भर्खरै :

नेपालको पहिलो जीत

काठमाडौँ, १० असोज  : नेपालको पुरुष टोलीले ४३औँ चेस ओलम्पियाडमा पहिलो जीत निकालेको छ ।
जर्जियामा जारी प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो चरणको खेलमा नेपालले नेदरल्याण्ड एन्टिलाइजलाई २.५–१.५ ले हरायो । जीतसँगै नेपालले दुई अङ्क बनाएको छ । नेपाल पहिलो चरणमा क्यानडासँग ३–१ ले पराजित भएको थियो ।
नेपालका सिएम रिजेन्द्रराज भण्डारीले दोस्रो चरणमा सिएम जिमी लेजाक र विवेक थिङले आर क्यापेलालाई पराजित गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
आजै भएको अर्को खेलमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले नेदरल्याण्डका बेगलेमन भानसँग बराबरी खेले भने हिमाल लामा विम ब्लिजास्टासँग पराजित भए । पुरुष टोलीले तेस्रो चरणमा बिहीबार सिङ्गापुरसँग खेल्नेछ ।
यसैगरी महिलातर्फ नेपाल दोस्रो चरणमा कोस्टारिकासँग ४–० ले पराजित भएको छ । नेपाल च्याम्पियन मोनालिसा खम्बु सुशीला गुरुङ, सिन्दिरा जोशी र सुजना लोहनी चारै जनाले हार बेहोरेका छन् । नेपाली महिला टोलीले पहिलो चरणमा लात्भियासँग ४–० कै हार खेपेको थियो । तेस्रो चरणमा नेपाली महिला टोलीले गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट १० खेलाडीले सहभागिता जनाएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *