए
कार्यबाही र ज्ञान ।” (ऐ.ऐ पृष्ठ २९५ बाट उद्धृत ।)
सिद्धान्तकार र राजनीतिज्ञको मेलको रुपमा लेनिनको व्यक्तित्वमा अन्तर्निहित, यसो हेर्दा अन्तर्विराधी जस्तो देखिने, दुइटा चारित्रिक गुणलाई मेरित्ता सागिन्यानले “बुटिस म्युजिमको पुस्तकालयमा” शीर्षक लेनिनसम्बन्धी आफ्नो संस्मरण लेखमा दुईजना व्यक्तिबाट सुनेको बयानबाट दर्साएका छन् । तीमध्ये एकजना थिए निकोलाइ अलेक्सेयेव, जसले लेनिन लन्डनमा आएका बेलाको एउटा कुरा यसरी बताए ः “आइपुग्नासाथ भ्लादिमिर लेनिनले कुन कुरा बुझाए भने इस्क्राका अरु मानिसहरू सामूहिक रुपमा बस्नेछन्, तर उनी सामूहिक ढङ्गबाट बस्न बिलकुल असमर्थ छन् र उनी सारा समय मानिसहरूसित रहन चाहँदैनन् । रुसबाट र अन्य मुलुकबाट आउने कमरेडहरूले उनको समयको कुनै ख्याल नगरिकन रुसी पाराले आफूलाई पिरोल्ने पहिले नै थाहा पाएर उनले निकै तारानतार गरिने भेटघाटबाट आफूलाई जोगाउन आग्रह गरे ।” ठीक त्यही ताका केहीअघि लेनिन बु्रसेल्समा हुँदा आफू उनलाई भेट्न जाँदाको बेलाको कुरा यस मेस्चेयोकोबले यसरी बताए ः “मैले भ्लादिमिर इलिचलाई सहर, मजदुर पार्टीको सङ्गठन, सुविख्यात स्थानीय सहकारी आदि देखाउन लिएर गएँ । सहकारीबाट निस्कँदा अकस्मात् हामी मजदुरहरूको भीडमा प¥यौं । सो भीड देखेर लेनिन निकै उत्साहित भए र उनले सो प्रदर्शनमा सामेल हुने उत्सुकता देखाए । उनलाई रोक्न मैले समातेर राख्नुपरेको थियो ।” ती दुई घटनाबाट लेनिनको व्यक्तित्वमा रहेका दुइटा गुण व्यक्त भएका थिए ः सैद्धान्तिक चिन्तनको लागि चाहिने एकाग्रता, एकान्तवास र जनतासित घुलमिल हुने अभिप्रेरणा यसबारे लेखिका भन्छिन् ः “ती दुइटा कुरा अन्तर्विरोधीजस्तो देखिए पनि, त्यसले वास्तवमा चरित्रका एकदमै मिल्दा तत्वहरूलाई खुलस्त पार्छ ः एकाग्रचित हुने, आफू एक्लै बस्ने आवश्यकता र जनताको बीचमा रहने उत्कृष्ट प्रेरणा ।” (ऐ.ऐ पृष्ठ ३८५–६ ।)
यसरी लेनिनको व्यक्तित्वमा एक कुृशल राजनीतिज्ञ र एक महान् सिर्जनशील विचारकको अनुपम मेल व्यक्तिएको थियो । उनी सारा समय सिर्जनात्मक सिद्धान्तविद् र क्रान्तिकारी–व्यवहारिककर्मी दुवै थिए । उनका सारा गतिविधिहरू माक्र्स र एंगेलसद्वारा प्रतिपादित क्रान्तिकारी सिद्धान्तलाई तत्कालीन सर्वहारावर्गीय आन्दोलनसित सिर्जनात्मक र क्रियात्मक ढङ्गबाट गाँस्ने र सो सिद्धान्तद्वारा वर्तमान युगको श्रमिक जन–मुक्ति आन्दोलनलाई अतिसिक्त पार्ने प्रयत्नमा केन्द्रित र समर्पित रहेका थिए ।
हङगेरियाली लेखक पिटर वोरोसले लेनिनमा दुइटा गुणको मेल–प्राकृतिक प्रतिभा र ऐतिहासिक तत्वहरूको लेखाजोखा गर्ने क्षमताको मेल–रहेको बताएका छन् । त्यस सम्बन्धमा उनले निम्न विचार व्यक्त गरेका छन् ः
“वैयक्तिकता र विश्व–दृष्टि, सारा परिघटनाहरूप्रति छिटो र ठीक प्रतिक्रियासित गाँसिएको सतर्कता, मित्र र शत्रुबीच भेद पत्ता लगाउने सीप, सफलताको पछि नलागी सो प्राप्त हुने विश्वासका साथ कुनै पनि समय वा परिस्थितिमा सही अडान लिने, निर्णय गर्दा दृढता दर्साउने क्षमता… प्रतिभाका, नेतृत्व गर्न जन्मेका व्यक्तिका विशेषता यिनै हुन् । ” (ऐ.ऐ पृष्ठ ३७९)
लेनिनको चरित्रमा त्यस्ता केकस्ता गुणहरू थिए, जसले गर्दा उनी महान् गुरु र क्रान्तिकारी नेता बनेका थिए ? यो एक निकै महत्वपूर्ण सवाल हो । यस सम्बन्धमा मेरित्ता सागिन्यानले “लेनिनको पाइला पछ्याउँदै” शीर्षकको आफ्नो लेखमा आफूले धेरैजसो लेनिनसम्बन्धी संस्मरणका पुस्तकहरू पढ्ने गर्नाको कारणबारे चर्चा गर्दै लेखेकी छन् ः
“मैले ती लेखकहरूमा कस्ता गुणहरूले लेनिनलाई अन्तर्राष्ट्रिय मजदुरवर्गीय आन्दोलनका नेता बनाएका थिए, कुन चारित्रिक गुणहरूले गर्दा उनलाई मानवजातिको स्नेह मिलेको थियो र कस्ता चरित्रिक विशेषताहरूलाई मैले आफूमा विकसित गर्नुपर्छ भन्ने कुरा पत्तालाउन इच्छा गरेकी थिएँ । समग्रमा उनका दृढ आस्था र विश्वासहरूबाट छुट्टै कुन कुराले उनलाई साधारण मानिसबाट एकजना विशिष्ट कम्युनिष्ट बनायो भन्ने कुरा मैले बुझ्न चाहेकी थिएँ ।”
“चरित्रको खुलासा गर्ने दसी भनेको आचरण (behaviour) हो, आचरण भनेको त्यस्ता चारित्रिक गुणहरूको कूल जोड हो जसमा अरुहरूलाई प्रभावित गर्ने विश्वास, सम्मान र अनुसरण गर्ने इच्छालाई अभिप्रेरित गर्ने शक्ति रहन्छ, यो आग्रह बुद्धिप्रति मात्र होइन, बरु अधिक गहन छ र एकप्रकारले अरु व्यक्तिको आकाङ्क्षासित गाँसिएको छ ।” (मेरीत्ता सागिन्याना,“लेनिनको पाइला पछ्याउदै” अङ््गे्रजी संस्करण, पृष्ठ १६८ । यो रचना एउटा सङ्ग्रहमा समाविष्ट छ, जसमा अन्य दुई रचना मेरिया प्रिलेजायेवाको “एक उल्लेखनीय वर्ष” र इमानुयल काजाकेविकको “नीलो पुस्तक” पनि रहेका छन्, यहाँ दिएको पृष्ठ सोही सङ्ग्रहको पृष्ठ हो । )
यहाँ तिनै महान् व्यक्तित्वको चरित्रका विशेषताहरूलाई खुलस्त पार्ने उद्देश्य लिइएको छ । यसको लागि उनको बारेमा लेखिएका एकाध लेखहरू, खासरुपले “लेनिनको चरित्र–चित्रण” (Lenin in Profile ) नामक पुस्तकमा जसमा लेखहरू सङ्ग्रहित गरिएका छन्, त्यसलाई आधार बनाइएको छ । यस लेखमा उपरोक्त लेखहरूबाट उनको चरित्रमा प्रकाश पार्ने भनाइहरू उद्धृत गरिएका छन्, जसले गर्दा महान् विचारक, राजनीतिज्ञ र मानिसको रुपमा लेनिन वास्तवमा कस्ता थिए भन्ने कुरा खुलस्त हुन जानेछ ।
सिद्धान्तप्रति दृढ अडान र निष्ठा
सिद्धान्तकारको रुपमा, दार्शनिकको रुपमा लेनिनको चरित्रमा अन्तर्निहित एउटा महत्वपूर्ण गुण चिन्तनमा सुसङ्गतिपन, सिद्धान्तप्रतिको दृढ अडान र इमानदारी थियो । सिद्धान्तमा आधारित नीति नै एकमात्र सही नीति रहन्छ भन्ने उनको दृढ मत थियो र उनी यस प्रस्थापनाप्रति हरहमेसा दृढ रहे । “लेनिन” शीर्षकको आफ्नो लेखमा स्टालिनले एकाध दृष्टान्त दिएर लेनिनको यस चारित्रिक विशेषतालाई निम्नरुपमा दर्साएका छन् ः
“पार्टी नेतृत्वहरुले बहुमतको रायलाई आदर नगरिरहन सक्दैनन् । बहुमत यस्तो शक्ति हो, जसलाई नेताले महत्व नदिइरहन सक्दैन । लेनिन यस कुरालाई कुनै नेताले भन्दा कम बुझ्नु हुन्न । तर, लेनिन कहिले पनि, खासगरी बहुमतको कुनै सैद्धान्तिक आधार नहुँदा, बहुमतको बन्दी बन्नु भएन । हाम्रो पार्टीको इतिहासमा यस्ता बेलाहरू पनि रहेका छन्, जब बहुमतको राय वा पार्टीका क्षणिक हितहरू सर्वहारा वर्गका मूल हितहरूसित बाझिएका हुन्थे । यस्ता बेलाहरूमा लेनिन कहिल्यै हिच्किचाउनु भएन र उहाँले पार्टीको बहुमतको विरुद्ध सिद्धान्तको समर्थनमा अविचलित रुपले आफ्नो अड्डी लिनुभयो ।” (“स्टालिनका छानिएका रचनाहरू” नेपाली संस्करण, अनु. कृष्णदास, पृष्ठ ८५ । )
लेनिनको जीवन निरन्तर सङ्घर्षको जीवन थियो र उक्त सङ्घर्षको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा सर्वहारा वर्गको सच्चा पार्टी निर्माण र माक्र्सवादका क्रान्तिकारी शिक्षाहरूको रक्षाको लागि र सर्वहारावर्गीय आन्दोलनभित्र रहेका विभिन्न खालका गैर–सर्वहारा विचारहरूको विरुद्ध, जस्तो कि अर्थवाद, अवसरवाद, संशोधनवाद, वामपन्थी सङ्कीर्णतावाद, क्रान्तिकारी शब्दाडम्बरवाद आदिको विरुद्ध सङ्घर्ष रहेको थियो । सो सङ्घर्षमा उनी विचलित भएनन् र आफ्नो महान् लक्ष्यको सिद्धीकरणका लागि अडिग रुपमा लडिरहे । यस सम्बन्धमा फ्रान्सेली लेखक हेनरी बार्बुस्सको भनाइ निम्न प्रकारको छ ः
“… जुन शिक्षामा उनले आफ्नो आस्था राखेका थिए, जुन शिक्षाको विकासको निम्ति उनले त्यतिका काम गरेका थिए, त्यससित बाझिएका कुनै पनि विचारको प्रलोभन, जुन सिद्धान्तकारहरूलाई उनले आखिरमा गएर आधुनिक यथार्थतामा (भविष्यमा पनि त्यसको अस्तित्व रहने गरी) कार्यान्वित गरेका थिए त्यससित बाझिने कुनै पनि विश्वास कहिले पनि उनको लागि कुनै मोहको विषय बनेन ।”
“उनको विचारमा हामी विचलनको कुनै चिहन पाउँदैनौं, किनभने उनी कहिले पनि विचलित भएनन् ।” (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ २२६ । )
सिद्धान्तप्रतिको लेनिनको अविचल आस्था र निष्ठा सो सिद्धान्तबाट हुने कुनै पनि विचलनप्रति र त्यसको कार्यान्वयनमा बाधा हाल्ने कुनै पनि व्यक्तित्वप्रति उनको दृढ विरोध र सङ्घर्षसित अभिन्न रुपमा गाँसिएको थियो । त्यस्तो विचलन–बाधक तत्वप्रति उनको मेल हुनै नसकिने, एक प्रकारले शत्रुतापूर्ण व्यवहार रहयो । त्यसले गर्दा आफ्ना धेरैजना मित्र र सहयोद्धाहरूसित उनको सम्बन्ध टुट्न गयो र तिनीहरू उनका विरोधीमा फेरिए । उक्त कुरा एक प्रकारले स्वाभाविक र अनिवार्यजस्तो भए पनि, त्यसले लेनिनलाई बडो दुखित पारेको थियो । रुसी लेखक इम्मान्यूल काजाकेविकले यस कुरालाई निम्न शब्दमा दर्साएका छन् ः
“ ती बीस वर्षको समयका तिनीहरूले कत्रा क्षतिहरू बेहोरेका थिए । पुरानो इस्क्रामा रहेका उनका सहयोद्धाहरू–बडो विद्वान् प्लेखानोव, प्रतिभाशाली मार्तोव, क्षमतावान् अक्सेलरोड, दयालु, असल वेरा जासुरिक– तिनीहरू अहिले शत्रु, अशाम्य, निर्मम शत्रु रहे । निम्न–पुँजीपति वर्गका अधकल्चो विचारधारालाई प्रतिविम्बित गरेको कारणले गर्दा तिनीहरु शत्रु बनेका हुन् भन्ने सोच्दा आफू ढुक्क रहनु सम्भव त होला– त्यो साँचो हो–तर त्यो कुनै सान्त्वना चाहिँ थिएन । मित्रता र संलग्नता टुटेका थिए, उनी आफूबाट आफ्नै रगत–मासुका भागहरू अलग पारेझैं, मित्रहरूबाट छुट्टिन बाध्य रहेका थिए । निम्न–पुँजीपति वर्गका तरल विचारधाराबारे सारा सैद्धान्तिक कुरा हुँदाहुँदै पनि, उनीहरूसित–प्लेखानोव र मार्तेवसित–फेरि मेलमिलाप हुने सम्भावना रहेका भए, उनी कति खुसी हुने थिए होलान्, उनलाई कति सुख प्राप्त हुने थियो होला । वर्तमान क्रान्तिले स्पष्ट रुपबाट सदाको लागि उनीहरूलाई अलग पारिदिएको छ ।” (इमानुयल काजाकोविक, नीलो पुस्तक”, अं.सं, पृष्ठ ९४ ।)
सिद्धान्तप्रति लेनिनको इमानदारी तथा आस्थाको कारणले गर्दा उनका अनेकौं मित्र तथा सहयोद्वाहरू उनीबाट अलगिए र त्यसलाई उनले एउटा ठूलो दुःखपूर्ण घटनाको रुपमा लिएका थिए । दुःखको घटना, किनभने तिनीहरूले उनको सैद्धान्तिक तथा व्यावहारिक कार्यमा सघाउ र सहयोग गरेका थिए । ती सहयोद्धाहरू निश्चय पनि विद्वान् र प्रतिभाशाली थिए, तर लेनिनको उचाइ तिनीहरूको भन्दा बढी अग्लो थियो र उनको व्यक्तित्व अपूर्व खालको थियो । स्टालिनले लेनिनलाई अन्य नेताहरूको दाँजोमा “उच्चतम दर्जाका नेता, पहाडी चील” (“स्टालिनका छानिएका रचनाहरू” नेपालीमा, पृष्ठ ८२ ।) को संज्ञा दिएका थिए । ब्रिटिस लेखक जर्ज बर्नाड शा लेख्छन् ः
“लेनिन त्यस्ता मानिसहरूको जमातमा मात्र एकजना थिए, जसमध्ये कोही अत्याधिक असाधारण, अपूर्व र अनुपम बुद्धिका थिए–यस्ता मानिसहरू जसमध्ये कोही कुनै एउटा कुरोमा स्वयं लेनिनभन्दा माथि थिए र त्यसले गर्दा लेनिन आफ्ना धेरै काममा तिनीहरूको सहयोगको लागि आभारी थिए– तर पनि असाधारण, विशिष्ट मानिसरुको सो समूहमा उनको एउटा अनुपम व्यक्तित्व रहेको थियो ।”( “लेनिनको चरित्र–चित्रण,” पृष्ठ १९२ ।)
ठीकसित के भनिएको छ भने “माक्र्सवाद कुनै जडसूत्र होइन, बरु कार्यमा एउटा पथप्रर्दशक हो ।” वास्तवमा माक्र्सवादमा अन्तर्निहित शक्ति ठोस परिस्थितिमा त्यसको प्रयोगमा प्रस्फुरित हुन्छ । लेनिनको मामिलामा उक्त प्रस्थापनाले बडो सशक्त तथा यथार्थ रुपमा अभिव्यक्ति प्राप्त ग¥यो । लेनिनको बौद्धिक क्षमता, साहस तथा दृढ सङ्कल्पसित एकजुट भएर उक्त सिद्धान्त उनको निम्ति ठोस परिस्थितिको ठीकसित विश्लेषण गर्ने ऐतिहासिक विकास कुन दिशातर्फ लगिरहेको छ त्यसको ठीकसित निरुपण गर्ने र सर्वहारा आन्दोलनलाई सही दिशामा निर्देशित गर्ने आधार बन्यो । यस सम्बन्धमा अमेरिकी लेखक जोन रिड भन्छन् ः
“एकजना अनौठो जन–नेता–एकदमै बुद्धिको आधारमा बनेका नेताः सफा र सरल, रसिकताहीन, सम्झौताहीन, तथा निर्लिप्त, चित्रवत् सनकको अभाव रहेका–तर गम्भीर विचारलाई साधारण शब्दमा व्याख्या गर्ने, ठोस परिस्थितिको विश्लेषण गर्ने शक्ति भएका नेता । कुशाग्रबुद्धिसित गाँसिएको महानतम बौद्धिक साहस ।” (ऐ.ऐ पृष्ठ ५४ ।)
जोन रिडको उक्त भनाइले महान् सिद्धान्तकारको रुपमा लेनिनमा रहेको क्षमता र गुणलाई सामान्य रुपमा खुलस्त पारेको छ । लेनिनको चरित्रमा रहेको एउटा अर्को विशेषतालाई हेनरी बार्बुस्सेले निम्न रुपमा दर्साएका छन् ः
“हामीले लेनिनको अर्को एउटा कुशलतालाई जनाउनुपर्छ–जस्तोसुकै परिस्थितिमा पनि समचित्तता र अनुद्वेग कायम राख्ने क्षमता । अर्को कुरा के भने यो क्षमता जन्मजात चारित्रिक गुण वा कुनै भाग्यमानी स्वभावको प्रवृत्ति थिएन, बरु यो सचेत तथा विधिवत् प्रयत्नको परिणाम थियो । उनलाई कुन कुरा थाहा थियो भने उनको जीवनको अर्थ रहेका उनका राजनीतिक गतिविधिहरूका लागि उक्त अनुद्वेग एउटा आवश्यक सर्त हो । त्यसैले, उनले सो गुणलाई नछाडिकन विकसित गरे र त्यसलाई कायम राख्न सदा प्रयत्न लगाए ।”(ऐ.ऐ पृष्ठ २२८ ।)
एक सच्चा चिन्तकमा हुनुपर्ने एकाग्रता, तल्लीनता लेनिनमा पर्याप्त मात्रामा रहेको थियो । साँचो भन्ने हो भने, उनी सैद्धान्तिक चिन्तनमा चाहिने बलियो एकाग्रचित्तताका एक उत्कृष्ट प्रतीक थिए । सो विशेषता उनको एउटा अत्याधिक महत्वपूर्ण गुण थियो । माक्र्सवादलाई नौलो चरणमा विकसित गर्नमा प्राप्त उनको महान् उपलब्धि र उनीद्वारा प्रतिनिधित्व गरिएको एउटा महान् लक्ष्यको विजयको पछिल्तिर रहेको एउटा महत्वपूर्ण तत्व उक्त गुण थियो । लेनिनसम्बन्धी संस्मरणमा नदेज्दा क्रुप्स्कायाले त्यसको उल्लेख निम्न रुपमा गरेकी छन् ः
“आफू रहेको कोठामा कुनै मानिस कुरा गरिरहेको छ भने उनी लेख्न सक्दैनथे वा भनूँ, लेख्न मनपराउँदैनथे, उनलाई पूर्ण शान्ति चाहिन्थ्यो ।”(ऐ.ऐ पृष्ठ ४१३ ।)
“सामान्य, प्रधान चित्तवृत्ति (mood) तीव्र एकाग्रता थियो….”
“सवालमा डुबुल्की मार्ने, वैज्ञानिक रुपले त्यसको परीक्षण गर्ने चाहना निकै निश्चित थियो ….”
“भयानक एकाग्रतको क्षमता थियो…”
“आत्म–आलोचक, आफैप्रति ज्यादै चुस्त (exacting) थिए । तर उनी आफ्नै आत्माभित्र खोतलखातल गर्ने कुरा र विकृत आत्मविश्लेषणलाई घृणा गर्दथे….”
“उनी बहादुर र दृढ सङ्कल्पित थिए” (ऐ.ऐ पृष्ठ ४१५ ।)
जनताप्रति प्रेम, सम्मान र विश्वास
श्रमिक जनताका सच्चा नेतामा एउटा गुणको विकास हुनु आवश्यक छ । त्यो गुण के भने उसले जनतालाई आफूसँगसँगै लैजान, तिनीहरूलाई सिकाउन, सचेत तथा सशक्त पार्न र साथै जनताबाट सिक्न र तिनीहरूको अनुभवबाट आफूलाई अरु प्रबुद्ध बनाउन सक्नुपर्छ । एकले अर्कोलाई सिकाउने र एकले अर्कोबाट सिक्ने एउटा त्यस्तो उपाय हो जसले नेता, पार्टी र जनतालाई बाँधिराख्ने बलियो सूत्र र कडीको काम गर्दछ । सर्वसाधारण जनतालाई सिकाऊ र सर्वसाधारण जनताबाट सिक– लेनिनको राजनीतिक क्रियाकलापमा एउटा मूलमन्त्र त्यही थियो । लेनिन जनतालाई सिकाउनमात्र होइन, जनताबाट सिक्न पनि त्यतिकै चासो र ध्यान दिन्थे । यस सम्बन्धमा अल्बर्ट विलियमको भनाइ तल उद्धृत गरिएको छ ः
“तर अर्कोतिर, कठोर जीवन र श्रमको पाठशालाबाट किसानले व्यावहारिक रुपबाट थुप्रै कुरा जानेका हुन्थे । उनीहरूसित धर्तीको ज्ञान थियो । उनीहरूले जानेको कुरा आफूले थाहा पाउन लेनिन उत्सुक थिए । सबै साँच्चिकै महान् व्यक्तिहरूझैं, लेनिन यति विनम्र थिए कि उनले अत्यधिक अशिक्षितहरूसित पनि आफूलाई दिने केही कुरा छ भन्ने बुझेका थिए । यसरी उनको सूचनाका सूत्रहरू धेरै स्थान र जनसमुदायहरूसम्म पुगेका थिए । जम्मा भएका हजारौं तथ्यहरूलाई उनी सावधानीपूर्वक तौलन्थे, केलाउँथे, विश्लेषण गर्थे । त्यसबाट उनलाई आफ्ना शत्रुहरूभन्दा बढी फाइदा हुन्थ्यो, जसको कारण उनी तिनीहरूलाई बुद्धि र चतु¥याइँमा पार्न समर्थ भए …
“साधारण जनतासित उनलाई दिने केही कुरा थिए । तिनै कुरा उनी जनतालाई स्वागत गर्न सदा तत्पर रहनाको एउटा कारण थियो । दोस्रो कारण के भने उनीसित तिनीहरूलाई दिनका लागि केही कुरा थिए– सामाजिक शक्तिहरूसम्बन्धी र क्रान्तिको रणनीतिसम्बन्धी उनको ज्ञान, समाजवाद निर्माणका लागि उनका योजना र परियोजनाहरू । अझ अर्को र अत्यधिक बलियो कारण के थियो भने लेनिन तिनीहरूलाई मनपराउँथे – मूल रुपमा तिनीहरूलाई मनपराउँथे र प्यार गर्दथे । जसरी लेनिनमा पुँजीवादका परजीवी र पिट्ठूहरू–दलालहरू,फाटकबाजहरू, चालबाजहरू र छलीहरूप्रति असामान्य घृणा थियो । त्यस्तै, अर्कोतिर, उनमा सम्पदाका उपजहरू, कोइला, ढुङ्गा र धातुका काम गर्ने मजदुरहरू, खेत र बनमा काम गर्ने मजदुरहरूप्रति असाधारण स्नेह थियो (ऐ.ऐ पृष्ठ २०२) ।
जनताबाट सिक्ने लेनिनको चासो र उत्सुकता कति तीव्र थियो भन्ने स्पष्ट पार्न अल्बर्ट विलियमले आफ्नो संस्मरणमा एउटा घटनाको उल्लेख गरेका छन् । साधारण जनतासित, मजदुर र किसानहरूसितको भेट र त्यसको लागि समय दिने कुरा लेनिनको प्राथमिकतामा परेको थियो । मानिसहरूसितको भेट र त्यसको लागि समय दिने कुरा लेनिन ठूलो समयपालक (punctual) थिए । एकपल्ट लेखक र अन्य केही व्यक्ति लेनिनले दिएको समयमा उनलाई भेट्न जाँदा भेट पाउन डेढ घण्टा पर्खिनुपरेको थियो र उनीहरूले लेनिन कुनै विशिष्ट मानिससित कुरा गरिरहेका होलान् भन्ठानेका थिए । तर, अल्बर्ट भन्छन् ः
“आखिरमा ढोका खुल्यो र मटानमा बसिरहेका सबैलाई छक्क लाग्नेगरी कोठाबाट कुनै अफिसर, कूटनीतिज्ञ र उच्च पदमा रहने प्रतिष्ठित व्यक्ति होइन, बरु भेडाको छालाको कोट र बेतको जुत्ता (boot) लगाएका एकजना झ्यापुल्ले कपाल भएका किसान– सोभियत भूमिभर लाखौंको सङ्ख्यामा भेटिने एकजना विशिष्ट गरिब किसान निस्केर आयो ।
“आफ्नो कार्यालयमा पसेर लेनिनले भने ः ‘यिनी ताम्बोबबाट आएका किसान थिए र म विद्युतीकरण, सामूहिकीकरण र नयाँ आर्थिक नीति (ल्भ्ए) बारे उनका विचारहरू सुन्न चाहन्थेँ । कुरा कति चाखलाग्दो रह्यो भने मैले समय भुसुक्कै बिर्सें (ऐ.ऐ पृष्ठ २०३) ।”
जनतालाई सिकाउनु र जनताबाट सिक्नु– यो गुण लेनिनको चरित्रमा उच्चतम मात्रामा विकसित भएको थियो । उनले कुन तथ्यलाई राम्ररी बुझेका थिए भने आफूले ग्रहण गरेको क्रान्तिकारी सिद्धान्तलाई यथार्थतामा परिणत गर्नका लागि भौतिक आधारको खाँचो पर्छ र त्यो भौतिक आधार भनेको आम श्रमिक जनताको चेतना, सङ्गठन र तागत हुन् । आफ्नो सारा प्रतिभा र जीवनको लक्ष्यलाई उनले जनताको जीवन्त हितको निम्ति सुम्पेका थिए । तसर्थ सिद्धान्त र लक्ष्यप्रति उनको जति अविचल प्रेम र आस्था थियो, त्यत्तिकै प्रेम र विश्वास जनताप्रति पनि थियो ।
लेनिनमा शोषितपीडित जनताप्रति प्रेम र सहानुभूति र शोषक तथा उत्पीडकहरूप्रति असीम घृणा अति उच्चतम मात्रामा थियो । यसलाई सामान्यतः महान् व्यक्तिको एउटा चारित्रिक गुण मानिन्छ । जनताप्रति लेनिनको सरल व्यवहार, असीम प्रेम र विश्वासको कारणले गर्दा सर्वसाधारण जनताले लेनिनलाई आफूजस्तै एउटा मानिस, आफ्नै मानिसको रुपमा हेर्दथे , डेनमार्कका मार्टिन एन्डर्सनले लेनिनसम्बन्धी संस्मरण लेखमा एकजना नर्वेजियाली मजदुरले “एकजना सच्चा मानिस छन् । ती हामीमध्येकै एकजना जस्तो लाग्छ, मात्र उनका आँखाहरू हजार गुना बढी तीक्ष्ण छन्” भने भनेर लेनिनबारे व्यक्त विचारलाई यसरी उद्धृत गरेका छन् ः
लेनिन जो अपूर्व बुद्धिका मानिस थिए, उनी साधारण जनताका आवाज र दिलको धड्कनलाई ध्यान दिएर सुन्थे, उनीहरू र उनीहरूको कामलाई महत्व दिएर र साधारण मानिस र उनीहरूको श्रम नै जीवनको शिखर हो भन्ने देखाएर उनीहरूबाट सिक्थे । यो एउटै कुरा हजारौं वर्षको दुःखको लागि एउटा पुरस्कार थियो, साधारण जनताले आफू र आफ्नो जीवनबारे यति राम्ररी जानकारी राख्ने व्यक्ति पहिले कहिल्यै देखेका थिएनन् (ऐ.ऐ पृष्ठ ११९) ।”
श्रमिक जनता र तिनको तागत र रचनात्मकताप्रति लेनिनमा रहेको दृढ विश्वास उनको चरित्रको एउटा विलक्षण विशेषता थियो । शोषण तथा उत्पीडनबाट भयानक दुखकष्ट भोगिरहेका जनताभित्र ठूलो तागत र सामथ्र्य हुन्छ भन्ने कुरामा लेनिनको अटल विश्वास थियो । कोलम्बियाली लेखक लुइस तेजादाले लेनिनबाट आफूले उक्त कुरा सिकेको जिकिर गर्दै लेखेका छन् ः “लेनिनले मलाई साधारण जनताको दिलको धुकधुकीमा रहेको काव्यलाई बुझ्न र झुत्रो लुगा लगाएका र फोहोरमा बाँचिरहेका जनतामा रहेको सौन्दर्य र तागतका बीजहरूलाई देख्न सिकाए । अब मलाई कुन कुरा थाहा भयो भने सर्वहारा जनसामुदायहरूमा र अत्याधिक पददलित, अशिक्षित तथा अज्ञानी मानिसभित्र समेत मानव–प्रतिष्ठाको कण विकसित हुँदैछ । यसले मात्र मानिसलाई बहादुर, बलियो, उदात्त बन्न र उत्पीडन तथा अनादरको विरुद्ध उठ्न मद्दत गर्नसक्छ (ऐ.ऐ पृष्ठ १७४) ।”
प्रेम र घृणा यस्ता दुइटा विपरीत तत्व हुन् जसमा एकको अस्तित्व अर्कोको अस्त्विको अभावमा रहन सक्दैन । प्रेम जति मात्रामा बढी र आकारको हुन्छ, त्यत्तिकै धेरै र ठूलो घृणा हुन्छ । जो मानिसको दिलमा प्रेम हुन्छ, त्यसमा घृणा पनि हुनैपर्छ । जो मानिस दिलैदेखि आफ्नो देशलाई प्रेम गर्छ, उसले राष्ट्रघात र राष्ट्रघातीप्रति घृणा नगरिकन रहन सक्दैन । लेनिनको चरित्रमा श्रमिक जनताप्रति असीम प्रेम र शत्रुहरूप्रति अपार घृणा अभिन्न रुपमा गाँसिएको थियो । त्यो उनको एउटा विशिष्ट चारित्रिक लक्षण थियो । डेनमार्कका हैन्स सचर्फिगले आफ्नो संस्मरणमा लेखेका छन् ः
“दयामाया, एकबद्धता र आफ्ना सहकर्मीहरूको सुखप्रति चासो – उनको जीवनलाई निर्धारित गर्ने यिनै कुरा थिए । अन्यायप्रति घृणा, मानवीय दुःखप्रति असहिष्णुता उनको जङ्गी नारा बन्यो । उनको जीवन–कार्यमा मानवजातिको दुःखप्रति नमेटिने शत्रुता, पृथ्वीमा खराबीको उन्मूलनको सम्भावनाप्रति उज्यालो आस्था र एउटा निश्चित आशावाद व्याप्त रहेको थियो (ऐ.ऐ पृष्ठ ३६३) ।”
जनताले भोगिरहेका दुर्भाग्य, दुःखकष्ट तथा अन्यायप्रति गहन घृणा र तिरस्कार लेनिनको अपूर्व गुण थियो । त्यसका साथै, लेनिनमा कुन कुराप्रति अगाध तथा दृढ विश्वास थियो भने आम जनतामा क्रान्तिकारी सामथ्र्य छ, तिनीहरू दुर्भाग्यहरूको उन्मूलन गर्न, विद्यमान समाजको क्रान्तिकारी रुपान्तरण गर्नसक्छन् । यस सम्बन्धमा गोर्की भन्छन् ः
“मलाई लाग्छ लेनिनमाअसामान्य रुपले ठूलो मात्रामा रहेको कुरा यस्तो छ– दुर्भाग्यप्रति उनको असामान्य र नमेटिने घृणा र दुर्भाग्य जीवनको कुनै हटाउन नसकिने आधार होइन, बरु एउटा घृणित चीज हो , जसलाई जनताले आफ्नो बाटोबाट पन्छाउनुपर्छ र पन्छाउनसक्छन् भन्ने उनको प्रगाढ विश्वास ।
“उनको चरित्रको यस आधारभूत गुणलाई म एकजना भौतिकवादीको जुझारु आशावाद भन्छु (ऐ.ऐ पृष्ठ ३१) ।”

लेनिन
Leave a Reply