भर्खरै :

महिला हिंसा रोक्न ओली सरकार असफल

भक्तपुर, १३ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिले देशको समसामयिक राजनीति र बढ्दो महिला हिंसा विषयमा प्रवचन कार्यक्रम शनिबार सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी सार्वजनिक नगरी गृहमन्त्रीले पुँजीवाद, साइबर अपराध र मदिराको कारण उल्लेख गर्दै हत्याकाण्डबाट पञ्छिने काम गरेको उल्लेख गर्नुभयो ।
एक मानसिक रोगीलाई नक्कली अपराधी बनाउन खोज्नुले ओली सरकारको नियत नै खराब रहेको प्रस्टिएको चर्चा गर्नुहुँदै सचिव सुवालले भन्नुभयो, ‘‘प्रहरी, दमकल र एम्बुलेन्स जस्तै कुनै पनि घटना थाहा पाउनासाथ तत्काल घटनास्थल वा अनुसन्धान र खोजबिनमा लाग्नुपर्छ । तर निर्मला पन्त हराएको उजुरी दिन गएका अभिभावकलाई प्रहरीले रात परेकोले भोलि बिहान आउनू किन भन्यो ? घटनामा प्रहरी सामेल भएको देखिएपछि गृहमन्त्री र प्रधानमन्त्रीले किन सत्य तथ्य पत्ता लगाउन पहल गरेनन् ?’’
उहाँले भन्नुभयो, ‘‘साइबर अपराधका साइटहरू सरकारले रोक्न सकेन । परिवारसँग बसेर हेर्न नमिल्ने चलचित्र र गीत प्रसारण गर्न अनुमति दिने काम सरकारले नै गरेको हो ।’’
पञ्चायतकालमा नमिता–सुमिता काण्ड भएजस्तै निर्मला पन्तको काण्ड दोहोरिएको चर्चा गर्नुहुँदै उहाँले यसमा एमाले–माओवादी सरकारको कमजोरी रहेको बताउनुभयो ।
महिला हिंसा, दुव्र्यवहार, बेचबिखनविरूद्ध कानुनहरू बने पनि सरकारले परिपालना गर्न नसकेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं नगरपालिकाको न्याय समितिका अध्यक्ष रजनी जोशीले न्यायिक समितिको काम कारबाही सम्बन्धमा जानकारी दिनुभयो ।
कानुन अध्ययन समाजका सदस्य अनिता जधारीले देवानी कानुन र महिला अधिकार सम्बन्धमा चर्चा गर्नुहुँदै महिला आयोगमा समेत घूस खाएर काम गर्ने पदाधिकारीहरू भएकाले महिला हिंसाका घटनाहरू बढिरहेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव प्रतिभा श्रेष्ठ र कान्ति अवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *