भर्खरै :

सरकारप्रति सत्तासीन दलकै नेताहरू असन्तुष्ट

–गोपाल नगरकोटी
पदका भोका नेताहरूको चरित्र अवसरवादी हुनु अस्वाभाविक होइन । ती नेताहरू दीर्घकालीन हित सोच्दैनन् । आफू पदमा पुग्न पाएपछि या पदमा पुगेर रजाइँ गर्न पाएपछि सिद्धान्त र विचारको वास्ता गर्दैनन् । पदमा पुग्न तिनीहरू अनेक तानाबाना बुन्छन्, गोप्यरुपमा भएको आन्तरिक सहमति पनि बाहिर ल्याउन पछि पर्दैनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पालैपालो प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्ने आन्तरिक सहमति भएको रहस्य केही दिन पहिले सार्वजनिक गरे । आफ्नो पार्टीभित्र भएको सहमति भारतीय शासकसमक्ष नै जी हजुर गरेर किन बिन्ती चढाउनुप¥यो भन्ने प्रश्न राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । पालैपालो प्रम बन्ने सहमति भएको कुरा भारतीय शासकसमक्ष बिसाएको घटनाले नेपाल सरकारको हेरफेर कहाँबाट हुन्छ भन्ने सङ्केत दिएको छ । आज तिनै अध्यक्ष दाहालले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न नसके कम्युनिष्ट पार्टीको अस्तित्व सङ्कटमा पर्ने बताए ।
अध्यक्ष दाहालको यो भनाइले आफ्नै पार्टीको वर्तमान सरकारले गरिरहेको कामप्रति सन्तुष्ट नभएको देखाउँछ । ‘‘सबै क्षेत्रमा एउटै पार्टीको अत्यधिक बहुमत हुँदा पनि कामलाई परिणाममा देखिने गरी गर्न सकेनौं भने कम्युनिष्ट पार्टीको भविष्य छैन’’ भन्ने उनको अभिव्यक्तिमा निराशा रहेको प्रस्ट छ । गरिरहेको काम सन्तोषजनक नभएको र त्यो काम कम्युनिष्टको सिद्धान्त र विचारअनुसार नभएको भन्ने अध्यक्ष दाहालको टिप्पणी कतै प्रम ओलीको लागि खबरदारी त होइन ? त्यो खबरदारी सरकार छोडाउन बजाएको घण्टी त होइन ? पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिको कुरा बाहिर आएको सेलाउन नपाउँदै सरकारले गरिरहेको काममा पार्टीकै अध्यक्ष दाहालले असन्तोष पोखेर के सरकारको नेतृत्व गर्ने मेरो पालो आउन लाग्यो है भन्ने सूचना प्रवाह गरेका त होइनन् ?
त्यसो त सत्तारुढ दलका मन्त्री र नेताहरूले सरकार हेरफेरको कुनै सङ्केत नभएको बताए । त्यो सङ्केतले तत्काल सरकारको हेरफेर नभए पनि त्यो ५ वर्षकै लागि नभएको कुरा दाहालको अभिव्यक्तिले थाहा हुन्छ । माओवादी केन्द्रका पूर्व नेताहरूले पनि दाहालको अभिव्यक्तिलाई मौन समर्थन गरेका छन् । भारतको चाहना नेपालमा कम्युनिष्ट पार्टीलाई कमजोर बनाउनु हो, नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच फाटो ल्याउनु हो या मतमतान्तर बढाएर दुवैलाई सत्ताभोगमै केन्द्रित गराउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *