भर्खरै :

सम्पदा संरक्षणमा नयाँ पुस्ताको सक्रियता उत्साहप्रद

भक्तपुर, १० असोज । भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा ३९ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरको कला, संस्कृति, सम्पदा, पर्यटनसम्बन्धी विविध गतिविधिहरूको सूचनामूलक वेभ साइटको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष रोहितले भाषा, संस्कृति र धरोहर विश्वकै सम्पत्ति भएको बताउँदै मानव सभ्यताको निम्ति डिजिटल प्रविधि नेपाली सभ्यता विश्वमाझ थाहा दिने राम्रो माध्यम भएको बताउनुभयो ।
उहाँले भक्तपुरको कला–संस्कृतिलाई व्यापारिक प्रयोजनको निम्ति मात्र प्रचार गर्नुभन्दा पनि मानव सभ्यताकै निम्ति प्रचार गर्न आवश्यक हुने बताउनुभयो । नयाँ पुस्तालाई समेटेर सम्पदा संरक्षण गर्नु सकारात्मक कार्य हुनेमा उहाँले जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुपम सम्पदा भएको ठाउँमा पर्यटक आकर्षण गर्न प्रचारप्रचारले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भक्तपुर नगरपालिका सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा निरन्तर लागिरहेको बताउनुभयो । भक्तपुरको भविष्य पर्यटन व्यवसाय हुने बताउँदै भनपाले चिनियाँ भाषा प्रशिक्षण तथा स्थानीय पथप्रदर्शक तालिमजस्ता पर्यटक केन्द्रित गतिविधि गरिरहेको बताउनुभयो ।
प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईंले नयाँ प्रविधि अँगालेर विश्वका जनतामाझ पुग्नु सकारात्मक रहेको बताउँदै यसको संवद्र्धन र प्रवद्र्धनमा ध्यान दिंदै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर पर्यटन विकास सङ्घका अध्यक्ष रामसुन्दर भेलेले व्यवसाय र सूचनालाई समयसापेक्ष रुपमा अगाडि बढाउन डिजिटल रुपान्तरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा डिजिटल प्रविधिका विज्ञद्वय सौरभ ढकाल र सरोज ढकालले इन्टरनेटमार्फत संसार डिजिटल भएको बताउँदै पर्यटन प्रवद्र्धनमा विश्वव्यापीकरण आवश्यक भएको बताउनुभयो । नयाँ पुस्तालाई कला–संस्कृतिबारे जानकारी दिन पनि डिजिटल प्रविधिलाई औजारको रुपमा प्रयोग गर्नुपर्ने उहाँहरूको कथन थियो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा अध्यक्ष र जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *